कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले कर्णालीका दुई पालिका जोड्ने सडक राष्ट्रिय प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको बैठकले कालीकोटको महाबै गाउँपालिका–कालीकोट केन्द्र जोड्ने सडक र जाजरकोट जिल्लाको वडावन सानाखोला सडकलाई राष्ट्रिय प्राथमिकतामा राख्ने निर्णय गरेको हो । महाबै गाउँपालिका–कालीकोटको केन्द्र जोड्ने सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
त्यस्तै, जाजरकोट जिल्लाको वडावन–सानाखोला सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।
कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णयसमेत कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले गरेको छ ।