प्रेरक प्रसंग : बुढेसकालको सहारा

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

बुहारी भान्छामा चिया बनाउँदै थिइन्, सासू बाहिरबाट आइपुगिन् । उनले सोधिन्, तिम्रो काम सकियो बुहारी ? बुहारीले थकित स्वरमा जवाफ दिइन्— छैन आमा, अझै बाँकी छ । सासूले भनिन्— खै म चिया बनाइदिन्छु, तिमी भाँडा माझ । बुहारीले केही भन्नुअघि नै सासू चिया बनाउन थालिन् । बुहारी चुपचाप भाँडा माझ्न थालिन् । केही समयपछि बुहारी भुइँ पुछ्दै थिइन् । सासूले आएर सोधिन्– के गर्दै छ्यौ बुहारी ? बुहारीले भनिन्— भुइँ पुछ्दै छु आमा ! सासूले भनिन्— खै छाड, म भुइँ पुछिदिन्छु, छतमा लुगा सुक्यो होला, उठाएर ल्याऊ तिमी । बुहारी चुपचाप छतमा गइन् र लुगा उठाएर ल्याइन् । सासूले भनिन्— खै कपडा मलाई देऊ त । म बसीबसी आइरन गरिदिन्छु । तिमी बाँकी काम सक र आराम गर । 

बुहारीले सोधिन्– आमा, संसारभरका सासू र बुहारीको सम्बन्ध निकै तितो देखिन्छ, सुनिन्छ । तर, हजुर भने हरेक काममा मलाई सघाउनुहुन्छ, छोरीलाई जस्तै माया गर्नुहुन्छ, किन ? सासूले हाँस्दै भनिन्— ल, यो पनि कुनै सोध्ने कुरा हो त ? आखिर मेरो बुढेसकालकी सहारा तिमी नै त हौ । बुहारीले छक्क पर्दै प्रश्न गरिन्— आमा, सबैले छोरा र छोरीलाई बुढेसकालका सहारा भन्छन्, तर हजुरचाहिँ बुहारीलाई बुढेसकालकी सहारा भन्दै हुनुहुन्छ ।

यो कसरी आमा ? सासूले गम्भीर हुँदै भनिन्– हेर बुहारी, छोरी बिहे गरेर आफ्नै घर गएर घर, परिवार सम्हाल्न व्यस्त हुन्छे । छोरा पनि घर परिवारको सुखका लागि रातदिन काममा व्यस्त हुन्छ । जब बुढेसकालमा मेरा हातगोडा चल्न छाड्नेछन्, त्यतिखेर तिमी नै त हुनेछ्यौ मेरो सहारा । बुहारीका आँखा आँसुले भरिए तर, अनुहारमा भने हल्का मुस्कान देखियो । उनले भनिन्– सबैले यो बुझिदिने हो भने यो संसारका कुनै पनि छोरी, बहिनी या बुहारी दुखी हुने थिएनन् र सासुबुहारी जहिल्यै आमाछोरी बन्ने थिए, हगि आमा ?

सुझावित समाचार