आइपिएलमा कोलकाताको पहिलो जित

रिंकु सिंह र अनुकूल रोयले सातौँ विकेटका लागि ३७ बलमा ७६ रन जोडेपछि कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई चार विकेटले हरायो

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

कोलकाता नाइट राइडर्सले १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ । घरेलु मैदान इडेन गार्डेनमा आइतबार कोलकाताले उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्समाथि चार विकेटको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर १५५ रन जोडेको थियो । प्रत्युत्तरमा कोलकाताले १९.४ ओभरमा ६ विकेटको नोक्सानीमा १६१ रन बनाउँदै २ अंक जोड्यो । 

कोलकाताले लक्ष्य पछ्याएको इनिङ्समा कमजोर सुरुवात गरेको थियो । कोलकाता १३.३ ओभरमा ८५/६ को कमजोर अवस्थामा थियो । त्यस समयमा जितका लागि कोलकातालाई ३९ बलमा आवश्यक रन जोड्नुपर्ने थियो । क्रिजमा रिंकु सिंह र अनुकूल रोय थिए । दुवैले सातौँ विकेटका लागि ३७ बलमा ७६ रनको साझेदारी गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । 

रिंकुले ३४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ५३ रन बनाए । रिंकुले राजस्थानविरुद्ध विजयी छक्का प्रहार गरेका थिए । अनुकूलले १६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २९ रन बनाए । इनिङ्सको १९औँ ओभरमा रिंकुले ब्रिजेश शर्माविरुद्ध १४ रन प्रहार गरेका थिए ।

कोलकाताले सात खेलमा एक जित र पाँच हार सामना गरी ३ अंक जोडेको छ । कोलकाता नवौँ स्थानमा छ । हारले राजस्थान तेस्रो स्थानमा झरेको छ । राजस्थान लगातार दुई खेलमा पराजित भयो । यसअघि राजस्थानले लगातार चार खेलमा सानदार जित निकालेको थियो । राजस्थानले ६ खेलमा चार जित र दुई हार सामना गरी ८ अंक बनाएको छ । अंक तालिकामा मुम्बई इन्डियन्स २ अंकका साथ पुछारमा छ । रोयल च्यालेन्जर्स बेंग्लोरले ६ खेलमा चार जित र दुई हार निकाली ८ अंक बटुलेको छ । 

कमजोर सुरुवात तर उत्कृष्ट फिनिसिङ
कोलकाताले लक्ष्य पछ्याउँदा कमजोर सुरुवात गर्यो । इनिङ्सको १.२ ओभरमा दुई विकेट गुमाएर ५ रन मात्र जोडेको थियो । कोलकाताका दुवै ओपनर टिम सेफर्ट र अजिंका रहाने डकआउट भए । आइपिएलकै महँगा खेलाडी कामरुन ग्रिनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरी २७ रन बनाए । रोभमान पावेलले २० बलमा २३ रन बनाए । कोलकाताले १०.१ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको थियो । बलिङमा राजस्थानका लागि जोफ्रा आर्चरले ३५ रनमा एक विकेट लिएका थिए । रवीन्द्र जडेजाले तीन ओभरमा आठ रन दिएर सर्वाधिक दुई विकेट हात पारे । 

ओपनिङमा जमेका सूर्यवंशी र जैसवाल
राजस्थानको एक खेलबाहेक ओपनर जोडीले उत्कृष्ट सुरुवात दिलाएका छन् । यशस्वी जसैवाल र वैभव सूर्यवंशीले पुनः एकपटक राजस्थानलाई दमदार सुरुवात दिलाए । उनीहरूले कोलकाताविरुद्ध ८.४ ओभरमा ८१ रनको साझेदारी गरे । सूर्यवंशी अर्धशतक बनाउन ४ रनले चुके । उनले २८ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ४६ रन बनाए । जैसवालले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरी ३९ रन जोडे ।

यी दुवै ओपनर आउट भएपछि राजस्थानको मध्यक्रम कमजोर भयो । कप्तान रायन परागले १४ बलमा १२ तथा सिमरन हेटमेयरले १८ बलमा १५ रन बनाए । बलिङमा कार्तिक त्यागीले २२ रनमा तीन विकेट लिए । वरुण चक्रबर्थीले कसिलो बलिङ गरी १४ रन दिएर तीन विकेट हात पारे । सुनील नारिनले चार ओभरमा २६ रन दिएर दुई विकेट लिए । 

सुझावित समाचार