सुस्त बन्दै आर्थिक वृद्धिदर : चालू आवमा ३.८५% मा सीमित हुने अनुमान

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण
  • सरकारले पुँजीगत खर्च गर्न नसक्दा आर्थिक वृद्धिदर खुम्चिने अनुमान, धान उत्पादन ४.१६ प्रतिशतले ऋणात्मक हुने, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान

चालू आर्थिक वर्ष ०८२/८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो । आर्थिक वर्ष ०८१/८२ मा ४.४३ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । यसरी हेर्दा गत आर्थिक वर्षको तुलनामा चालू आवको आर्थिक वृद्धिदर सुस्त रहने देखिएको हो ।

आर्थिक वर्ष ०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष ०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को अनुमान आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा प्रस्तुत गरिएको छ । अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यलाई आधार मानेर गरिएको प्रचलित मूल्यको जिडिपी प्रयोग भएको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष ०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष ०८१/८२ मा ३.८० प्रतिशत हुने संशोधित अनुमान छ । आर्थिक वर्ष ०८०/८१ मा ३.३८ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी, उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर साथै आर्थिक वर्ष ०८०/८१ मा ३.६८ प्रतिशत कायम भएको छ । आर्थिक वर्ष ०८२/८३ मा कृषि क्षेत्रको १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.५४ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको छ । 

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेरसमेत अध्ययन गर्ने गरिन्छ । आर्थिक वर्ष ०८२/८३ मा प्राथमिक क्षेत्रको वृद्धिदर १.६३ प्रतिशत, द्वितीयको ५.७७ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सम्पूर्ण आर्थिक क्रियाकलापको अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करणअनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई २१ वटा मुख्य क्रियाकलापमा वर्गीकरण गरिएको छ । नेपालको सन्दर्भमा २१ वटा औद्योगिक क्रियाकलापमध्ये बाह्य संघ–संस्था एवं यसका अंगका क्रियाकलापलाई छाडेर पछिल्ला तीनवटा आर्थिक क्रियाकलाप र रोजगारदाताका रूपमा घरपरिवारका घरायसी क्रियाकलाप, आफ्ना प्रयोगका लागि छुट्याउन नसकिने विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने क्रियाकलापलाई अन्य सेवाका क्रियाकलापमा समावेश गरी जम्मा १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरी राष्ट्रिय लेखाको अनुमान प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष ०८२/८३ मा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यासमा २०.९३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यस क्षेत्रलाई वित्तीय तथा बिमाले ९.१६ प्रतिशत पछ्याएर दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रका रूपमा रहेको छ । अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा सुरक्षा ०.२३ प्रतिशत र शिक्षा क्षेत्रमा १.५० प्रतिशतको वृद्धि तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ । 

कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्र २४.०३ प्रतिशत, व्यापार क्षेत्र १४.०९ प्रतिशतले तुलनात्मक रूपमा धेरै योगदान गर्ने अनुमान गरिएको छ । अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन ०.४० प्रतिशत र खानी तथा उत्खनन ०.४३ प्रतिशत योगदानको अनुमान गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रले २४.०३ प्रतिशत योगदान पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष ०८२/८३ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर १.५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष ०८२/८३ मा कृषि उत्पादनको समग्र प्रवृत्ति मध्यम वृद्धि देखिन्छ । तर, धान उत्पादन ४.१६ प्रतिशतले ऋणात्मक हुने देखिन्छ । मकै, गहुँ, कोदो, दलहन तथा औद्योगिक बालीहरूमा सामान्य मात्राको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी, पशुजन्य उत्पादनतर्फ मासु, अन्डा तथा माछा उत्पादनमा पनि सामान्य वृद्धि हुने अनुमान गरिएको छ । साथै, फलफूल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा अति न्यून मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा न्यून वृद्धि हुने अनुमान रहेको छ । 

आर्थिक वर्ष ०८२/८३ मा खानी तथा उत्खनन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ०.४३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । यो आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ३.५२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । चालू आवमा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.८३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

आर्थिक वर्ष ०८२/८३ मा विद्युत् तथा ग्यास क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.०८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २०.९३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा नयाँ आयोजनाबाट विद्युत् उत्पादन भई विद्युत् उत्पादनको क्षमता वृद्धि हुनु, प्रसारण संरचनाको विस्तार हुनुका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ । 

आव ०८२/८३ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको आन्तरिक उत्पादनमा सामान्य वृद्धि रहेको देखिन्छ । सरकारी क्षेत्रबाट हुने पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन नसकेका कारण निर्माण क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसक्ने अनुमान गरिएको छ । 

सुझावित समाचार