अनलाइन जुवा खेलाउने र खेल्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका– १३ मा अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो।
सोमबार राति विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान– १३ मा रहेको क्याफेबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान– १३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बू, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, धरान–१ का ३३ वर्षीय सुजित साह, धरान– १६ का ४१ वर्षीय अशोक लिम्बू, धरान– १५ का ३५ वर्षीय भवानी दाहाल र धरान– १७ का ३१ वर्षीय प्रज्ज्वल राईलगायत छन्।
पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीको १५ थान मोबाइल बरामद भएको र सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।