सशस्त्र प्रहरी नेपाल नं. १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकले विपतसम्बन्धी तालिम सञ्चालन गरेको छ। सिन्धुपाल्चोक विपतकाे उच्च जोखिममा रहेको जिल्ला हो। विगतका दुर्घटना र क्षतिबाट शिक्षा लिएर सशस्त्रले यस्तो कार्यक्रम तय गरेको हो । स्थानीय सरकारसँग सहकार्य गरेर विपतसम्बन्धी तालिम सञ्चालन गरेको सशस्त्र प्रहरीका डिएसपी नवराज नेपालले जानकारी दिए ।
पहिलो चरणमा सुनकोशी गाउँपालिकासँग सहकार्य गरेर नं. १६ गणको आयोजनामा तालिम सुरुवात गरिएको हो। तालिमको नाम समुदाय विपत् स्वयंसेवक रहेको छ । यो तालिम १० वैशाखबाट २७ गतेसम्म सञ्चालन हुनेछ। नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तय गरिएको विपत् स्वयंसेवक परिचालन विस्तारित पाठ्यक्रम २०८१ बमोजिम सहभागीलाई तालिम प्रदान गरिनेछ।
तालिममा सात वडाबाट २५ जनाले सहभागिता जनाएका छन्। समुदाय विपत् स्वयंसेवक तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गरेका थिए। उद्घाटनमा सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छी लामा, सशस्त्रका गणपति एसपी हरिनारायण श्रेष्ठ, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो। १७ दिनसम्म सुनकोशीको सभाहलमा सहभागी स्थानीयलाई सशस्त्र प्रहरी बल नेपालका विपत् व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्तिबाट विपतपूर्व, विपतकाे समय र विपतपछिको समयमा अपनाउनुपर्ने सुरक्षा तथा उद्धारसम्बन्धी प्रशिक्षण दिइनेछ।
पहिलो उपचार सहयोगी, बाढीपहिरो तथा डुबान, अग्नि नियन्त्रण तथा वनडढेलो, डोरीद्वारा गरिने उद्धार, भूकम्पीय जोखिम नियन्त्रण र सडक दुर्घटना जोखिम न्यूनीकरणजस्ता विषयमा सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक विधिबाट प्रशिक्षण गराई तालिम दिइनेछ। विपतबाट समुदायमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न तत्काल परिचालन हुन सक्ने दक्ष जनशक्ति निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको सूचना अधिकृतसमेत रहेका नेपालले बताए। स्थानीय सरकारसँग मिलेर सशस्त्र प्रहरीले विपतसम्बन्धी तालिम दिने कार्य थप विस्तार गर्ने उनले जानकारी दिए । दोस्रो चरणमा भोटेकोशी र बाह्रबिसे क्षेत्रमा तालिम गरिनेछ।