- विश्वकप लिग–२ मा १० अंक जोडेको नेपाल तालिकाको सातौँ स्थानमा, घरेलु मैदान र समर्थकको साथमा ओमान र युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा नेपाली खेलाडी
आइसिसी विश्वकप लिग–२ मा नेपालको स्थिति त्यति राम्रो छैन । नेपालले अहिलेसम्म २० खेलबाट १२ अंक जोडेको छ । आठ टोली सहभागीमध्ये नेपाल सातौँ स्थानमा छ । शीर्ष पाँचभित्र नेपालले स्थान पक्का नगर्दा एकदिवसीय मान्यता गुमाउन सक्छ । फेरि एकदिवसीय ग्लोबल छनोट अवसर पनि खेर पठाउनेछ । शीर्ष तीन स्थानमा उक्लिन कठिन देखिए पनि नेपालले कम्तीमा पाँचौँ स्थानमा रहेर एकदिवसीय मान्यता रक्षा गर्ने लक्ष्य राखेको छ ।
यस्तोमा नेपाललाई घरेलु मैदानमा शनिबारदेखि सुरु हुने विश्वकप लिग–२ को अर्को सिरिज सुरु हुँदै छ । जसमा नेपालले युएई र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा एसोसिएट राष्ट्रका कडा प्रतिद्वन्द्वी युएईको सामना गर्नेछ । यो सिरिजको अन्तिम खेल ५ मेमा हुनेछ । जसमा नेपाल र ओमानबिच खेल हुनेछ । घरेलु मैदानमा नेपालले कम्तीमा आठ अंक बटुल्दा आगामी यात्रा सहज हुनेछ । नेपालले ओमान र युएईसँग समान दुई खेल खेल्दा आठ अंक जोड्न सक्छ । जसले नेपालले पाँचौँ स्थानमा दाबेदारी दिन आधार बन्नेछ ।
नेपाल पाँच महिनापछि एकदिवसीय क्रिकेटमा फर्किन लागेको हो । यसबिच नेपालले टी–२० विश्वकप खेलेको थियो । टी–२० विश्वकपमा केन्द्रित रहँदा नै नेपालको प्रदर्शन लिग–२ मा कमजोर भएको मानिएको छ । पछिल्लो सिरिजमा जस्तै नेपालले खेल गुमाउँदा नेपालको एकदिवसीय मान्यता रक्षा गर्ने आधार निकै कमजोर बन्नेछ । यसले पनि त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा नेपालको नजरमा महत्वपूर्ण रहेको छ । सिरिजमा सहभागी युएई १० अंकका साथ सबैभन्दा पुछार अर्थात् आठौँ स्थानमा छ । ओमान भने २९ अंकका साथ तेस्रो स्थानमा छ । आइसिसीको खेलतालिकाअनुसार यो सिरिज गत फागुनमा तय भएको थियो ।
मध्यपूर्व एसियाको तनावका कारण प्रतियोगिता स्थगित गरिएको थियो । त्यसपछि मध्यपूर्वी एसियाको अवस्था सुधारिएपछि क्यानले आइसिसीसँग छलफल गर्दै १२ वैशाखदेखि प्रतियोगिता आयोजना गर्ने नयाँ मिति घोषणा गरेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले घरेलु भूमिमा हुने लिग–२ को सिरिज महत्वपूर्ण भएको बताइसकेका छन् । उनले घरेलु मैदानमा सक्दो अंक बटुल्ने जनाएका छन् ।
पछिल्ला १० मध्ये तीन खेलमा विजयी
पछिल्लो सिजनमा नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो । नेपालले १२ मध्ये ११ खेलमा लगातार जित निकाली सनसनी प्रदर्शन मात्र गरेन, पहिलोपटक एकदिवसीय विश्वकपको ग्लोबल छनोटसमेतमा स्थान बनाएको थियो । यसपटकको सिजिनमा नेपालले कमजोर सुरुवात गर्यो । तर, नेपाली खेलाडीले उत्कृष्ट पुनरागमन गर्ने अपेक्षा सबैले गरेका थिए । यद्यपि, नेपालले अघिल्लो सिरिजमा जस्तै इतिहास दोहोर्याउन सकेन । यसपटक सुरुदेखि नेपालले सबै क्षेत्रमा कमजोर प्रदर्शन गरिरहेको छ ।
विदेशी भूमिमा नेपालले इतिहासकै खराब प्रदर्शन गर्दा अंकतालिकाको सातौँ स्थानमा सीमित भएको हो । नेपालले विश्वकप लिग–२ मा पछिल्लो १० खेलमा केवल तीनमा मात्र जित निकालेको छ । नेपालले २० मध्ये १४ महत्वपूर्ण अंक गुमायो । नेपालले यसबिचमा ६ अंक मात्र जोड्यो । यही १० मध्ये ६ खेलमा हार व्यहोर्दा एक खेल नतिजाविहीन हुन पुग्यो । यसअघि विश्वकप लिग–२ अन्तर्गत अमेरिका र युएईसँग भएका सिरिजमा नेपालले चारवटै खेल गुमाएको थियो । यो सिरिजमा नेपाल अंकविहीन भयो । सो सिरिजमा नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ फितलो प्रदर्शन गर्यो । नेपालले २२ सेप्टेम्बर २०२४ देखि २१ फेब्रुअरी २०२४ सम्म खेलेको सिरिजमा लगातार पाँच खेल गुमाएको थियो । यसमा क्यानडाले नेपालमाथि पाँच विकेट तथा एक सय तीन रनले जित निकालेको थियो ।
यसैगरी, ओमानले नेपालमाथि एक विकेट जित हात पार्यो । नेदरल्यान्डले आठ विकेट तथा नामिबियाले नेपालमाथि दुई विकेट जित निकालेको थियो । नेपालले १७ फेब्रुअरी २०२४ मा नेदरल्यान्ड्सलाई भने नौ विकेटले हराएको थियो । यो खेलमा नेपालले २०८ बलअघि जित हात पारेको थियो । त्यसपछि नामिबियासँगको खेलमा नेपाल चार विकेटले पराजित भयो ।
पिएम कपका आधारमा खेलाडी छनोट
विश्वकप लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी घोषणा गरेको हो । क्यानले पहिलोपटक एकदिवसीय र टी–२० फर्म्याटका लागि फरक खेलाडी र कप्तान घोषणा गरेको हो । एकदिवसीयमा नियमित कप्तान रोहितकुमार पौडेलले कप्तानी गर्नेछन् । उनको कप्तानमा यसपटक प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल र विनोद भण्डारीले स्थान बनाएका छन् । दुई वर्षपछि विनोदले टोलीमा स्थान बनाएका हुन् । अर्जुनले पिएम कपमा ओपनिङमा असाधारण खेल देखाएका थिए । उनले सम्भवतः ओपनिङ गर्ने सम्भावना छ । नेपालले एकदिवसीय मान्यता रक्षा गर्न यससँगै आगामी सिरिजमा जित निकाल्न आवश्यक छ ।