पूर्व–पश्चिम राजमार्ग विस्तारमा इन्धनको मूल्यवृद्धि र बिटुमिन अभावको असर

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण
पूर्व–पश्चिम राजमार्ग विस्तारमा इन्धनको मूल्यवृद्धि र बिटुमिन अभावको असर

विस्तारका लागि सडक भत्काइँदै, धुलाम्मे बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीको सडक । तस्बिर : नयाँ पत्रिका

अमेरिका–इरान युद्धका कारण बजारमा इन्धनको मूल्यवृद्धि र बिटुमिन अभावको प्रभाव पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही सडक विस्तारमा पनि देखिएको छ । एसियन राजमार्गसँग जोड्न चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको खण्डमध्ये ठेक्का लागेर विस्तारको काम भइरहेको ९५ किलोमिटर सडकमा असर देखिएको हो । काँकडभिट्टा–लौकही सडक खण्डअन्तर्गत झापा काँकडभिट्टादेखि सुनसरीको लबिपुरसम्म ठेक्का लागेर काम भइरहेको छ ।

एसियाली विकास बैंकको तीन सय मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा चार लेनमा विस्तार हुँदै गरेको काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरी दुई कार्यालयले यसको काम गराइरहेका छन् । यसलाई पनि विभिन्न खण्ड बनाएर ठेक्का लगाइएको छ । काँकडभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक ठेक्कामा लगाउने योजना भए पनि सुनसरीको लबिपुरसम्मको ९५ किलोमिटर मात्रै ठेक्का लागेको हो ।

९५ किलोमिटर सडक विस्तार र यसमा पर्ने पुल निर्माणका लागि २ कात्तिक ०८० मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार सम्पन्न गर्नुपर्ने म्याद भने १९ माघ ०८३ छ । ठेक्का २ कात्तिक ०८० मा लागेको भए पनि सम्झौता मितिले काम माघदेखि सुरु भएको हो । पूर्वी खण्ड अर्थात् झापा काँकडभिट्टादेखि झापाकै कमल गाउँपालिकास्थित केर्खासम्मको ४५ किलोमिटर सडक पर्छ । ४५ किलोमिटर सडक निर्माणको ठेक्का भने १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको हो । यो सडक निर्माणको काम ठेक्का लागेको अढाई वर्षमा बल्ल ४० प्रतिशत भएको छ । यस्तै, यो खण्डमा कन्काई, निन्दा र बिरिङ नदीको पुलको काम २१ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए । यी तीन पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छ । पुल निर्माणको काम २६ प्रतिशत मात्र भएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । 

यस्तै, पश्चिम खण्डमा केर्खादेखि पश्चिम सुनसरीको लबिपुरसम्म पर्छ । केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि लबिपुरसम्मको १० दशमलव ७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको छ । पश्चिम खण्डमा पर्ने रतुवा, बक्राह र लोहेन्द्र नदीमा पुल निर्माण भइरहेको छ । यो पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको छ । यो खण्डमा सडक निर्माणको काम ३६ प्रतिशत र पुल निर्माणको काम ३२ प्रतिशत मात्रै भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)का प्रमुख जगत प्रजापतिले जानकारी दिए । 

पूर्वी खण्डमा अझै १५ दिनलाई पुग्ने बिटुमिन भण्डार भएको भए पनि इन्धनको मूल्यवृद्धि र इन्धन अभावको प्रभाव देखिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तले बताए । उनले भने, ‘मूल्यवृद्धिको असर त देखिएको छ, जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यो रफ्तारमा काम हुन सकेको छैन । अहिले काम गर्ने सिजन हो । यो सिजनमा ५० प्रतिशत पुर्याउने लक्ष्य थियो । तर, पुग्ने अवस्था देखिएन ।’ 

पश्चिम खण्डमा पनि मूल्यवृद्धि, इन्धन र बिटुमिन अभावले काम सुस्त भएको उनी बताउँछन् । यो खण्डमा मासिक चार प्रतिशत काम हुनुपर्ने हो । तर, चैत महिनामा दुई प्रतिशत मात्रै भएको उनले बताए । ‘यो समय विगतमा काम ढिला भएको पनि रिकभर गर्ने समय थियो । तर, अहिले बिटुमिन अभाव र मूल्यवृद्धिले काम सुस्त छ । असारसम्म ६० प्रतिशत पुर्याउने लक्ष्य थियो । तर, पुग्ने अवस्था देखिएन,’ उनी भन्छन्, ‘मूल्यवृद्धिले निर्माण कम्पनी पनि टिक्ने अवस्था छैन । फागुनदेखि जेठसम्म सबैभन्दा धेरै काम हुनुपर्ने हो । तर, यही समयमा काम अपेक्षित हुन सकेन ।’

सुझावित समाचार