सिराहा कारागारमा पुनः विवाद सिर्जना भएको छ।कारागारभित्र आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा २२ जना कैदीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता रमेशबहादुर पालले दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई जबर्जस्ती बाहिर निकाल्दै केही कैदीले आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेको बताए।
उक्त घटनापछि सम्भावित थप झडप र असुरक्षा सिर्जना हुन सक्ने भन्दै २२ जना कैदीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी पालले बताए। उनका अनुसार नियन्त्रणमा लिइएका कैदीहरूबारे आवश्यक कानुनी प्रक्रिया र प्रशासनिक निर्णय सम्बन्धित निकायको निर्देशनअनुसार अघि बढाइनेछ।
सिराहा कारागारमा यसअघि पनि पटक–पटक विवाद, कुटपिट तथा आन्तरिक झडपका घटना हुँदै आएका छन्। कैदीबिचको गुटबन्दी, व्यवस्थापनमा कमजोरी र कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीको मिलेमतोकै कारण बारम्बार तनाव उत्पन्न हुने गरेको छ।
यसअघि माघ २६ मा संयुक्त सुरक्षा निकायले कारागारभित्र सर्च गर्दा कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको थियो । सो कटुवा तात्कालिक चौकीदार भन्दै आन्तरिक प्रशासनमा बलियो पकड बनाएका इन्द्रजित यादवले राखेका थिए । सर्च अप्रेसनकै क्रममा सेनासहितको सुरक्षाकर्मीको संयुक्त टोलीले यादवसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अन्य कारागारमा सारिएको छ । इन्द्रजितलाई कारागारबाट नियन्त्रणमा लिएपछि कैदीबन्दीले दुई दिन विरोध प्रदर्शन गरेका थिए ।