निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिबाट व्यवसायलाई बचाउन सरकारले समायोजन निर्देशिका जारी गर्न कोशी प्रदेशका निर्माण व्यवसायीले माग गरेका छन् ।
मध्यपूर्वमा भइरहेको इरान–अमेरिकालगायत युद्धले निर्माण व्यवसायका लागि अति आवश्यक डिजेल, पेट्रोल, अलकत्रालगायत इन्धनमा भएको अचाक्ली मूल्यवृद्धिले समग्र निर्माण व्यवसाय संकटमा परेको भन्दै सहयोग गर्न व्यवसायीले सरकारसँग माग गरेका हुन् । सञ्चालन भइरहेका प्रायः सबै निर्माणकार्य प्रभावित भइसकेकाले सरकारले मूल्य समायोजन गरेर वा एक वर्ष म्याद थप गरेर सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।
युद्धका कारण इन्धनसँगै सिमेन्ट, डन्डी, गिट्टी र बालुवालगायतको मूल्य पनि अत्यधिक वृद्धि भएकाले संकटमा परेको निर्माण व्यवसायलाई सहयोग गर्नुपर्ने निर्माण व्यवसायी संघ कोशीका अध्यक्ष जनसेवक भण्डारीले बताए । उनले भने, ‘अब निर्माण व्यवसायले अरू धेरै संकट धान्न सक्दैन, यसैले सरकारले निर्माण क्षेत्र बचाउन कि एक वर्ष म्याद थप गरिदिनुपर्छ कि मूल्य समायोजन गरिदिनुपर्छ, नत्र हामी र हाम्रो व्यवसाय मात्र होइन, देश नै संकटमा पर्ने निश्चित छ ।’