नेपाल वितरक महासंघको साधारण-सभा धनगढीमा हुँदै

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल वितरक महासंघको १४औँ वार्षिक साधारणसभा यही ११ र १२ वैशाखमा धनगढीमा हुने भएको छ। संघले धनगढीमा बिहीबार पत्रकार सम्मेलन गरेर साधारणसभाको तयारी लगभग पूरा भएको जनाएको छ।

महासंघका अध्यक्ष दुर्गा गौतमले साधारणसभामा ४५ जिल्लाका तीन सयभन्दा बढी वितरक प्रतिनिधिको सहभागिता रहने जानकारी दिए। यो क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन र देशभरका वितरकबिचको एकता मजबुत बनाउने उद्देश्यले सुदूरपश्चिमको धनगढीमा साधारणसभा आयोजना गरिएको अध्यक्ष गौतमको भनाइ छ।

साधारणसभामा सहभागी हुन देशभरका संघका प्रतिनिधिहरू धनगढी आइपुग्न थालेका छन्। आयोजकका अनुसार साधारणसभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले गर्ने तय भएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेसँगै यहाँ पनि इन्धनको मूल्य बढेकाले ढुवानी लागत महँगो भएको र हरेक पसलसम्म सामान पुर्याउन चुनौती थपिएको अध्यक्ष गौतमले बताए। ‘हामी नाफामुखीभन्दा पनि जिम्मेवारी लिएर आपूर्ति व्यवस्थापनको पुलको रूपमा काम गर्ने व्यवसायी हौँ,' उनले भने।

२०६६ सालमा स्थापना भएको महासंघ दैनिक उपभोग्य वस्तुको वितरण गर्ने जिल्ला वितरक संघहरूको छाता संगठन हो। १७ वर्षको अवधिमा महासंघ ४५ जिल्लामा विस्तार भएको अध्यक्ष गौतमले बताए।

पत्रकार सम्मेलनमा महासंघका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मदनराज न्यौपाने, निवर्तमान अध्यक्ष हरिराज पन्त, राजकुमार श्रेष्ठलगायतको सहभागिता थियो।

सुझावित समाचार