बाजुरा जिल्लाका नौवटै स्थानीय तह लोप हुँदै गएको पञ्चेबाजा र हुड्केली पेसाको संरक्षण गर्ने अभियानमा छन् । जगन्नाथ, खप्ड्छेडे दह, गौमुल, स्वामीकार्तिक हिमाली गाउँपालिका र बडिमालिका, त्रिवेणी, बुढीनन्दा र बुढीगंगा नगरपालिकाले आफ्नो मौलिक संस्कृति, पहिचान र परम्परालाई संरक्षण गर्ने उद्देश्यले पालिकाभित्र रहेका एक सयभन्दा बढी पञ्चेबाजा तथा हुड्केलीका लागि दौरा सेट, केही दमहा र झ्यालीहरू वितरण गरेका छन् ।
आफ्नो मौलिक संस्कृति र मौलिक वाद्यवादन लोप हुँदै गएपछि त्यसलाई संरक्षण गर्न पालिकाहरूले यो कदम चालेको हो । पालिकाको संस्कृति र दिगो विकासप्रतिको प्रतिबद्धताको ज्वलन्त उदाहरणका रूपमा विज्ञहरूले यसलाई लिएका छन् । आधुनिक प्रविधिको विस्तार, जीवनशैलीमा आएको तीव्र परिवर्तन र पश्चिमी प्रभावका कारण आजको पुस्ताले आफ्नो मौलिक पहिचान र परम्परालाई बिर्संदै गएको अवस्थामा जगन्नाथ गाउँपालिकाले पुरानो संस्कृति संरक्षणका लागि दौरा सेटजस्ता अन्य बाजा वितरण गरेको हुँदा आफूहरू निकै खुसी भएको बताउँछन्, पञ्चेबाजा बजाउने स्थानीयवासी रंगमल परियार । उनीसहित गाउँपालिकाका विभिन्न वडामा सक्रिय रूपमा पञ्चेबाजा बजाउने ९१ जना स्थानीय कलाकारलाई परम्परागत नेपाली पोसाक दौरासुरुवाल वितरण गरिएको छ । सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने र जीवित बनाइराख्ने उद्देश्यले जगन्नाथ गाउँपालिकाले दोस्रो गाउँसभा तथा १६औँ अधिवेशनबाट स्थानीयस्तरलाई झल्काउने कला, संस्कृति संरक्षण गर्ने नीति लिएको छ । पालिकाको प्रमुख सांस्कृतिक पहिचान हुड्केली र पञ्चेबाजा हो । मौलिक पहिचान झल्किने संस्कृतिको जगेर्ना गर्न पालिकाले गत आर्थिक वर्षमै नीति कार्यक्रम र बजेट व्यवस्था गरेको थियो ।
लोप हुन लागेको संस्कृति र पहिचानलाई फेरि जीवित पार्ने उद्देश्यसहित पालिकाले नीतिगत निर्णय गरेको अध्यक्ष कालीबहादुर शाहीले बताए । पालिकामा बसोवास गर्ने विशेषगरी दलित समुदायले संरक्षण गर्दै आएको यो संस्कृति सबैको साझा र मौलिक सम्पत्ति हो । ब्रतबन्ध, विवाह, भोजभतेरदेखि सबै संस्कारमा पञ्चेबाजा र हुड्केली जगन्नाथ गाउँपालिकाको प्रमुख सांस्कृतिक पहिचान हो । त्यसलाई संरक्षण गर्न गाउँपालिकाकै बजेटबाट ९१ जनालाई पञ्चेबाजा र हुड्केलीका पोसाक वितरण गरिएको अध्यक्ष शाही बताउँछन् । पुरानो संस्कृति लोप हुन अवस्था आयो, नयाँ पुस्ताले त्योबारे ज्ञान नै नपाउने र सिंगो पालिकाको परम्परागत पहिचान नै हराउने अवस्था आएपछि, जगेर्नाका लागि सुरुवात गरिएको अध्यक्ष शाहीले बताए ।
पाँचवटा मुख्य परम्परागत बाजाहरूको (नगारा, नर्सिंगा, धिमे, दमाहा, सानो र ठुलो सहनाई) समूहलाई पञ्चेबाजा भनिन्छ । यी पञ्चेबाजा पर्व, उत्सव र संस्कारमा बजाउने गरिन्छ । हिन्दु र बौद्ध संस्कारमा पञ्चेबाजाको धुनलाई शुभसंकेत मानिन्छ । देवतालाई खुसी पार्ने र वातावरण शुद्ध र पवित्र बनाउन यस पञ्चेबाजाको प्रयोग गरिन्छ । समुदायमा हुने पर्व, विवाह ब्रतबन्ध मृत्यु देवता पूजा र गाउँमा विशिष्ट मान्छेको आगमन हुँदा यस पञ्चेबाजा बजाएर सम्मान जनाउने चलन गाउँमा रहेको गाउँपालिका अध्यक्ष शाही बताउँछन् ।
पालिकाले यस कार्यक्रममार्फत देखाएको नेतृत्वदायी भूमिकालाई स्थानीयले खुसी व्यक्त गरेका छन् । दौरा–सुरुवाल केवल लुगाको टुक्रा नभई एउटा सांस्कृतिक गहना बनेको छ, जसले कला र कलाकार दुवैलाई सम्मान दिने माध्यम बनिरहेको छ ।
आजको दिनमा जहाँ अधिकांश स्थानमा आधुनिक पोसाक र प्रविधिको पछाडि दौडिरहेको समाजले आफ्नो मौलिकता गुमाउने खतरामा छ । त्यस्तो समयमा जगन्नाथ गाउँपालिकाको यो प्रयास एउटा प्रेरणाको स्रोत बनेको छ । यो कार्यक्रमले केवल ९१ जना कलाकारलाई पहिरन दिएन, यसले एउटा सन्देश दियो । पालिकाले मौलिकता जोगाउने प्रयास गरेको देख्दा खुसी लागेको बताउँछन्, श्री सरस्वती माविका प्राचार्य विष्णु विष्ट । उनी भन्छन्, ‘प्राचीनकालमा राजा महाराजहरूको परिवारको सम्मान र विजय देखाउन पञ्चेबाजाको प्रयोग गर्ने गरेका थिए । अहिले यो चलन सामान्य जनमानसमा फैलिएको छ । लोप हुन लागेको पञ्चेबाजालाई स्थानीय, प्रदेश र संघ सरकारले नै संरक्षण गर्नु जरुरी छ ।’
लोप हुन लागेको कला, संस्कृति र परम्परागत संस्कारलाई अन्य पालिकाले पनि संरक्षण गर्नुपर्ने प्राचार्य विष्ट बताउँछन् । पञ्चेबाजा नेपाली सांस्कृतिक सम्पदाको जीवित प्रतीक हो, पछिल्लो समय यो लोप हुने खतरा भएको हुँदा आफू निकै चिन्तित भएको प्राचार्य विष्ट बताउँछन् ।
के हो हुड्केली नाच ?
हुड्केली नाच सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत पहाडी भेगमा परम्परागत रूपमा नाचिने नाच हो । यो नाच पञ्चेबाजासँगै नाचिन्छ । यस नाचमा कला, प्रेमसँगै हास्यको पनि मिश्रण हुन्छ । सामाजिक जीवनमा गहिरो सम्बन्ध कायम राख्ने यो एक संस्कृति पनि हो । हुड्केली नाच पुर्ख्यौली पेसाका रूपमा पनि रहेको छ । बाजेदेखि बुबा हुँदै आफू पनि हुड्केली नाच्दै आएको बताउँछन् ५० वर्षीय रञ्जित परियार । उनी भन्छन्, ‘दोहोरी गीतहरू गाउँदै–नाच्दै समाजलाई मनोरञ्जन दिइन्छ । यसमा व्यंग्य पनि हुन्छ । मादल, सारंगी, ढोल, बाँसुरी बाजाको साथमा पनि नाच्दा हेर्न आउनेहरूको बाक्लो भिड हुन्छ ।’