जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारको निर्णय उल्टाउँदै आइबार बिदा नगर्ने निर्णय गरेको छ। सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि पठनपाठनमा असर पर्ने भन्दै सामुदायिक विद्यालयका हकमा आइतबार बिदा नगर्ने निर्णय गरेको हो।
आइतबार बसेको कनकासुन्दरी गाउँपालिकाको कार्यपालिका बैठकले विद्यालयहरूमा आइतबार बिदा नगर्ने र ७ वैशाखदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाले बताइन्।
यहाँका ८ स्थानीय तहमध्ये संघीय सरकारको निर्देशन र निर्णय उल्ट्याएर निर्णय गर्ने कनकासुन्दरी पहिलो पालिका हो। स्थानीय सरकारको स्वायत्त अधिकार कनकासुन्दरी गाउँपालिका जुम्लाले प्रयोग गरेको छ।
साथै, सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियान र पठनपाठन वैशाख १५ गतेपछि मात्र सुचारु गर्न निर्देशन दिएको थियाे। तर, कनकासुन्दरीले उक्त निर्णयलाई पनि उल्ट्याउँदै वैशाख ७ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्ने सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विव्यसलाई परिपत्र गरेकाे छ। संघीय सरकारको आइतबार पनि बिदा गर्ने र वैशाख १५ देखि २१ सम्म भर्ना अभियान सञ्चालन गर्ने निर्णयले पठपाठन प्रभावित हुने ठहर गर्दै स्थानीय तहअनुकूलको निर्णय गरेको हाे।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक शत्र २०८३ मा विद्यार्थी भर्ना अभियान वैशाख १५ देखि र वैशाख २१ गतेबाट नियमित पठनपाठन गराउने तथा शैक्षिक संस्थाहरूमा आइतबार पनि सार्वजनिक बिदा दिने परिपत्र गरेकाे थियो।
उक्त निर्णयले हिमाली जिल्लाअन्तर्गत जुम्ला जिल्लाका सामुदायिक विद्यालयहरू पुस महिनाको १५ दिन र माघ महिनाको ३० दिन गरी जम्मा ४५ दिन (मिन पचास) बिदा हुने भएकाले तोकिएको पाठ्य घण्टा र पाठ्यक्रमअनुसारको पठनपाठन पूरा नहुने देखिन्छ। तसर्थ, कनकासुन्दरीले विद्यालर्थीहरूको सिकाइ उपलब्धिलाई मध्यनजर गर्दै कनकासुन्दरी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकको मिति वैशाख ६ गतेको निर्णयानुसार वैशाख ७ गतेदेखि विद्यालयमा नियमित पठनपाठन गरी आइतबार पनि विद्यालय निरन्तर कक्षा सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण प्रधानाध्यापक शिक्षक विद्यार्थी, अभिभावक तथा शैक्षिक सरोकारवाला निकायलाई सूचित गरेकाे हाे ।
