विश्व बैंकको लगानीमा निर्माण गरिएको पोखरा महानगरपालिका– ३० स्थित शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ। बैंकको ३४ करोड ११ लाख २० हजार २९५ रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको ४.१४ किलोमिटर लामो सडकको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
पोखरा– ३० स्थित शिशुवादेखि सिसाघाटसम्मको सडकखण्डअन्तर्गत पर्ने सो सडक नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोग, पोखरा महानगरपालिकामा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण गरिएको आयोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतमले जानकारी दिए ।
शिशुवादेखि खुदीखोला पुलसम्मको सडक नालीसहित १५ मिटर डबल लेन, सात मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्रयाक रहेको गौतमले जानकारी दिए । १४ महिनामा निर्माण सम्पन्न गर्ने गरी १३ वैशाख ०८१ शिलान्यास गरिएको बाटो आशिष निर्माण सेवाले निर्माण गरेको हो । बाटो तोकिएको समयअगावै सम्पन्न भए पनि विविध कारणले गर्दा हाल आएर उद्घाटन गरिएको हो ।
पोखरामा ३३ अर्बभन्दा बढीका परियोजनाहरू सञ्चालनमा
सडक उद्घाटनपछि प्रमुख आचार्यले पोखरा नगर क्षेत्रमा विभिन्न विकास साझेदारहरूको लगानीमा हाल ३३ अर्बका विभिन्न परियोजनाहरू सञ्चालनमा रहेको जानकारी दिए । विकास साझेदारहरूले पोखरालाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरू सञ्चालन गरिरहेको उनको भनाइ थियो ।आफ्नो नेतृत्वमा महानगरमा निर्वाचित प्रतिनिधिहरू आइसकेपछि नेपालमा रहेका सबै विकास साझेदारहरू सहकार्यका लागि पोखरा आएको बताए ।
आज उद्घाटन भएको सडक वर्षौँदेखि योजना बने पनि कार्यान्वयन हुन नसकेको अवस्थामा पछिल्लो क्रममा तोकिएकै समयमा सम्पन्न भएकाे बताउँदै दोस्रो चरणको निर्माणसमेत बैंककै लगानीमा अघि बढ्ने अपेक्षा आचार्यले गरेका थिए । उद्घाटन गरिएको सडक क्षेत्रमा पर्ने स्थानीयहरूले सडकखण्डमा पर्ने आफ्ना निजी संरचना हटाएर निर्माणमा सहयोग गरेकाले समयमै सम्पन्न भएर सञ्चालनमा आएको मेयर आचार्यको भनाइ थियो ।
अर्को प्रसंगमा आचार्यले तालचोक बेगनास सडक निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्य सञ्चालनका क्रममा देखापरेका विभिन्न बाधा तथा अवरोधले विलम्ब भइरहेको बताए । उक्त सडक निर्माणका लागि अन्तिमपटक म्याद थपिएकाले सो अवधिभित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गर्न आवश्यक रहेकोमा सहयोगका लागि उपस्थितहरूलाई आग्रह गरेका थिए । स्थानीयको साथ र सहयोग रहे जस्तोसुकै जटिल काम पनि सहजै गर्न सकिने विश्वास उनले व्यक्त गरेका थिए ।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखराले लिएको दिगो विकास निर्माणतर्फको अभियानहरूमा पालिका हातेमालो गर्न तयार रहेको बताउँदै उद्घाटन भएको सडक यस क्षेत्रकै नमुना सडक रहेको बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नगरवासीहरूको आवश्यकतालाई ध्यान दिँदै आफूहरूले काम गरिरहेको जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले निर्माण गरिएको सडकले यस क्षेत्रको मुहार फेर्ने भन्दै भन्दै सडकका कारण यस क्षेत्रका बासिन्दामा खुसी छाएको बताइन् ।