- कला र राजनीति सँगसँगै अघि बढ्दा पुरानो दृष्टिकोणभन्दा फरक र संवेदनशीलता बुझ्ने नेतृत्व आवश्यक पर्छ
नेपालजस्तो भू–राजनीतिक संवेदनशीलता भएको देशमा कला राजनीति र कूटनीतिभन्दा बाहिर जानै सक्दैन । कलालाई यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । हाम्रो गीत, संगीत, साहित्य, चलचित्र, नाटकको इतिहासलाई केलाउने हो भने पनि यो स्पष्ट हुन्छ ।
०४६ को जनआन्दोलनपछि नेपाली समाजमा कला र संस्कृतिको चेतनामा विस्तार भयो । तर, नेपालको राजनीतिले विभिन्न क्षेत्रहरूलाई बारम्बार एउटै परम्परागत ढाँचामा घुमाएर स्रोत, संरचना र सोच सबैलाई एउटै घेराभित्र राखेको छ । नेपालमा पुरानै शैली दोहोरिनु भनेको राजनीतिक चेतनामा पर्याप्त परिवर्तन नआएको संकेत हो । पुरानै सोचबाट आएका नेतृत्वहरूले नयाँ दिशा दिन कठिन हुन्छ । हामी अझै पनि परम्परागत राजनीतिक संरचना र सोचबाट प्रभावित छौँ, र त्यसबाट मुक्त हुन संघर्ष गरिरहेका छौँ । यसले गर्दा हरेक तह र वर्गले आफ्नो क्षेत्रमा संघर्ष गर्नुपरेको अवस्था छ । र, यसको प्रभाव कला क्षेत्रमा पनि स्पष्ट रूपमा देखिन्छ ।
इतिहासका हरेक कालखण्डमा राजनीतिले कला–सहित्यलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्यो, तर अहिले नेपालमा त्यो ठिक उल्टो भयो । कलाकारले राजनीतिलाई नै प्रयोग गरिदिए । त्यसैले नेपालको कला, साहित्य, नाटक, संगीत, सिनेमा क्षेत्र नेपाली राजनीतिको केन्द्रविन्दुमा छ ।
पछिल्लो ३०–४० वर्षमा विश्वमा धेरै क्षेत्रमा परिवर्तन भइसकेको छ । तर, हाम्रो संरचनागत सोच र काम गर्ने तरिका धेरै हदसम्म पुरानै छ । वास्तवमा, सिर्जनशीलता केवल कला क्षेत्रमा मात्र सीमित हुँदैन– राजनीति, पत्रकारिता, विज्ञान, दैनिक जीवन सबैमा यसको भूमिका हुन्छ । नयाँ सोच, नवप्रवर्तन र सिर्जनात्मक दृष्टिकोणले मात्र समाजलाई अगाडि बढाउन सक्छ । तर, हामी अझै पनि धेरै हदसम्म पुरानै ढर्रा र सोचमा अड्किएका छौँ ।
कला र समाजको अन्तरसम्बन्ध
कलाकारले देश, समाज, भूगोल, राजनीति र कूटनीति नबुझी कलाकारिता गर्नु भनेको एउटा भान्सेले के पकाउँदै छु भन्ने थाहा नपाई खाना बनाएजस्तो हो । यी विषय नबुझी बनाइएको कला संवेदनशील हुँदैन, त्यसमा परिपक्वता पनि आउँदैन, मनोरञ्जनबाहेक । त्यस्तो कलाले समाजलाई विकासतर्फ लैजान सक्दैन र यसले समाजको वास्तविकता प्रस्तुत गर्न पनि सक्दैन । अहिले सामाजिक सञ्जालको आक्रामक विस्तार र विकाससँगै सस्तो र असंवेदनशील कुराहरूले समाजमा प्रभुत्व जमाएको छ । यो पनि हामी दौडिनुपर्ने वेला हिँड्नु र हिँड्नुपर्ने वेला सुत्नुको परिणाम हो ।
हाम्रो समाज र राजनीति दुवै समयभन्दा पछि परिरहेका छन् । हामी समयको घडी र समाजको घडीभन्दा पछाडि चलिरहेका छौँ । अहिलेका नयाँ पुस्ता भने समय र समाजको चालसँगै अघि बढ्न खोजिरहेका छन् । यही अन्तर र द्वन्द्वका कारण राजनीतिमा उथलपुथल देखिएको छ, जसको प्रभाव कला क्षेत्रमा पनि पर्नु स्वाभाविक हो । अहिलेको समयमा पुरानाको अनुभव र नयाँको ऊर्जाको संयोजन नै देशको निकास हो । जसरी नेपाली राजनीति, कला, साहित्यका पुरानाले नयाँलाई किनाराकृत गर्ने काम गरे अब नयाँले पुरानाहरूलाई अभिभावकत्वसहित जोडेर लैजानुपर्छ ।
जसरी भूराजनीति र कूटनीति संवेदनशील रूपमा समाजसँग जोडिएका हुन्छन्, त्यसरी नै कला पनि जोडिनुपर्छ । अहिले हाम्रो समाज यी विभिन्न शक्तिहरूबिचको द्वन्द्वबाट गुज्रिरहेको छ र यो अवस्था लामो समयदेखि चल्दै आएको छ । हामीले समयअनुसार आफ्ना सोच, संरचना र अभ्यासलाई पुनः परिभाषित गर्न सकेनौँ । परिवर्तनलाई अपनाउन सकेनौँ । त्यसैले आज पनि हामी पुरानै ढाँचामा अल्झिएका छौँ । हाम्रो राजनीतिक विरोध गर्ने शैली आज पनि उस्तै छ । यसले के देखाउँछ भने हामी अझै पनि त्यही पुरानो सोच र अभ्यासको प्रतिबिम्ब हौँ । त्यसैले अब हामीले हरेक कुरालाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता छ । इतिहास, परराष्ट्र नीति, पुराना सन्धि, सम्झौता, प्रक्रिया, राजनीतिक दर्शन र प्रयोग भइरहेका जार्गनहरूलाई पनि स्पष्ट रूपमा पुनः व्याख्या गर्नुपर्छ ।
विश्व इतिहास र मानव सभ्यताको विकास प्रक्रिया हेर्ने हो भने हरेक देश सामन्तवादबाट पुँजीवाद र पुँजीवादबाट साम्राज्यवादतिर अगाडि बढेको देखिन्छ । अहिलेको विश्व माथि उल्लेखित एउटा ‘कक्टेल भर्सन’ हो, यहाँ सबै विद्यमान छन् । यो ‘कक्टेल भर्सन’को सबैभन्दा मुख्य चरित्र भनेको अल्पज्ञान, ढोंगीपन र अराजकता नै हो र यसबाट नेपाल र नेपाली अछुतो छैन । नेपालका हरेक क्षेत्र यसबाट प्रभावित छ, कला, साहित्य, संगीत, नाटक, चलचित्र र बौद्धिकजस्तो देखिने बुद्धिजीवी वर्गहरू । यस्तो समाजमा बिचौलिया निर्णायक हुन्छन् ।
कला क्षेत्रमा संघर्ष
राजनीतिक र सामाजिक क्षेत्रमा भइरहेको उथलपुथलले सबैतिर प्रभाव पारिरहेको छ । कला यस्तो क्षेत्र हो, जहाँ संकट पर्दा सबैभन्दा पहिले असर पर्छ र परिवर्तनको अभिव्यक्ति पनि अन्तिम रूपमा त्यहीँ देखिन्छ । त्यसैले नेपाली नाटक, सिनेमा, संगीत र समग्र कला क्षेत्र बारम्बार संघर्षबाट गुज्रिरहेका छन् । रंगमञ्चमा बहस उठिरहेको छ, के हाम्रो नाटक नेपाली नाटकजस्तो छ ? जुन देशमा १,४७,१८१ वर्गकिलोमिटरभित्र १२४ भाषा बोल्ने १४२ जनजाति छन्, त्यस देशको कला–सहित्यमा एकरूपता कसरी हुन्छ ? अर्को कुरा कला व्यक्तिव, अनुभव र व्यक्तिको गहिराइ, बुझाइ र चेतनाको स्तरले पनि निर्धारण गर्छ । विविधता नै हाम्रो सम्पत्ति हो, हाम्रो शक्ति हो, एकरूपता होइन । अहिले नेपाल एउटा समयबाट अर्को समयमा प्रवेश गर्दै छ, अब हामीले हरेक कुरालाई पुनः परिभाषित गर्नु र परिमार्जन गर्नु जरुरी छ । नेपालको सिनेमा, नाटक र संगीत क्षेत्र समय र समाजको विकासको तुलनामा अझै पनि पछाडि परेको देखिन्छ, तर पनि राजनीतिभन्दा अघि छ र आशावादी छ ।
संरचनागत रूपान्तरण
इतिहास, परराष्ट्र नीति, राजनीतिक दर्शन र सामाजिक न्यायका मुद्दालाई नयाँ ढंगले पुनर्भाषित गर्नु आवश्यक छ । हामीले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित राख्नुहुँदैन । समृद्धि र विकासको अवधारणालाई पनि व्यापक र समावेशी रूपमा पुनर्विचार गर्नुपर्छ । पछिल्लो समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रजस्ता विभिन्न प्रणाली आए, नाम जे भए पनि यसको सार भनेको नागरिक स्वतन्त्रता हो । प्रत्येक नागरिकले स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ । र, समाजका किनारामा रहेका सबै व्यक्तिले समान अधिकार पाउनुपर्छ । विकास समावेशी हुनुपर्छ भन्ने मूल भावना हो ।
संगीत, नाटक र सिनेमाको स्तर बढाउन संघ–संस्थाको आवश्यकता र भूमिका हुनुपर्छ । नेपालको सिनेमा, नाटक र संगीतमा केही आधारभूत प्रश्नहरू उठाउन आवश्यक देखिन्छ । नेपालमा ‘राष्ट्रिय नाचघर’ भन्ने एउटा संस्था छ, तर यसले समाजमा वास्तवमा के योगदान गरिरहेको छ भन्ने कुरा स्पष्ट रूपमा देखिँदैन । संगीत नाट्य एकेडेमीसँग हल छैन, नाचघरसँग आफ्नो हल छ, तर यसको काम देखिँदैन । यी दुवै संस्था यसरी नै रहने हो भने यी दुईलाई गाभिदिए राज्यको स्रोत जोगिन्छ । सांस्कृतिक संस्थान (नाचघर), प्रज्ञा प्रतिष्ठान पञ्चायतकालकै संरचना हुन् । लोकतन्त्र आएपछि हामीले कला क्षेत्रका नयाँ संरचना केही बनाएनौँ । यी संस्थान केवल राजनीतिक कार्यकर्ता भर्ती गर्ने थलो बनिरहे ।
राष्ट्रिय नाचघर र प्रज्ञा–प्रतिष्ठानजस्ता ठुला सांस्कृतिक संस्थाहरू पञ्चायतकालमै स्थापना भएका थिए । तर, प्रजातन्त्र र लोकतन्त्र स्थापना भएपछि हामीले कला–संस्कृतिसँग नयाँ के उपलब्धि हासिल गर्यौँ ? के कुनै नयाँ थिएटर केन्द्र बने ? के अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक केन्द्र निर्माण भयो ? यस्ता पूर्वाधार विकास खासै देखिँदैनन् । यस्ता संस्था राजनीतिक पद र शक्तिको होडतर्फ बढी केन्द्रित भयो । विकासका नाममा बिचौलिया र भ्रष्टाचार मौलाउँदै गए, जसले समाजमा असन्तोष, अन्योल र अराजकता बढाएको छ ।
दीर्घकालीन नीतिको अभाव
चलचित्र विकास बोर्डले बक्स अफिस व्यवस्थापन केही हदसम्म सुधार गरेको देखिन्छ । तर, सिनेमाका लागि नीतिगत पहल गरेको कमै देखिन्छ । बोर्डले कलाकारका लागि पौडी खेल्न वा घोडचढी सिकाउने तालिमजस्ता कार्यक्रम ल्याएको देख्दा अनौठो लाग्छ । सरकारी निकायको काम यस्ता साना तालिम दिनु होइन, नीति निर्माण गर्नु हो र सर्जकलाई सहयोग पुर्याउनु हो । जसले फिल्म उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकोस् ।
सेन्सर बोर्ड लोकतान्त्रिक समाजमा अलोकतान्त्रिक संस्था हो । यसमा आउने व्यक्तिको चेतना र दृष्टिकोणले सम्पूर्ण निर्णयलाई प्रभाव पार्छ । त्यसैले सेन्सर बोर्ड रहनुहुँदैन, खारेज हुनु आवश्यक छ । यदि काम हुँदैन वा संस्थाहरू कुशलतापूर्वक सञ्चालन हुँदैनन् भने त्यसलाई पुनर्संरचना वा खारेज गर्नु उचित हुन्छ । यी पक्षहरूमा ध्यान दिन सकियो भने मात्र कला क्षेत्रले देश र समाजको विकासमा ठोस योगदान दिन सक्छ । सम्बन्धित संस्थाहरूले कलाकारलाई सहजीकरण र सहयोग गर्नुपर्छ । अनावश्यक सेन्सरसिप लगाउने, निरुत्साहित गर्ने वा दुःख दिने होइन । डिजिटल युगमा सेन्सर बोर्ड रहनु अलोकतान्त्रिक र भद्दा कुरा हो । यसलाई खारेज गरेर चलचित्रको वर्गीकरण गर्ने व्यवस्था गर्नुपर्छ । सर्जकको चेतनाको मापन एउटा बन्द कोठामा बसेका केही व्यक्तिहरूले गर्न मिल्दैन ।
अहिले अर्को बहस भनेको चलचित्र वा कला क्षेत्रलाई कुन मन्त्रालयअन्तर्गत राख्ने भन्ने छ । तर, योभन्दा महत्वपूर्ण कुरा त्यस्ता संस्था किन बनाइएका हुन् र तिनीहरूको उद्देश्य के हो भन्ने हो । नेपालमा धेरै संघ–संस्था छन्, तर तिनीहरूले वास्तवमा कति प्रभावकारी काम गरेका छन् भन्ने जटिल प्रश्न छ । नेपालको सिनेमा, नाटक र संगीत क्षेत्रका यी संस्थालाई कहाँ राख्ने वा कसरी संरचना बनाउने भन्ने मात्र होइन, तिनीहरूको कार्यनीति कस्तो हुने, कार्यान्वयन कसरी गर्ने, सहजीकरण कसरी गर्ने र विशेषज्ञ व्यक्तिहरूलाई कसरी समावेश गर्ने भन्ने हो ।
नेपालमा नाटक र चलचित्र व्यक्तिगत प्रयासबाट टिकिरहेको छ । राज्यका तर्फबाट प्रभावकारी सहयोग भएको अनुभव धेरैलाई छैन । राज्यले नाटक क्षेत्रको उत्थानका लागि विशेष भूमिका खेलेको अनुभूति मलाई छैन । बरु, विभिन्न व्यक्तिहरूले आफ्नै स्रोत–साधन र जीवनलाई समर्पण गरी कला क्षेत्रमा परिवर्तन ल्याएका छन् । समाजमा राजनीतिक र कूटनीतिक उद्देश्यले अक्सर आफ्नो शक्ति सुरक्षित गर्न, निर्वाचन जित्न वा व्यक्तिगत फाइदा लिन मात्र योजना बनाइन्छ । यसकारण देशको समग्र विकास र कला क्षेत्रमा संरचनागत विकास गर्नुमा राज्य पर्याप्त रूपमा केन्द्रित भएको देखिँदैन । कला र राजनीति सँगसँगै अघि बढ्दा पुरानो दृष्टिकोणभन्दा फरक र संवेदनशीलता बुझ्ने नेतृत्व आवश्यक पर्छ ।
राजनीतिक दृष्टिकोणमा कला
नेपाली कला क्षेत्रमा धेरै विषयलाई पुनः परिभाषित गर्न आवश्यक छ । हाम्रो वैदेशिक नीति पुनः परिभाषित हुनुपर्छ, सांस्कृतिक नीतिहरूलाई नयाँ दृष्टिकोणले हेर्नुपर्छ । संघ–संस्थाहरूले ‘राजनीति के हो ?’ भन्ने बुझाइलाई पनि पुनः परिभाषित गर्नुपर्छ । त्यस्तै, ‘कला के हो’, ‘थिएटर के हो’, ‘फिल्म के हो’ र ‘यसको उद्देश्य के हो’ भन्ने आधारभूत प्रश्नहरूलाई पनि पुनः परिभाषित गर्नु अत्यावश्यक छ । अहिलेको नेपाली समाज एक प्रकारको संक्रमणकालमा छ । जहाँ पुराना सोच र नयाँ दृष्टिकोणबिचको परिवर्तन तीव्र रूपमा भइरहेको छ । कुनै समय नाटक गर्दा एउटा निश्चित ढाँचा हुन्थ्यो– मधेशी र दलितलाई बेग्लै तरिकाले प्रस्तुत गर्ने, जनजातिलाई अर्कै तरिकाले, ब्राह्मणलाई छुट्टै तरिकाले । यदि त्यो ढाँचाअनुसार प्रस्तुत गरिएन भने ‘यसले नराम्रो अभिनय गर्यो या नराम्रो नाटक बनायो’ भन्ने धारणा बनाइन्थ्यो । अहिले त्यो प्रवृत्ति बिस्तारै बदलिँदै गएको छ, जुन सकारात्मक कुरा हो ।
नेपाली नाटक र चलचित्र क्षेत्रमा देखिएको सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको विविधता हो । पहिले एउटा निश्चित शैली मात्र नाटक, फिल्म वा साहित्य मानिन्थ्यो । तर, अहिले विभिन्न व्यक्तिले फरक–फरक शैली, विषय र दृष्टिकोणमा काम गर्न थालेका छन्, जहाँ विविधता देखापरेका छन् । यसलाई लोकतन्त्रको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा पनि लिन सकिन्छ । यस विविधताले दर्शक र समाजलाई नयाँ सम्भावना र दृष्टिकोणबारे सोच्ने अवसर दिएको छ ।
नेपालमा सीमान्तकृत समुदायको भावनालाई आधार बनाएर राजनीति गर्ने व्यक्तिको आफ्नै आचरण, संस्कृति र जीवनशैली आयातित र ढोंगी देखिन्छ । नेपालको मुख्य विरोधाभास पनि यही हो । जसले जे कुरा गरिरहेका छन्, उनीहरू आफैँ त्यसमा दृढ देखिँदैनन् । बारम्बार समुदायलाई धोका दिने प्रवृत्ति देखिएको छ । यसबाट कला क्षेत्र पनि अछुतो छैन । विशेषगरी नेपाली नाटक क्षेत्रमा पछिल्लो समय विविधता र फरकपन उल्लेखनीय रूपमा बढेको छ, जुन सकारात्मक संकेत हो । नाटकले कलाका हरेक क्षेत्रलाई समेटेर जोडेर अगाडि बढेको छ, यो अत्यन्त उदाहरणीय छ । कुनै समय नाटकघरको अभाव थियो, तर अहिले भने विभिन्न ठाउँमा, घरघरमा, चोकचोकमा नाटक मञ्चन भइरहेका छन् ।
आलोचनात्मक चेत
नेपाली कला र कलाकारिता केही हदसम्म समाजभन्दा अगाडि बढिरहेको देखिन्छ । समाजमा देखिएका विद्रोहको मुख्य कारण राजनीतिसँग जोडिएको छ । समाजमा देखिएको विद्रोहको मुख्य कारण राजनीतिक नेतृत्वको कमजोरी हो । राजनीतिक दलहरू आफैँमा नराम्रा होइनन् । अधिकांश दलका एजेन्डा राम्रो नै हुन्छन् । तर, व्यवहारमा केही भ्रष्ट, अराजक, विचारहीन र लोकप्रियतामुखी नेतृत्वका कारण समस्या सिर्जना भएको छ । यस्ता नेतृत्वको प्रभाव समाजका हरेक क्षेत्रमा देखिन्छ । विशेषगरी कला र संस्कृतिमा यसको प्रत्यक्ष प्रभाव देखा परेको छ ।
आज कलाकार मात्र होइन, समाजका अभियन्ता र बौद्धिक वर्ग पनि लोकप्रियतामुखी प्रवृत्तिमा फसिरहेका छन् । नेताहरू, कलाकारहरू, अभियन्ताहरू– सबैजना यसबाट प्रभावित छन् । हामी जसलाई ‘बौद्धिक वर्ग’ भन्छौँ, उनीहरू पनि वास्तविक अर्थमा स्वतन्त्र र गहिरो बौद्धिक अभ्यासमा आधारित नभई केवल जीविकोपार्जनका लागि सीमित बौद्धिक गतिविधिमा संलग्न देखिन्छन् ।
कलाकारले कुनै राजनीतिक पार्टीसँग आबद्ध हुनुहुन्न । कलाकारका रूपमा सधैँ प्रतिपक्षमा रहनुपर्छ । जुनसुकै सरकार आए पनि आफ्नो कलामार्फत आफूले बुझेको सत्य बोल्न जारी राख्नुपर्छ । हरेक कलाकारले आफ्नो स्वार्थका लागि मात्र होइन, देश र समाजको हितका लागि बोल्नुपर्छ, सायद त्यो आज विरोध होला, अस्वीकार्य होला, एक्लो महसुुुस होला ।
कला क्षेत्र समृद्ध बनाउन बहस हुन जरुरी छ । चलचित्र, नाटक वा संगीत कस्तो हुनुपर्छ भन्ने विषयमा समाजमा बहस चलिरहन्छ । तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने मेकरले आफ्नो काममा ‘लिड’ गर्नुपर्छ, अडियन्सले होइन । अडियन्सका दृष्टिकोण र पृष्ठभूमि फरक–फरक हुन्छन्, त्यसैले आफ्नो सिर्जनामा स्पष्ट उद्देश्य र जिम्मेवारी हुनु आवश्यक छ । हाम्रो सिर्जनामा ‘अडियन्स’लाई जोड्नु आवश्यक छ । तर यसको मतलब यो होइन कि जसले जे चाहन्छ, त्यही हामीले दिनुपर्छ ।
कला समाजको प्रभावकारी माध्यम हो । कला समाजको ऐना हो भनिन्छ, तर त्यो श्राद्धमा बिरालोलाई बाँधेको जस्तो सिद्धान्त हो । राम्रो कला समाजको ऐना हुनै सक्दैन, त्यसको प्रतिबिम्बित अनुभूति मात्र हुन सक्छ, तर कलाले त्यस्तो सिधा प्रतिबिम्ब दिँदैन । कलाको आफ्नै अभिव्यक्ति, सौन्दर्यशास्त्र र शैली हुन्छ, जुन प्रायः व्यक्तिगत र व्यक्तिनिष्ठ हुन्छ । राजनीतिले कलालाई प्रभाव पार्छ, पार्नुपर्छ पनि । कलाले पनि राजनीतिलाई प्रभाव पार्नुपर्छ, हस्तक्षेप गर्नुपर्छ । जब राजनीति र कलाबिच सक्रिय सम्बन्ध हुन्छ, तब मात्र कला प्रतिपक्षका रूपमा उभिन सक्छ । कला समाजलाई सोच्न, प्रश्न गर्न र दिशानिर्देश गर्ने माध्यम हो । राजनीति र समाज अहिले ‘भर्बल स्टन्ट’बाट ‘भिज्युअल स्टन्ट’तर्फ अघि बढिरहेको छ । कलाले यी दुवैलाई प्रश्न र खबरदारी गर्ने हिम्मत राख्नुपर्छ, एउटा चेतनशील नागरिकका रूपमा ।