- १५ भदौसम्म वडा, १६ भदौदेखि भदौमसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र १५ कात्तिकसम्म प्रदेश अधिवेशन हुने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ११–१५ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
तत्कालीन माओवादी, एकीकृत समाजवादीसहित विभिन्न २२ वटा दल समूह मिलेर बनेको नेकपाले काठमाडौंमा एकता महाधिवेशन गर्न लागेको हो । दस्तावेज र प्रतिनिधिसम्बन्धी व्यवस्था कार्यसमिति बैठकबाट गरिने निर्णय पनि भएको छ ।
‘वडा, पालिका, जिल्ला र प्रदेश हुँदै पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेका छौँ,’ नेता प्रकाश ज्वालाले भने । १५ भदौसम्म वडा अधिवेशन, १६ भदौदेखि भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
महाधिवेशनको निर्णय भए पनि तल्ला तहसम्मको संगठनात्मक एकता नै भएको छैन । उक्त कामलाई तीव्रताका साथ अगाडि बढाउन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले निर्देशन दिएका छन् । ‘निर्वा{चनका कारण एकताको बाँकी काम अघि बढ्न सकेन । अब तीव्रताको साथ काम अघि बढ्छ । नयाँ ढंगले पार्टीलाई अगाडि बढाउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने ।
जेठ मसान्तसम्ममा केन्द्र, प्रदेश, पालिका, वडा र जनसंठनको संगठनात्मक समायोजन सक्ने निर्णय भएको छ । असार र साउनमा श्रम शिविर सञ्चालन गर्नुका साथै सदस्यता नवीकरण र विस्तार गर्ने निर्णय पनि भएको छ ।
बैठकमा प्रदेशका इन्चार्ज, संयोजक र सहसंयोजक र विभागका प्रमुख एवं उपप्रमुखबारे प्रस्ताव आए पनि निर्णय हुन बाँकी रहेको ज्वालाले बताए । प्रवक्ताको जिम्मेवारी ज्वालालाई दिइएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा नेताहरूको कार्यविभाजनबारे निर्णय हुने बताइएको छ ।
नेकपाको केन्द्रीय कार्यसंयोजक समिति ४५ सदस्यीय छ । जसमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल छन् । सदस्यहरूमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, गंगानारायण श्रेष्ठ, डा. गंगालाल तुलाधर, गिरिराजमणि पोखरेल, गोपाल किराँती, चक्रपाणि खनाल, चेतबहादुर पुन, जगन्नाथ खतिवडा, जयन्तीदेवी राई, डिलाराम आचार्य, दीनानाथ शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, नन्दबहादुर पुन, पम्फा भुसाल, प्रकाश ज्वाला र प्रमेश हमाल छन् ।
त्यस्तै, प्रेमबहादुर सिंह, डा. बेदुराम भुसाल, भानुभक्त जोशी, डा. भीम रावल, गरिमा शाह, महिन्द्र राय यादव, मातृका यादव, मेटमणि चौधरी, रञ्जिता श्रेष्ठ र राजेन्द्र राई सदस्य छन् । राजेन्द्रकुमार राई, राजेन्द्र पाण्डे, रामकुमार भट्टराई, रामचन्द्र झा, लीलामणि पोखरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, श्रीराम ढकाल, सुनीलकुमार मानन्धर, सुवास काफ्ले, हितमान शाक्य र हितराज पाण्डे छन् ।
केन्द्रीय समिति २५ सय हाराहारी छ । एकतामा सहभागी सबै दलका केन्द्रीय सदस्यलाई समेट्दा कमिटी ठुलो बनेको नेताहरूले बताएका छन् । महाधिवेशनबाट चुस्त कमिटी निर्माण गर्ने तयारी रहेको छ ।
११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन
बैठकले ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङदङ्वा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी छन् । प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’मा पनि सदस्य छन् ।
कार्यदलले पार्टीको तर्फबाट संविधान संशोधनका लागि उठाउने विषयमा छलफल गरेर मस्यौदा तयार पार्ने उनले बताए । ‘हामीले विगतमा उठाएका कतिपय विषय पनि छन् । अहिलेको सन्दर्भमा त्यसलाई जोडेर हेर्छौँ । हाम्रा एजेन्डा प्रस्ट रूपमा मस्यौदामा समेट्छौँ,’ गुरुङले भने ।