हिजोआज नेपालमा ग्राफ्टिङ प्रविधि (कलमी) बाट बिरुवा रोप्ने चलन बढ्दो छ । कम क्षेत्रफल भएको जग्गामा कलमी प्रविधिबाट एउटै रुखमा धेरै थरीका फल फलाउन मिल्छ । कम्तीमा चार–पाँच प्रजातिका फलफूल फलाउन मिल्छ । सहरी क्षेत्रमा विभिन्न किसिमका फलफूलको कलमी बिरुवा उत्पादन, बिक्री–वितरण तथा रोप्ने चलन बढेको छ । घरमा जग्गाको क्षेत्रफल थोरै छ भने पनि विभिन्न थरीका बिरुवा रोप्न सकिन्छ ।
घरमा हरियाली देखाउन कलमी प्रविधिबाट बगैँचाको विकास गर्न सकिन्छ । बगैँचाले घरलाई सुन्दर मात्रै देखाउँदैन, ताजा फूलफूल पनि खान पाइन्छ । त्यहाँ कागती, सुन्तला, मुन्तला, जुनार, हलुवाबेत, जापानिज सुन्तला, जापानिज नास्पातीलगायत फलाउन सकिन्छ ।
कलमी किन ?
खासगरी छिटो फल्ने फलफूलका लागि कलमी गरिन्छ । बिउबाट उम्रेका फलफूलका बिरुवा फल्न वर्षौं लाग्छ । तर, कलमी गरेर सारिएको बिरुवा एक–दुई वर्षमै फल्छ । ठुला रुख हुने बिरुवा सानो क्षेत्रफल वा गमलामा भने हुर्काउन सकिँदैन । सुन्तला, मुन्तला, कागती र भोगटे एउटै बोटमा फलाउन मिल्छ ।
हाइब्रिट फलफूलका बिरुवामा धेरै फल लाग्छ, धेरै झागिँदैन पनि । साना बिरुवाले घरलाई आकर्षक त बनाउँछन् । किबी, स्ट्रबेरी, लिची पनि फलाउन सकिन्छ । यो बिरुवालाई हुर्काउन पनि सजिलो हुन्छ । आफ्नो रुचिअनुसार कस्ता बिरुवा रोप्ने । कति अग्लो बनाउने भन्ने आफैँले गर्ने हो । यसको उचाइ तपाईं आफैँले बनाउनुपर्छ ।
घरको छतमा गमलामा विभिन्न थरीका फलफूल फलाउन कलमी प्रविधि उपयुक्त रहेको ठुलो भर्याङस्थित मुस्कान नर्सरीका सञ्चालक महेन्द्र सुवेदीको पनि अनुभव छ । कलमी गरिएका विभिन्न जातका कागती र निबुवा गमलामै लटरम्म फलाउन सकिन्छ ।
सुन्तला १६ देखि १८ इन्चको गमलामा १० केजीसम्मको गमलामा फलाउन सकिन्छ । १६ देखि १८ इन्चको गमलामा अम्बा रोप्दा १५ केजीसम्म अम्बा फलाउन सकिन्छ । आरु, आरुबखडा, नास्पाती भने गमलामा पाँच–छ केजीसम्म मात्रै फलाउन सकिन्छ ।
कलमी गरिएका र हाइब्रिड जातका आँप, आरू, आरुबखडा, कागतीलगायत फलका बिरुवा पनि गमलामै रोपेर फलाउन सकिन्छ । एभोकाडो, अंगुरलगायत हाइब्रिड जातका कलमी गरिएका बिरुवा गमला र जमिनमै पनि सानो क्षेत्रफलमा फलाउन सकिन्छ ।