विगत केही महिनायता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चर्चित बिचौलिया दीपक भट्ट र उनीसँग कारोबारमा साझेदार देखिएका शंकर समूहमाथि छानबिन गरिरहेको छ । अन्तरिम सरकारकै पालामा गत मंसिरदेखि उनीहरूमाथि विभागले छानबिन गर्दै आएको थियो । यसैक्रममा गत १९ चैतमा विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई पक्राउ गरेको थियो । भट्टसहित शंकर समूहका सुलभ अग्रवाल पनि अहिले हिरासतमा छन् ।
भट्ट र अग्रवाललगायतको समूहले हिमालयन रिइन्स्योरेन्स र यसका सहायक कम्पनीबाट अर्बौँ रकम दुरुपयोग गरेको भेटिएको छ । छानबिन अन्तिम चरणमा पुग्दा भट्टसँग गुरुङको पनि शंकास्पद कारोबार देखिएको भन्दै विवाद उठेको छ ।
भट्टको दबाब र छनोटमा ०७९ मंसिरमा नेपाल बिमा प्राधिकरणले सात लघुबिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । त्यसमध्ये लघु जीवनबिमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड थिए । त्यस्तै, निर्जीवन बिमा व्यवसायतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड थिए । लाइसेन्स वितरण प्रक्रियामा मात्र होइन, ती कम्पनीको सेयर कारोबारमाथि पनि प्रश्न र विवाद उठेको छ ।
तिनै कम्पनीमध्येको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख मूल्यको २५ हजार कित्ता सेयर देखिएको कागज बाहिरिएको छ । यसका अतिरिक्त भट्टसँग सान्निध्य रहेको र ठुला कारोबारमा संलग्न भएको आरोप गुरुङमाथि छ । केही समयअघि गुरुङले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा देखिएको सम्पत्तिउपर पनि छानबिन गर्नुपर्ने आवाज उठेको थियो । यद्यपि, भट्टसँगको सम्बन्ध र विवादित तथा गैरकानुनी कारोबारमा गुरुङको संलग्नता यकिन भने भइसकेको छैन । यसैको छानबिनको माग चौतर्फी उठेपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका हुन् ।