बाँझो खेतको अभ्यासले बगरमा दिलायो उपाधि

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

बैतडीको पुर्चौडी नगरपालिका– ५ को बाँझो खेतमा विद्यालय उमेरका किशोरहरू केही महिनादेखि क्रिकेट अभ्यास गरिरहेका देखिन्थे। स्थानीय युवाहरूले वडा नं. १ मा रहेको गिरिजाबगरमा पुर्चौडी प्रिमियर लिग आयोजना गरेपछि उनीहरू सहभागी मात्रै भएनन्, प्रतियोगिताको उपाधि नै जितेर फर्किए।

जिल्लाका १० पालिकामध्ये क्रिकेटमा पुछारमा रहेको पुर्चौडी नगरपालिकाका युवाहरूले खोलाको बगरमै भए पनि यसपालि प्रिमियर लिग आयोजना गरे। नयाँ वर्षको सुरुवातसँगै आठ दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा पालिकाभरिका १५ वटा टोली सहभागी भएका थिए।

क्रिकेट मैदान नभएपछि जमाडी खोलाको किनार गिरिजाबगरमा आठ दिनसम्म दुई सय युवा खेलाडीले जानी–नजानी क्रिकेट खेल्ने प्रयास गरे। 

केही वर्ष अघिसम्म नदीको बगर रहेको गिरिजाबगरलाई नगरपालिकाले सम्याएर खेलमैदान बनाउन खोजिरहेको छ। त्यहीँ प्रतियोगिता आयोजना गर्दै युवाहरूलाई क्रिकेटमा आकर्षित गर्न खोजेको स्थानीय युवा लक्ष्मण गडालले बताए।

क्रिकेटको लोकप्रियता गाउँगाउँसम्म विस्तार हुँदै गर्दा बैतडीको उत्तर–पूर्वी नगरपालिका पुर्चौडीमा पहिलोपटक यसस्तरको प्रतियोगिता भएको स्थानीय रामसिंह धामीले बताए। उनका अनुसार दर्ता प्रक्रियामा रहेको ‘पुर्चौडी युथ क्रिकेट क्लब’ले प्रतियोगिता आयोजना गरेको हो।

भलिबल खेल लोकप्रिय रहेको यो क्षेत्रमा पछिल्लोपटक आयोजना गरिएको क्रिकेट प्रतियोगिता हेर्न टाढाटाढाबाट पनि मानिसहरू आएका थिए। ‘क्रिकेट खेलका नियमहरू सबैले बुझ्न सकेनन्, कति जनाले त पहिलोपटक क्रिकेट खेलेको देखेँ,’ स्थानीय प्रेमसिंह भण्डारी भन्छन्, ‘युवा खेलाडीहरूले समेत मोबाइलमा भिडियो हेरेर बाटोघाटो, सडक, खेतमा अभ्यास गरेको भरमा क्रिकेट खेलेका हुन्।’

आयोजक क्लबका सहसचिव धामीका अनुसार क्रिकेट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यापारी तथा विदेश बस्ने युवाहरूले सहयोग गरे पनि व्यवस्थापनमा चुनौती सिर्जना भएको थियो। नगरपालिकाका १० वटै वडाबाट १५ वटा टोली क्रिकेट खेल्न आएपछि स्थानीय वसन्तपुर बजारमा निकै चहलपहल भएको उनको भनाइ छ।

‘क्रिकेट खेल्न १० वर्षका अलराउन्डर खेलाडी पनि आएको देखिए,’ धामी भन्छन्, ‘यो प्रतियोगिताले हामीलाई निकै उत्साहित बनाएको छ।’ वडा नं. १ को क्लब ‘प्रकाश वारियर्स’का १४ वर्षीय दीपक धामी, वडा नं. ५ को ‘दहताल रोयल्स’का १४ वर्षीय वीरेन्द्र बोहराजस्ता सम्भावना भएका उत्कृष्ट खेलाडी पुर्चौडी प्रिमियर लिग खेल्न आएको उनले बताए।

बगरमै भए पनि यसपालि क्रिकेट खेल्ने प्रयास सकारात्मक भएको पुर्चौडी– ५ का केशव बोहरा बताउँछन्। काडा महादेव युवा क्लबमा आबद्ध गराएर क्रिकेट खेलाउन ल्याइएका १२ देखि १८ वर्षका किशोरहरूले प्रतियोगिता नै जितेपछि उत्साहित भएका बोहरा भन्छन्, ‘बाँझो खेतमा अभ्यास गर्दै गिरिजाबगरमा प्रतियोगिता नै जित्ने सौभाग्य मिल्यो। अब क्रिकेट क्षेत्रमा नगरपालिकाले पनि लगानी गर्नुपर्छ।’ उनले नगरपालिकासँग खेलमैदान बनाइदिन तथा क्रिकेटमा पनि बजेट छुट्याउन माग गरेको बताए।

पुर्चौडी नगरपालिकाका मेयर दीपकबहादुर बमले अन्य खेलजस्तै क्रिकेटलाई पनि प्राथमिकतामा राख्ने बताए। ‘मैले सार्वजनिक रूपमै भनेको छु, अब नगरपालिकाले क्रिकेटमा पनि लगानी गर्छ,’ उनले भने, ‘वडा नं. १ र वडा नं. ३ मा क्रिकेट मैदान बनाउने पालिकाको योजना छ।’

सुझावित समाचार