नेपालले आइसिसी महिला च्यालेन्ज ट्रफीमा रुवान्डालाई ३८ रनले हराएको छ । रुवान्डामा चलिरहेको च्यालेन्ज ट्रफीअन्तर्गत मंगलबार पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनको योगफल बनाएको थियो ।
प्रत्युत्तरमा घरेलु टोली रुवान्डाले १७.४ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र बनाउँदा नेपालले प्रतियोगितामा तेस्रो जित निकालेको हो । जितसँगै नेपाल ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
नेपालले शीर्ष दुई स्थानमा रही फाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ । नेपालले रुवान्डालाई दोस्रोपटक हराएको हो । यसअघि नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो ।
नेपाल भानुआटुसँग पनि हारेको थियो । नेपालले इटलीलाई एकपटक हराएको छ । रुवान्डाको सातौँ खेलमा तेस्रो हार हो । रुवान्डा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । अब नेपालले भानुआटुसँग बिहीबार खेल्नेछ । इटाली पाँच खेलबाट चार अंक जोडेर चौथो हात पारेको छ ।
भानुआटु ६ खेलबाट २ अंकसहित पाँचौँ स्थानमा छ । च्यालेन्ज ट्रफीमा तेस्रो जित निकाल्दा नेपालकी मनीषा उपाध्यायले रुवान्डाविरुद्ध चार ओभरमा एक मेडन राखी १० रन दिएर तीन विकेट लिएकी थिइन् ।
उनी खेलकै म्यान अफ दी म्याच भइन् । यसैगरी, कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान २ विकेट हात पारे । रुवान्डाकी कप्तान मारी बिमेनीमानाले २७ बलमा ३ चौका सहित १९ रन जोडिन् ।
नेपालको ब्याटिङमा कविता कुँवरले २४ रन बनाइन् । कप्तान इन्दु बर्माले ४५ बलमा चार चौका प्रहार गरी ३३ रन बनाइन् । उनले पाँचौँ विकेटका लागि कवितासँग ४६ रनको साझेदारी गरेकी थिइन् ।