संघीय सरकारले शनिबार र आइतबार गरी दिएको दुई दिन सार्वजनिक बिदा रामेछापको गोकुलगंगा गाउँपालिकाले नमान्ने भएको छ। गोकुलगंगा गाउँपालिकाले संघीय सरकारले निर्णय गरेबमोजिम शनिबार र आइतबार दुई दिन बिदा दिई अन्य दिनमा भने बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय सञ्चालन गर्दा ग्रामीण भेगमा धेरै कठिनाइ हुने भएकाले आइतबारको बिदा कटौती गरी विगतको झैँ नियमित कार्यालय सञ्चालन गर्ने जनाएको छ ।
गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले आइतबार बिदा दिँदा विद्यालयमा पाठसंख्या पूरा नहुने, शैक्षिक गुणस्तरमा असर पुग्ने, स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसक्ने र ग्रामीण भेगका बासिन्दालाई उपचार गराउनका लागि कठिनाइ हुने भएकाले आइतबार कार्यालय सञ्चालन गर्ने जनाएको छ।
गाउँपालिकाको क्षेत्र ग्रामीण भेग भएकाले इन्धनको खपत न्यून हुने र आइतबारसमेत कार्यालय सञ्चालन गर्दा सार्वजनिक सेवा प्रवाह छिटोछरितो हुने भएकाले गोकुलगंगा गाउँपालिकाले आइतबारको बिदा कटौती गरेको हो।
गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले मंगलबार जारी गरेको सूचनामा वैशाख १६ गतेदेखि लागू हुने गरी बिहान १० देखि बेलुका ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय समय हुने भएकाले सोअनुरूप सेवा सञ्चालन गर्न विद्यालय, स्वास्थ्य संस्था र सरोकारवाला निकायलाई आग्रह गरेका छन्। रामेछापका अन्य स्थानीय तहहरूले भने संघीय सरकारको निर्णयबमोजिम हप्तामा दुई दिन बिदा दिँदै आएका छन्।