- धितोपत्र कसुरमा अनुसन्धानका लागि समातिएका उद्योगी शेखर गोल्छाको बचाउमा उत्रिए उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर
नेपाल रि–इन्स्योरेन्सको सेयरमा चलखेल गर्न बिचौलिया दीपक भट्टलाई सघाएको भेटिएपछि अनुसन्धानका लागि पक्राउ परेका उद्योगी शेखर गोल्छाको बचाउमा निजी क्षेत्रका तीन प्रमुख संगठनले संयुक्त विज्ञप्ति निकालेका छन् । हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छाले इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्टलाई नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य ‘इन्साइडर ट्रेडिङ’मार्फत उचाल्न सहयोगी भूमिका खेलेको धितोपत्र बोर्डको जाँचबुझ समितिले औँल्याएको छ । सोही प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार गोल्छालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छाको पक्राउलाई तीन संगठनले विज्ञप्ति निकालेर विरोध गर्दै उद्यमी–व्यवसायीमाथि धरपकड भएको र त्यसबाट निजी क्षेत्र निरुत्साहित भएको तर्क गरेका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरे पनि उद्योगीमाथि भएको धरपकडले त्रसित भएको उल्लेख छ ।
‘उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकबाट निजी क्षेत्र निरुत्साहित भएको छ,’ विज्ञप्तिमा भनिएको छ । गोल्छाको पक्राउले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको समग्र निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘यसले अर्थतन्त्र, रोजगारी, राजस्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्नेतर्फ नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै पनि उद्योगी–व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछि मात्र थुन्ने दृष्टिकोण र व्यवहार गर्न सरकारलाई गम्भीर रूपमा आग्रहसमेत गर्दछौँ ।’
गोल्छाले अनुसन्धानलाई सघाउन आफू पूर्ण तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराए पनि पक्राउ गरेकोप्रति विज्ञप्तिमार्फत असन्तुष्टि जनाइएको छ ।
धितोपत्र कसुरमा समातिएका गोल्छालाई अनुसन्धान गर्न चार दिन म्याद थप
प्रहरी नियन्त्रणमा रहेका उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर धितोपत्र कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले चार दिन म्याद थप गरेको छ । धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनअनुसार नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य उचाल्न सहयोगी भूमिका खेलेको उनीमाथि आरोप छ । बिचौलिया दीपक भट्ट र सुलभ अग्रवाल दम्पतीले ब्रोकर कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’सँग मिलेमतो गरी धितोपत्र कसुर गरेको र त्यसमा गोल्छाले सहयोगी भूमिका खेलेको ३ वैशाखमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । जाँचबुझ समितिले नै गोल्छासहितका व्यवसायीलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो । गोल्छामाथि धितोपत्रसम्बन्धी ऐन, ०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जाँचबुझ आयोगले सिफारिस गरेको छ ।
बिचौलिया भट्ट र उद्योगी गोल्छा साझेदारसमेत हुन् । हिमालय सेक्युरिटीमा भट्टको ७ प्रतिशत र गोल्छाको व्यक्तिगत स्वामित्व २.५ प्रतिशत छ । गोल्छा तत्कालीन समयमा अध्यक्ष रहेको हिमालयन रि–इन्स्योरेन्सको समेत उक्त कम्पनीमा ७५ प्रतिशत स्वामित्व छ । भट्ट र ब्रोकरबिच आर्थिक लेनदेन हुँदा गोल्छाको पैसासमेत प्रयोग भएको जाँचबुझबाट तथ्य बाहिरिएको छ । नेपाल रिको सेयर मूल्य बढाउन भट्ट र उनका समूह (गोल्छासमेत)ले नेपाल स्टक एक्सचेन्जको प्रणालीलाई नै झुक्याएको अर्को कसुर छ ।