साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.७ अंकले घटेको छ । गत साताको शुक्रबार २८३८.४ अंकमा पुगेको सेयर बजार परिसूचक यो साताको शुक्रबार आइपुग्दा २७८८.७ विन्दुमा पुगेको हो । साताभर निरन्तर घटेको नेप्से अन्तिम दिन भने १.५४ अंकले बढेको थियो ।
शुक्रबार चार कम्पनीको सेयर मूल्य उच्च दरले वृद्धि भएको छ । पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माइखोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको थियो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १२.६२ प्रतिशतले बढेको थियो ।
कुल पाँच अर्ब २७ करोडको कारोबार भएको थियो । शुक्रबार सर्वाधिक कारोबार हुनेमा रिडी पावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर कम्पनी, सोलु हाइड्रोपावर र अंखु खोला जलविद्युत् छन् । यो साताको सबैभन्दा ठुलो कारोबार बुधबार भएको थियो । सो दिन सात अर्ब ७१ करोडको कारोबार भएको थियो । कुल बजार पुँजीकरण ४७ खर्ब ५६ अर्ब रुपैयाँ कायम छ ।