कांग्रेसले सहमतिमै संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न सोमबार बिहान ११ बजे कार्यसम्पादन समिति बैठक र लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ । सांसदहरूले शपथ लिएको एक महिना बित्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । ०६४ को पहिलो संविधानसभा निर्वाचनपछि पहिलोपटक कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्न लागेको हो ।
सहमतिमा पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई दलको नेता चयन गर्ने तयारी रहेको कांग्रेस स्रोतले दाबी गर्यो । पूर्वसहमहामन्त्री आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्माका साथै कांग्रेस नेता डा. शेखर कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको साथ छ ।
आङ्देम्बे समानुपातिका सांसद हुन् । उनी दोस्रो संविधानसभामा सभासद् थिए । पार्टीको १४औँ महाधिवेशनमा आङ्देम्बे देउवा पक्षबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । उनी विशेष महाविधेशनमा सहभागी भएका थिएनन् । यद्यपि, संसद्को पहिलो बैठकमा आङ्देम्बेले विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरण भएर अगाडि बढेको बताएका थिए ।
३८ सदस्यीय कांग्रेस संसदीय दलमा कोइराला र देउवा पक्ष एक हुँदा आङ्देम्बेको पक्षमा बहुमत पुग्छ । त्यसमाथि उपसभापति विश्वप्रकाश शर्मा पनि एकताको सन्देश दिनुपर्ने भन्दै आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने पक्षमा देखिएपछि सभापति थापा दबाबमा परेका हुन् । थापा रसुवाबाट प्रत्यक्ष निर्वाचित मोहन आचार्यको पक्षमा सुरुमा उभिए पनि सहमतिका लागि लचक बनेको स्रोतले दाबी गर्यो । ‘सभापतिले भोलि बैठकमा दलको नेताको नाम प्रस्ताव गर्नुहुन्छ । सर्वसम्मत नेता चयन गर्ने तयारी छ,’ थापानिकट एक नेताले भने, ‘आकांक्षी सबै सांसदको समन्वयमा सभापतिले दलको नेताको नाम प्रस्ताव गर्नुहुनेछ ।’
गत शुक्रबार मतदानको समय निर्धारण गरिए पनि सहमतिका लागि भन्दै स्थगित गरिएको थियो । सोही दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिले सहमतिमै संसदीय दलको नेता चयन गर्न उपसभापति शर्माको नेतृत्वमा समन्वय समिति गठन गरेको थियो । समितिमा उपसभापति पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य छन् ।
समिति सभापति र सदस्यहरूले दलको नेताका आकांक्षीसँग संयुक्त र व्यक्तिगत रूपमा पनि छलफल गरेका थिए । समितिको सुझावका आधारमा थापाले नेताको नाम प्रस्ताव गर्नेछन् । जसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दलको नेता चयन बैठकको कार्यसूची छ ।
सोमबार नै शर्मा नेतृत्वको समन्वय समितिले सभापति थापालाई प्रतिवेदन बुझाउनेछ । समितिले मुख्य दुई दाबेदार आङ्देम्बे र अर्जुननरसिंह केसीसँग आइतबार छलफल गरेको थियो । अर्का दाबेदार मोहन आचार्य भने राजधानीबाहिर रहेकाले समितिले मंगलबार छलफल गर्ने तयारी गरेको छ । आचार्य रसुवामा रहेकाले उनीसँग आइतबार छलफल हुन नसकेको हो ।
आङ्देम्बेले समूहबन्दीका रूपमा नबुझिदिन आग्रह गरेका छन् । आफूसहित सबै कांग्रेस सभापति गगन थापाको नेतृत्वमा रहेको उनले बताएका छन् । ‘सभापति थापाको स्पिरिटअनुसार काम गर्न हामी सबै प्रतिबद्ध छौँ । दलको नेतामा दाबी प्रस्तुत गरिरहँदा यो या त्यो समूहको भन्ने लेबल नलगाउन आग्रह गर्दछु,’ आङ्देम्बेले भनेका छन्, ‘अहिलेको वेलामा जे निर्णय गर्दा पार्टीको नेतृत्व र सिंगो पार्टीको हित हुन्छ, त्यसमा हामी सबैको साथ रहन्छ, रहनुपर्छ ।’
केसीले आफ्नो नाममा सहमति जुट्न नसक्ने देखेपछि आफ्नो दाबी भने छाडिसकेका छन् । उनले बासना थापालाई दलको नेता बनाउन उपयुक्त हुने सुझावसमेत दिएका छन् । महिला, युवा, दुर्गम क्षेत्र र प्रत्यक्ष निर्वाचित भएकाले थापा उपयुक्त हुने केसीको तर्क छ । ‘उहाँले बासना थापाको नाम लिनुभएको छ । महिला, युवा, दुर्गम क्षेत्र र प्रत्यक्ष निर्वाचित भएकाले उहाँलाई नेता चयन गर्दा राम्रो हुन्छ,’ केसीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने ।
थापाले अघिल्लो बैठकमै दलको नेतामा दाबी गरेकी थिइन् । उनले युवाले संसदीय दलको नेतृत्व गर्नुपर्ने र आफू त्यसका लागि तयार रहेको बताएकी छिन् । उनले सहमतिमै दलको नेता चयन हुने बताइन् । दलको नेतामा निस्कल राई, योगेश गौचन थकालीलगायतले पनि आकांक्षा राखेका छन् । कांग्रेस उपसभापति एवं समन्वय समिति सदस्य पुष्पा भुसालले छलफलको निष्कर्ष सभापतिलाई प्रस्तुत गर्ने बताइन् । समिति अझै छलफलमै रहेको पनि उनले बताइन् । महामन्त्री एवं समन्वय समिति सदस्य घिमिरे आकांक्षीसँग कुराकानी भइरहेको बताउँछन् । ‘दलको नेता सर्वसम्मत चयन गर्नुपर्छ भन्ने छ । आकांक्षी सबैका आ–आफ्ना मत छन् । भोलि बिहान १० बजेसम्म सभापतिलाई रिपोर्ट दिन्छौँ,’ उनले भने ।
कार्यसम्पादन बैठकलगत्तै सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले संसदीय दलको बैठकबाट दलको नेता चयन गर्ने कार्यसूची रहेको बताए । केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मत प्रस्ताव पेस गरेर पारित हुन्छ । केन्द्रीय समितिको निर्णयका आधारमा संसदीय दलको बैठकमा निर्वाचन समितिले दलको नेताको नाम घोषणा हुन्छ,’ स्नेहीले भने ।
सिनियरलाई नेता बनाउन थापालाई कोइरालाको सुझाव
कांग्रेस नेता डा. शेखर कोइरालाले सिनियरलाई दलको नेता बनाउन सुझाव दिएका छन् । सभापति गगन थापालाई टेलिफोन गरेर कोइरालाले दलको नेता चयनमा विलम्ब हुँदा नकारात्मक सन्देश गएको भन्दै तत्काल सिनियर नेतालाई चयन गर्न आग्रह गरेका छन् । ‘निर्वाचनमा सिट खसेर यो स्थिति छ । अझै दलको नेता चयन गर्न नसक्दा बाहिर राम्रो सन्देश गएको छैन । अब विलम्ब नगरी दलको नेता चयन हुनुपर्छ ।
सिनियर नेताको नाममा सहमति गरेर चयन गर्दा राम्रो हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने । थापाले सहमतिमै दलको नेता चयन हुने जवाफ दिएका छन् । ‘अहिले सबै मिलेर जानुपर्ने वेला छ । सहमतिमै दलको नेता चयनको प्रयास भइरहेको छ,’ थापाले भनेका थिए ।
पुष्पा भुसाल, उपसभापति, कांग्रेस
हामीलाई दलको नेतामा सहमति जुटाउन जिम्मेवारी दिइएको थियो । आकांक्षी साथीहरूसँग छलफल गरेर सहमति जुटाउने प्रयास गर्यौँ । छलफलको निष्कर्ष सभापतिलाई प्रस्तुत गर्छौँ । त्यही आधारमा सभापतिले कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । त्यहाँबाट निष्कर्ष निस्कनेमा विश्वस्त छौँ ।