दुई वर्षमा झन्डै चार क्विन्टल थाई गाँजा बरामद, अन्तिम गन्तव्य भारत

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

थाइल्यान्डको गाँजा नेपालमा तस्करी

फ्लाई दुबईको उडानबाट गत २८ चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका भारतीय नागरिक मोहसिन सलाउद्दिन खानको गतिविधि प्रहरीलाई शंकास्पद लाग्यो । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीमाथि निगरानी बढायो, तर तत्काल पक्राउ गरेन । सलाउद्दिन विमानस्थलबाट बाहिरिए । सरासर सिनामंगलस्थित होटेल पुगे । पछ्याउँदै प्रहरी पनि होटेल प्रवेश गर्यो । उनलाई पर्खिरहेका अर्का भारतीय नागरिक मोहम्मद राहिल मोहम्मद ताहिर गंगु पनि सोही होटेलमा भेटिए ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लियो । उनीहरू बस्ने कोठा खानतलासी गर्दा झोलामा सात किलो गाँजा भेटियो । सोधपुछपछि खुल्यो– बरामद गाँजा थाइल्यान्डबाट ल्याइएको रहेछ । सलाउद्दिनले उक्त गाँजा बैंककबाट दुबई हुँदै नेपाल भित्र्याएका थिए । 

३० असार ०८२ को ठिक ३ः३० बजे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डको बैंककबाट आएको एयर एसियाको विमान अवतरण गर्यो । विमानबाट भारतीय नागरिक लेइयावन फुङ्थर पनि उत्रिइन् । लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको नजर उनको गतिविधिमा पर्यो । शंकास्पद देखिएपछि प्रहरीले उनलाई पछ्यायो । विमानस्थलबाट बाहिरिएपछि पक्राउ गरी खानतलासी गर्दा झोलामा पाँच किलो गाँजा भेटियो । सोधपुछपछि खुल्यो, उनले उक्त गाँजा थाइल्यान्डबाट ल्याएकी थिइन् । 

श्रीलंकाको कोलम्बो हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको श्रीलंकन एयरलाइन्सको जहाजबाट भारतीय नागरिक कपिल भारद्वाज ओर्लिए । उनको पनि गतिविधि शंकास्पद देखिएपछि प्रहरीले पिछा गर्यो । विमानस्थलबाहिर पक्राउ गरेर खानतलासी गर्दा उनको साथमा १८ किलो गाँजा र २.६५ किलो कोकिन फेला पर्यो ।

सोधपुछपछि खुल्यो, उनले बरामद गाँजा थाइल्यान्डबाट ल्याएका थिए । प्रहरीले अनुसन्धानलाई अझ बृहत् बनाउने क्रममा उक्त घटनाको डेढ महिनापछि लैनचौरस्थित होटेलबाट अर्का भारतीय नागरिक अमृतसिंह सिन्धु पनि पक्राउ परे । अनुसन्धानपछि खुल्यो, थाइल्यान्डमा उत्पादन भएको गाँजा नेपाल भित्र्याउने धन्दाका एक ‘मास्टर माइन्ड’ उनी नै रहेछन् । 

थाइल्यान्डमा उत्पादित गाँजा नेपाल तस्करी हुँदै आएको तथ्य बताउने यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्ला वर्ष थाइल्यान्डबाट ठुलो परिमाणमा गाँजा नेपाल भित्रिएको देखिन्छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार दुई वर्षमा थाइल्यान्डबाट नेपाल भित्रिएको ३८९.७१ किलो गाँजा बरामद भएको छ । यी घटनामा ११७ अभियुक्त पक्राउ परेका छन् । जसमध्ये ८३ अभियुक्त भारतीय नागरिक छन्, जुन कुल पक्राउको ७०.९४ प्रतिशत हो । पक्राउ पर्नेमा १२ नेपाली, थाई र श्रीलंकन तीन–तीन तथा मलेसियका एक रहेको प्रहरीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख कृृष्ण कोइरालाले पछिल्ला वर्ष थाइल्यान्डमा उत्पादन भएको गाँजा नेपाल भित्रिने गरेको बताए । अधिकांश घटनामा भारतीय नागरिक संलग्न हुने गरेको उनको भनाइ छ । ‘पछिल्ला वर्ष थाइल्यान्डमा उत्पादन भएको गाँजा नेपाल भित्रिने गरेको छ । दुई वर्षमा मात्रै झन्डै चार क्विन्टल बरामद गरेका छौँ । तस्करीमा संलग्न अधिकांश भारतीय देखिन्छन्,’ उनले भने । 

प्रहरीका अनुसार थाइल्यान्डमा उत्पादित गाँजा नेपाल खतप हुने उद्देश्यले तस्करी गरिएको देखिँदैन । यसको अन्तिम गन्तव्य भारत हो । थाई गाँजामा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) र सिडिबी (क्यानाबिडोन) नामको केमिकल अत्यधिक हुन्छ । हाइब्रिड गरिएको गाँजामा यस्ता केमिकल धेरै हुने प्रहरीको भनाइ छ । त्यसैले भारतमा यस्तो गाँजाको माग धेरै छ । सोही मागलाई पूर्ति गर्न तस्करले उक्त गाँजा नेपाल हुँदै भारत लैजाने गरेका हुन् । 

See More On

सुझावित समाचार