- ०७४ मा ६४.३६ प्रतिशतसम्म फैलिएका कम्युनिस्ट पार्टी फागुनको निर्वाचनबाट १५.२७ प्रतिशतमा खुम्चिए
दर्जनौँ पार्टीमा विभाजित नेपालका कम्युनिस्टहरूले बुधबार स्थापना दिवस मनाउँदै छन् । एमाले, नेकपालगायत दलले स्थापना दिवसका अवसरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । लेनिन जयन्तीको अवसर पारेर ७७ वर्षअघि २२ अप्रिलमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । ००६ मा स्थापित पार्टी ०८३ सम्म आइपुग्दा निकै उतारचढाव बेहोर्न पुगेको छ ।
पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भएरसमेत जितेका कम्युनिस्टहरू गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा १५.२७ प्रतिशतमा खुम्चिएका छन् । प्रतिनिधिसभामा दर्जनौँ कम्युनिस्ट पार्टीमध्ये एमाले र नेकपाको मात्र प्रतिनिधित्व छ । एमालेले प्रत्यक्षमा नौ र समानुपातिकमा १६ गरी २५ सिट जितेको छ । नेकपाले प्रत्यक्षमा आठ र समानुपातिकमा नौ गरी १७ सिट जितेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा कम्युनिस्ट सांसद जम्मा ४२ जना छन् ।
०४८ देखि निरन्तर प्रतिनिधित्व गर्दै आएको नेमकिपा संसदीय राजनीतिबाट यसपालि बाहिरियो । जनमोर्चा पनि प्रतिनिधिसभामा शून्य भयो । समानुपातिकमा एमालेले १३.४४, नेकपाले ७.४९, नेमपिकाले ०.३९, जनमोर्चाले ०.२७, माओवादीले ०.२२, मालेले ०.०६, नेकपा पुष्पलालले ०.०४, नेकपा संयुक्तले ०.०४ गरी जम्मा २१.९५ प्रतिशत मत ल्याए ।
०४८ को निर्वाचनपछि संसद्मा ३९.०२ प्रतिशत हिस्सा ओगटेका कम्युनिस्ट ०७४ मा पुग्दा प्रतिनिधिसभामा ६४.३६ प्रतिशतमा फैलिएका थिए । तर, जनमतअनुसार काम गर्न नसक्दा र टुटफुटमा रुमलिँदा कम्युनिस्ट आन्दोलन इतिहासकै रक्षात्मक अवस्थामा पुगेको छ । कम्युनिस्ट पार्टी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका डा. बाबुराम भट्टराई र जनार्दन शर्माको पनि बेहाल भयो । तर, उनीहरूले कमजोरी सच्याउने गरी आत्मसमीक्षा गरेका छैनन् । जसले उनीहरू सच्चिएर अगाडि बढ्न तयार छैनन् भन्ने देखाएको विश्लेषकहरू बताउँछन् । सामाजिक न्याय, समानता र श्रमिक वर्गका अधिकारको पक्षमा काम गर्नुपर्ने कम्युनिस्टहरू मूल लक्ष्यबाट विचलित हुँदा रक्षात्मक अवस्थामा पुगेको विश्लेषकहरू बताउँछन् । सामाजिक, सांस्कृतिक रूपान्तरण र समानताको सवालमा काम हुन नसकेको कम्युनिस्ट नेताहरू नै स्विकार्छन् । परिष्कृत गर्दै रूपान्तरित भएर अगाडि नबढे आगामी दिन अझ कठिन रहेको छ ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जनअपेक्षा पूरा गर्न नसक्नु नै कम्युनिस्ट कमजोर हुनुको मुख्य कारण भएको बताउँछन् । जनताले पटक–पटक अवसर दिए पनि सदुपयोग गर्न नसकेकाले रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ । ‘राजनीतिक परिवर्तन त भयो, तर आर्थिक–सामाजिक रूपान्तरणको अनुभूति दिलाउन सकेनन् । मुख्य उद्देश्यमै चुकेका हुन्, कम्युनिस्ट भनेको गरिखाने वर्गका लागि हो । त्यो गर्न छाडेर वर्ग परिवर्तन भएपछि आजको स्थिति आएको हो । उनीहरूले गम्भीर आत्मसमीक्षा गरेर, यहाँ चुक्यौँ, यहाँ गल्ती भयो भनेर गल्ती नदोहोर्याउने गरी अगाडि बढ्ने हो भने उठ्न सक्छन् ।’
लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन नयाँ ढंगले नसोच्ने हो भने कम्युनिस्ट आन्दोलन अघि बढ्न गाह्रो हुने बताउँछन् । नयाँ ढंगले सोच्ने पार्टी र आन्दोलन आवश्यक रहेको उनले औँल्याए । ‘नेपालको स्थिति विशिष्ट खालको छ । त्यसको पहिचान गरी समस्याको डायलाइसिस गर्दै उपचार गर्ने हो भने कम्युनिस्ट पार्टीहरूको सान्दर्भिकता अझै छ । समस्या जटिल छ । मुद्दा थाती छन् । त्यसमा कम्युनिस्ट पार्टीहरूले कसरी काम गर्छन् भन्ने कुरा मुख्य हो । त्यस खालको पार्टी, नेतृत्व र वैचारिकी विकास भएको छैन । अहिलेको नेतृत्वबाट सम्भव पनि देखिँदैन ।’
ओलीको तस्बिरविनै पार्टी स्थापना दिवसमा एमालेको प्रचार
एमालेले पार्टीको ७७औँ स्थापना दिवसका लागि अध्यक्ष केपी ओलीको तस्बिरविनै कार्यक्रमको प्रचार गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो २ बजे आयोजना गरिएको कार्यक्रमका लागि महासचिव शंकर पोखरेलले नै अध्यक्ष ओलीको तस्बिरविनैको सूचना सामग्रीको प्रचार गरेका छन् ।
एमालेभित्र पार्टीलाई केन्द्रदेखि तलैसम्म पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका वेला पार्टी स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमको सूचना सामग्रीमा तयार पारिएका विभिन्न सामग्रीमा ओलीको तस्बिर नराखिएकाले एमाले वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । जबकि ओलीको विश्वासपात्र महासचिव पोखरेलले नै उनको तस्बिर नराखिएको सूचना पोस्टरमार्फत कार्यक्रममा सहभागी हुन पार्टीपंक्तिलाई अपिल गरेका छन् ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले कार्यक्रममा सहभागी हुन आह्वान गरिएको सूचना मात्र भएकाले कसको तस्बिर राखियो कि राखिएन भन्ने कुराको कुनै अर्थ नै नभएको बताए । ‘मूल ब्यानरमा होइन, कार्यक्रममा सहभागी हुन सूचित गरिएको सूचना सामग्रीमा अध्यक्षको तस्बिर नराखिएको हो, सूचना सामग्रीमा कहाँ राखिन्छ त ?’ अधिकारीले भने । उनले कार्यक्रमको मूल ब्यानर तयार नभइसकेको भन्दै स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओलीको उपस्थितिमा स्थापना दिवससम्बन्धी कार्यक्रम आयोजना हुने कि नहुने अझै निश्चित भइनसकेको बताए । ‘अध्यक्षज्यू अप्रेसन गरेर स्वास्थ्य लाभमा हुनुहुन्छ, यस्तो अवस्थामा उहाँ स्थापना दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुने कि नहुने अझै तय भइसकेको छैन, त्यसैले सहभागिताका लागि आह्वान गरिएको सूचना सामग्रीमा उहाँको तस्बिर किन राखिएन भन्ने प्रश्नकै अर्थ रहेन,’ उनले भने ।
स्थापना दिवस पनि एमालेले सामान्य रूपमै मनाउने तयारी गरेको छ । १७ चैतमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले पार्टी स्थापना दिवसमा अन्तर्क्रिया, संवाद, विचार गोष्ठीलगायत विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउने निर्णय गरेको थियो । अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पनि कार्यक्रममा वक्ता को–को रहने, कसरी कार्यक्रम सञ्चालन गर्ने तय भइनसकेको केन्द्रीय कार्यालययले जनाएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सल्लाहकार र उपत्यकामा रहेका पार्टीका कार्यकर्ता तथा शुभेच्छुकको उपस्थितिमा कार्यक्रम आयोजना गरिए पनि अरू पार्टीबाट सहभागी हुने गरी एमालेले कसैलाई पनि आमन्त्रण गरेको छैन ।
विगतमा भने एमालेले आफ्नो प्रचार सामग्री तयार गर्दा र पार्टी कमिटीहरूले कुनै पनि कार्यक्रमको ब्यानर बनाउँदा अध्यक्ष ओलीको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको थियो । २९ साउन ०८० को सचिवलाय बैठकले सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो । त्यतिवेला तत्कालीन उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी पार्टीका निर्णयबारे नेता–कार्यकर्तालाई परिपत्र गरिएको सामाजिक सञ्जालबाटै पनि जानकारी दिएका थिए ।
कम्युनिस्ट जनमतको उतारचढाव
- ०४८ को आमनिर्वाचनमा कम्युनिस्ट दलहरूले उल्लेखनीय मत प्राप्त गरेका थिए । माले र मार्क्सवादी मिलेर बनेको एमालेले ६९, संयुक्त जनमोर्चाले नौ र नेमकिपाले दुई सिट जित्दै २०५ मध्ये ८० सिट कम्युनिस्ट धारमा पुगेका थिए, जुन ३९.०२ प्रतिशत हो ।
- ०५१ मा कम्युनिस्ट जनमत अझ बढ्यो । २०५ मध्ये एमाले ८८ सिटसहित संसद्कै सबैभन्दा ठुलो दल बन्यो भने नेमकिपाले चार सिट जित्यो । कुल प्रतिनिधित्व ४४.८७ प्रतिशत हो ।
- ०५६ मा भने माओवादी जनयुद्धका कारण कम्युनिस्ट प्रतिनिधित्व केही घट्यो । त्यसवेला एमालेले ७१, राष्ट्रिय जनमोर्चाले पाँच तथा संयुक्त जनमोर्चा नेपाल र नेमकिपाले एक–एक सिट जित्दै कुल ७८ सिट कम्युनिस्ट धारमा परे । जुन ३८.०४ प्रतिशत हो ।
- ०६२/६३ को दोस्रो जनआन्दोलनपछि तथा माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ को पहिलो संविधानसभा निर्वाचनपछि कम्युनिस्ट शक्ति ऐतिहासिक उचाइमा पुग्यो । ६०१ सदस्यीय संविधानसभामा माओवादी २३७ सिटसहित पहिलो दल बन्यो, एमालेले १०८ सिट जित्यो । अन्य कम्युनिस्ट दलहरू माले नौ, नेकपा संयुक्त पाँच, नेमकिपा पाँच र राष्ट्रिय जनमोर्चाको चार सिट थियो । कुल प्रतिनिधित्व ६१.२३ प्रतिशत हो ।
- ०७० को दोस्रो संविधानसभा निर्वाचनमा यो अनुपात घटेर करिब ४८ प्रतिशतमा झर्यो । मनोनीतसहित ६०१ सिटमध्ये एमाले १८४, माओवादीले ८३, मालेले पाँच, संघीय समाजवादी पार्टी पाँच, नेमकिपा चार, राष्ट्रिय जनमोर्चा तीन, नेकपा संयुक्तले तीन सिट जितेका थिए । पहिलो संविधानसभामा पहिलो दल बनेको माओवादी तेस्रोमा खुम्चियो भने एमाले दोस्रोमा उक्लियो । जुन समग्रमा ४७.७५ प्रतिशत हो ।
- संविधान जारी भएपछि ०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनले करिब दुईतिहाइ शक्ति प्राप्त गर्यो । एमाले र माओवादी चुनावी तालमेल गरेर एउटै घोषणापत्रसहित निर्वाचनमा गएका थिए । २७५ सिटमध्ये एमालेले १२१ र माओवादीले ५३ गरी १७४ सिट जिते । सदनमा जनमोर्चाको दुई र नेमकिपाको एक सिट थियो । कुल सदनमा कम्युनिस्टको ६४.३६ प्रतिशत हो ।
- तर, ०७९ को निर्वाचनमा कम्युनिस्ट शक्ति उल्लेख्य रूपमा घट्यो । एमाले ७९ र माओवादी ३२ सिटमा सीमित भए भने अन्य कम्युनिस्ट दलहरूको उपस्थिति पनि न्यून रह्यो । एकीकृत समाजवादीले १०, जनमोर्चा र नेमकिपाले १–१ सिट जितेका थिए । एमालेका बागी प्रभु साह र किरण साहले स्वतन्त्र रूपमा जितेका थिए । संसद्मा कम्युनिस्ट शक्ति कुल सिटमा ४५.४५ प्रतिशत थियो ।
- ०८२ को निर्वाचनमा १५.२७ प्रतिशत ल्याएका कम्युनिस्ट पार्टीले ०४८ पछिकै कम ४२ सिट मात्र जिते । विश्लेषकहरूले कम्युनिस्टहरूको जितलाई अहिलेसम्मकै निराशाजनक रूपमा चित्रित गर्ने गरेका छन् । एमालेले प्रत्यक्षमा नौ र समानुपातिकमा १६ सहित २५ र नेकपाले प्रत्यक्षमा आठ र समानुपातिकमा नौसहित १७ सिट जितेका छन् । नेमकिपासहित अन्य कम्युनिस्ट पार्टीको उपस्थिति शून्य बनेको छ ।