आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईमाथि नेपालको जित

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमै समेटियो। युएईका हर्पितसिंह भाटियाले सर्वाधिक ३९ रन बनाए भने कप्तान मोहम्मद वासिमले ३४ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमा अलआउट भएको थियो। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गर्दै ९० बलमा ७५ रन बनाए। अन्य खेलाडीमध्ये कुशल भुर्तेलले २४, बसिर अहमदले २० र करण केसीले २२ रन जोडे।

युएईका बलर अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए भने खुजाइम तनविरले २ विकेट लिए।

नेपालले अब आफ्नो दोस्रो खेल बुधबार ओमनविरुद्ध खेल्नेछ।

सुझावित समाचार