राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ७०० बढी प्रसूति तथा स्त्री रोग विशेषज्ञहरु काठमाडौंमा भेला भएका छन् । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)को १८औँ राष्ट्रिय सम्मेलनको लागि प्रसूती तथा स्त्री रोग विशेषज्ञहरु काठमाडौँमा भेला भएका हुन्।
यहि समयमा दक्षिण एसियाली प्रसूति तथा स्त्री रोग विशेषज्ञ महासंघ (साफोग)को १५औँ सम्मेलन पनि जारी छ । साफोगनेसोगकन २०२६ नाम दिइएको यो संयुक्त सम्मेलनको नारा दक्षिण एसियामा महिला स्वास्थ्यको उन्नतीः गुणस्तर नविनता र दीगोपना राखिएको छ ।
सम्मेलन अन्तर्गतका कतिपय सेसनहरु बिहीबारबाट सुरु भए पनि औपचारिक शुभारम्भ भने शुक्रबार बेलुका गरिएको छ । भव्य समारोहकाबीच नेपाल सरकारकी पूर्वस्वास्थ्यमन्त्री डा. सुधा शर्माले साफोगनेसोगकन २०२६ को औपचारिक उद्घाटन गरिन् । सो अवसरमा उनले सम्मेलनबाट आएका निष्कर्षहरुले महिलाको स्वास्थ्य उपचार, गुणस्तर नविनता, दीगोपना तथा अनुसन्धानमा थप योगदान दिने उल्लेख गरिन् ।
त्यसअघि आयोजकका तर्फबाट नेसोगका अध्यक्ष प्राडा पदमराज पन्तले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विशेषज्ञहरुलाई स्वागत गर्दै प्रसूति तथा स्त्री रोगबारे विभिन्न देशमा गरिएका नविन खोज अनुसन्धान तथा उपचारले ज्ञानको दायरालाई फराकिलो पार्ने बताए । उनले वैज्ञानिक सत्रमा प्रस्तुत हुने रिपोर्टहरुले विशेषज्ञहरुको ज्ञानलाई अझ फराकिलो बनाउने भन्दै सक्रिय सहभागी भएकोमा धन्यवाद दिए ।
नेसोगका प्रेसिडेन्ट इलेक्ट डा धनबहादुर राना मगरले सम्मेलनको मुख्य उद्देश्य नेपाल सहित विभिन्न देशमा भइरहेका उपचार पद्धती अध्ययन अनुसन्धानका निष्कर्षहरुलाई साझा गर्ने तथा समस्याहरुको निराकरण गर्ने उपाय खोज्ने रहेको बताए । 'सम्मेलनमा १०० बढी विदेशी र ६०० बढी नेपालीको सहभागिता छ । यो त प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको लागि महाकुम्भ नै भने पनि हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातीप्राप्त प्रोफेसर, विशेषज्ञहरुको सहभागिता रहेको छ,' सम्मेलनबारे जानकारी दिँदै डा. रानाले भने ।
उनले तीन दिने सम्मेलनको मुख्य सेसन अघि नै ६ वटा प्रि कंग्रेस वर्कसप भएको र पछि छ वटा पोष्ट कंग्रेस वर्कसप हुने बताए । यसमा ठूला ठूला तालीमहरु पनि दिईदैछ । तीनवटा प्रेष्टिजियस ओरेसस प्रदान गरिँदैछ । सम्मेलनमा २०० वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत हुनेछ ।
सम्मेलन शनिबार बेलुका सम्पन्न हुँदै छ । तर पोष्ट कंग्रेसअझै दुई दिनसम्म चल्ने छ । यसैबीच दक्षिण एसियाली प्रसूति तथा स्त्री रोग विशेषज्ञ महासंघ (साफोग)को अध्यक्ष शुक्रबारबाट नेपालकी डा. कुसुम थापा बनेकी छिन् । शुक्रबार उद्घाटन समारोहकैबिच साफोगका अध्यक्ष प्राडा श्याम देसाईले प्रेसिडेन्ट इलेक्ट डा थापालाई कार्यभार हस्तान्तरण गरे ।