नेपालगन्जस्थित भेरी अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएपछि उपचारमा आएका बिरामी मर्कामा परेका छन् । बैजनाथ गाउँपालिका– ६ की ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर १०–१२ जना युवाको समूहले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीमाथि हातपात प्रयास गरेको भन्दै चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन् ।
चिकित्सकले ओपिडी सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राखेका छन् । दैनिक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए । ‘विभिन्न रोगका बिरामी उपचारका लागि आउँछन् । दैनिक हजारभन्दा बढीले सेवा लिएको तथ्यांकबाट देखिन्छ,’ उनले भने ।
चिकित्सकले ओपिडी सेवा बन्द गरेपछि जाँच गराउन नपाएको राप्ती सोनारी गाउँपालिका– ९, ढकेरीकी रूपादेवी खत्रीले बताइन् । ‘पालो आउनै लागेको थियो । डाक्टरसाबहरू जाँच गरिरहनुभएको थियो । अकस्मात् उठेर गएपछि फर्केर आउनुभएको छैन,’ भेरी अस्पतालको ओपिडीनजिकै भेटिएकी खत्रीले भनिन् ।
बर्दियाका भीमराज भुसालले पनि उपचार नपाएकोमा गुनासो गरे । ससुराको उपचारका लागि भेरी अस्पताल आएका उनी पनि चिकित्सकको पर्खाइमा थिए । ‘डाक्टरहरू आन्दोलनमा हुनुहुन्छ भन्ने सुनेका छौँ, आउनुहुन्छ कि भनेर पर्खिरहेका छौँ,’ उनले भने ।
मृतकका आफन्तले ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले बताए । ‘मृतकका आफन्तले सार्वजनिक रूपमा चिकित्सकको ज्यान मार्ने, हातखुट्टा भाँच्ने धम्की दिएका छन् । आफ्नो ज्यान जोखिममा राखेर काम गर्न नसक्ने डाक्टरसाबहरूले भन्नुभएको छ,’ उनले भने ।
ज्यान मार्ने धम्की दिएका व्यक्तिको नाममा किटानी जाहेरी दिएको उनले बताए । ‘ज्यान मार्ने धम्की दिनेविरुद्ध किटानी जाहेरी दिएका छौँ । काम गर्ने वातावरण नबन्दासम्म ओपिडी सेवा दिनुस् भन्न सक्ने अवस्था पनि छैन,’ सुवेदीले भने ।
मृतकका आफन्तले मुटुरोग विशेषज्ञ डा. विकास नेपालविरुद्ध प्रहरीमा जाहेरी दिएको आफूले सुनेको उनले बताए । मुटुमा समस्या देखिएपछि दिलसरालाई एक साताअघि उपचारका लागि भेरी अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको मृतकका परिवारले आरोप लगाएका छन् ।