सरकारले खोलाकिनारमा रहेको अवैधानिक बस्तीमा डोजर चलाएसँगै सुकुमवासीको व्यवस्थापन गरिरहेको छ । शनिबार बिहान थापाथलीस्थित सुकुमवासी बस्ती र दिउँसो सिनामंगलस्थित गैरीगाउँको सुकुमवासी बस्तीमा डोजर चलाएसँगै घरबारविहीन बनेका २७ परिवारका ८९ जनालाई सुन्दरीघाट राधास्वामी सत्संग आश्रम पुर्याएको छ।
यता अव्यवस्थित बस्तीहरूबाट भूमिहीन र घरवारविहीन भन्ने व्यक्तिहरूलाई दशरथ रंगशाला ल्याएर स्क्रीनिङ कार्य जारी राखेको छ । घरवारविहीनलाई आवश्यकताका आधारमा प्रारम्भिक उपचार र मनोसामाजिक परामर्श गरिरहेको छ ।
अव्यवस्थित बस्तीबाट ल्याइएका व्यक्तिहरुलाई महानगरपालिकाको स्वास्थ्य विभागले दशरथ रंगशालामा प्राथमिक तथा प्रारम्भिक उपचार र मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको छ । यस क्रममा बसोबास, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सम्बन्धलगायत विषयमा मनोसामाजिक परामर्श दिइँदै छ ।
यससँगै वडा नं ११ को बबरमहल, वडा नं ३१ को भीमसेनगोला र वडा नं ३२ को पेप्सिकोलास्थित स्वास्थ्य प्रवर्धन केन्द्र खुला राखिएको छ ।