बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । मंगलबार बेलुकी आएको रोशी खोलाको बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्र लामाका अनुसार हिजो बेलुकीको वर्षाले रोशी खोलाको बहाव बढेर बिपी राजमार्गअन्तर्गत चौकीडाँडा, कटुञ्जे घुमाउने, चारसयबेँसी, गिम्दीबेँसीलगायतमा अस्थायी डाइभर्सन बगाएको छ ।
बगाएको डाइभर्सन बनाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको उनको भनाइ छ । चौकीडाँडा, घुमाउने चारसयबेँसी र गिम्दीबेँसीमा हेभी इक्विपमेन्ट प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको लामाले जानकारी दिए ।
हिजो राति आएको भीषण वर्षाको कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । डाइभर्सन बनाएर सडक नियमित गर्न सडक डिभिजन कार्यालय भक्तपुरले पहल गरेको र अहिले डाइभर्सन बनाउने काम भइरहेको उनको भनाइ छ । आज दिउँसोसम्ममा सडक नियमित हुन सक्ने लामाले बताए ।
वर्षा भयो कि बिपी राजमार्ग अवरुद्ध हुँदा रोशीका नागरिकले सास्ती भोगिरहनुपरेको बताउँदै यसलाई छिटो समाधानका लागि पक्की सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई अध्यक्ष लामाले अनुरोध गरेका छन् ।