जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लास्थित अस्पताल एवं स्वास्थ्य संस्थाहरूभित्र अनुमतिविना फोटो तथा भिडियो खिच्न रोक लगाएको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको स्वीकृतिविना फोटो र भिडियो खिच्ने गतिविधि बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रशासनका अनुसार यस्ता गतिविधिले स्वास्थ्यकर्मीको काममा बाधा पुग्नुका साथै बिरामीको गोपनीयता उल्लंघन हुने समस्या देखिएको उल्लेख गरिएको छ।
सूचनामार्फत प्रशासनले अस्पताल वा स्वास्थ्य संस्थाको अनुमतिविना फोटो तथा भिडियो नखिच्न सबैमा आग्रह गरेको छ। निर्देशन उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
प्रशासनले बिरामीको गोपनीयता संरक्षण र स्वास्थ्य सेवाको प्रभावकारिता कायम राख्न यस्तो निर्णय गरिएको दाबी गरेको छ।