- बर्खायामका लागि आगामी एक महिनाभित्रमा यातायात सहजता बनाएर नागरिकलाई आवतजावतमा कष्टकर हुन नदिने निर्माण व्यवसायीको प्रतिबद्धता
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको करिब ५९ प्रतिशत भौतिक प्रगति भएको छ । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक–साँगा खण्डमा ४८ प्रतिशत र साँगा–धुलिखेल सडकखण्डमा ७० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएका छन् ।
सडक विस्तार गरिने कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये साँगादेखि धुलिखेल आठ दशमलव चार किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ । उक्त खण्डको ठेक्का आशिष/बन्दन भगवती जेभीले तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । सडक विस्तार आयोजनाको म्याद गत चैत ०८२ मा सम्पन्न भइसकेको छ ।
सडक विस्तारका क्रममा भइरहेको निर्माणकार्य ढिलाइ र भइरहेको काममा आवश्यक व्यवस्थापकीय कार्य नगर्दा निकै समस्या झेल्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ । बनेपा नगरपालिकास्थित साँगाका स्थानीय कृष्ण श्रेष्ठले समयमा काम सम्पन्न नगरिदिँदा बाटोमा हिँडडुल गर्ने र घरमा बस्नेहरूले धुलो खाएर बस्न बाध्य भएको बताए । धुलो व्यवस्थापन गर्न पानी छर्किन आग्रह गर्दासमेत बेवास्ता गरेको र सडक निर्माणका क्रममा सीमांकन राम्रोसँग नभएकाले सडकबिचबाट कतै बढी, कतै कम च्यापेर बनाएको गुनासो गरे ।
बनेपा नगरपालिका वडा नं १३ का वडासदस्य राजु श्रेष्ठले विकास निर्माणको काम भइरहे पनि अव्यवस्थित सामग्रीका कारण अस्तव्यस्त भएको बताए । आशिष/बन्दन भगवती जेभीका प्रतिनिधि विजय भट्टराईले अन्डरपासका लागि बनाइरहेको खण्डमा ग्राभेल सक्ने गरी काम भइरहेकाले यातायात सञ्चालनमा समस्या नआउने बताए । साँगा क्षेत्रमा दुईतर्फी भइरहेको काममा एकतर्फका सडकलाई बर्खाअगाडि नै कालोपत्रे गरेर सक्ने उनको भनाइ छ । सडक निर्माणकार्य सम्पन्न भएपछि काठमाडौंबाट बनेपातर्फ आउने सवारीसाधन अन्डरपास भएर बाहिरिनेछन् भने काठमाडौंतर्फ जाने सवारीसाधन माथिबाट जाने गरी निर्माण हुने उनले जनाएका छन् ।
साँगा–धुलिखेल सडकखण्डको निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका कन्ट्र्याक म्यानेजर रवीन्द्र श्रेष्ठले इन्धनको मूल्यवृद्धि, निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र अभाव तथा आवश्यक सामग्री ढुवानीमा समस्या भएको कारण विगत एक महिनादेखि काम सुस्त भएको स्विकारे । वर्षाअगावै तोकिएअनुसारको काम सम्पन्न गर्ने नदेखिए पनि अलि–अलि भएको सामग्रीले काम गरिरहेको बताएका छन् ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मका १५ दशमलव आठ किलोमिटर सडकखण्डमा ६ लेनको सडक विस्तारको काम भइरहेकोमा अहिलेसम्ममा सूर्यविनायकदेखि साँगासम्ममा ४८ प्रतिशत भौतिक प्रगति भएको र साँगादेखि धुलिखेलसम्मको करिब ७० प्रतिशत कामको प्रगति भएको बताएका छन् । धुलिखेलदेखि साँगासम्मको अधिकांश ठाउँमा नाली बनाउने, स्ट्रक्चर निर्माणलगायतको काम ९० प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ । निर्माणकार्य भइरहँदा बर्खामा पहिरो जाने र हिलोका कारण यात्रु र सवारीसाधन सञ्चालनमा समस्या नहोस् भन्नका लागि निर्माण व्यवसायलाई आवश्यक समन्वय र कामको गतिलाई तीव्रता दिन आग्रह गरिरहेको उनको भनाइ छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले काठमाडौंबाट पूर्व जाने मुख्य सडक भएका कारण पनि पछिल्लो समयमा प्रगति कमजोर हुन थालेको शंका उत्पन्न भएकाले कामको गतिलाई बढाउन आवश्यक समन्वय भइरहेको बताए । मनसुनको समय आउन लागेका कारण सडक सुचारु राख्ने विषयमा आयोजना र निर्माण व्यवसायीसँगै छलफल भएको र वर्षामा सडक अवरुद्ध नहुने गरी सडक सञ्चलान गर्न आफूहरूले काम गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा बिहीबार भएको संयुक्त अनुगमन गरिएको थियो । वर्षायाममा सडक प्रयोग गर्ने सवारीसाधन र यात्रुलाई सहजता प्रदान गर्नका लागि सडक विस्तार कार्यको अवस्थाबारे जानकारी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले आमनागरिकले भोगिरहेको समस्या समाधान गर्ने विषयमा छलफल र समन्वयका लागि अनुगमन गरेको बताए । सो क्रममा निर्माण व्यवसायीले बर्खायामका लागि आगामी एक महिनाभित्रमा यातायात सहजता बनाएर नागरिकलाई आवतजावतमा कष्टकर हुने अवस्था हुन नदिने प्रतिबद्धता व्यक्त गरे । आगामी एक महिनाको कार्यतालिका बनाएर सडक आयोजनालाई बुझाउने र त्यहीअनुसारले कामको प्रगति दिने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।