रोमाञ्चक सेमिफाइनलमा पिएसजी विजयी

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब बायर्न म्युनिखलाई ५–४ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा पिएसजीले मध्यान्तरअघि ३–२ को अग्रता लिएको थियो । पिएसजी र बायर्न आक्रामक रूपमा प्रस्तुत हुँदा पहिलो लेगको सेमिफाइनलमा नौ गोल सम्भव भयो ।

सन् १९५९–६० को युरोपियन कपमा फ्रान्कफर्टले रेन्जर्सलाई ६–३ ले हराएयताकै बायर्न र पिएसजीबिच सबैभन्दा धेरै गोल भएको सेमिफाइनल बनेको छ । यस सिजन पिएसजी ४३ र बायर्नले ४२ गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगको एउटै सिजनमा दुई टोलीले ४० भन्दा बढी गोल गरेको यो पहिलो अवसर हो । बायर्नका लागि ह्यारी केनले १७औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै १–० को अग्रता दिलाए । घरेलु मैदान र समर्थकको फाइदा लिँदै पिएसजीले लगातार दुई गोल गरी २–१ को अग्रता लियो ।

भिचा भरात्स्खेलियाले २४औँ मिनेटमा १–१ का लागि गोल गरे । जोआओ नेभेसले ३३औँ मिनेटमा पिएसजीलाई २–१ को अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा माइकल ओलिसेले बायर्नलाई २–२ को बराबरीमा पुर्याए । 

पहिलो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए । मध्यान्तरपछि पिएसजी थप बलियो देखियो । खेलको ५६औँ मिनेटमा भरात्स्खेलिया र डेम्बेलेले ५८औँ मिनेटमा अर्को गोल गर्दा पिएसजी ५–२ को बलियो अवस्थामा पुग्यो । बार्नले खेलको ६५औँ मिनेटमा डायोट उपामेकानोको गोलमा ५–३ का लागि गोल गरेको थियो ।

See More On

सुझावित समाचार