नेपालले साफ महिला च्याम्पियनसिपको समूह चरणमा पुनः एकपटक भुटान र श्रीलंकालाई नै प्रतिद्वन्द्वीका रूपमा पाएको छ । दक्षिण एसियाली फुटबल महासंघले बुधबार भारतको गोवास्थित मार्गाओ सहरमा २५ मेदेखि ७ जुनसम्म हुने च्याम्पियनसिपका लागि ‘ड्र’ सार्वजनिक गरेको हो ।
साबिक उपविजेता नेपाल, भुटान र श्रीलंका समूह ‘ए’मा छन् । दुईपटकको साबिक विजेता बंगलादेशले समूह ‘बी’मा छ । बंगलादेशले भारत र माल्दिभ्सको सामना गर्नेछ । सन् २०२२ को छैटौँ र २०२४ को सातौँ संस्करणमा नेपालले पहिलो चरणमा भुटान र श्रीलंकासँग खेलेको थियो ।
यी दुवै संस्करण काठमाडौंमा भएको थियो । अघिल्लो संस्करण नेपालले आफ्नो समूहमा माल्दिभ्ससँग पनि खेलेको थियो । यसपालि भने माल्दिभ्स अर्कै समूहमा परेको छ । एकल राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा आफ्नो स्थान बनाउनेछन् । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार ३५ सदस्यीय टोली घोषणा गरेको थियो ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तीन महिनाको निलम्बन गरेपछि नेपालको सहभागिता अन्योलमा परेको थियो । तर, एन्फाले दक्षिण एसियाली फुटबल महासंघसँग छलफल गर्दै टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीका लागि प्रारम्भिक बन्द प्रशिक्षण आगामी २७ अप्रिलदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले अघिल्लो संस्करणमा उपाधिनजिक पुगेर विमुख भएको बताएका छन् । तर, यसपटक नेपाललाई उपाधि जित्ने लक्ष्यका साथ प्रशिक्षणमा खेलाडीलाई राख्ने उनको योजना छ ।