गोरु पाल्न छाडेका किसान इन्धनको मूल्यवृद्धिले चिन्तित

पेट्रोल–डिजेलको मूल्य अकासिएपछि ट्याक्टरमा निर्भर किसानलाई पुरानै शैलीतर्फ फर्किनुपर्ने बाध्यता

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । मूल्यवृद्धिको असर अन्य क्षेत्रमा जस्तै कृषिमा पनि पर्न थालेको छ । कृषिमा यान्त्रीकरण गर्दै गोरु पाल्न छाडेका किसान यतिवेला ठुलो समस्यामा परेका हुन् । डिजेलको मूल्य अकासिएसँगै ट्याक्टरमा निर्भर किसान फेरि पुरानै शैलीतर्फ फर्किन बाध्य हुनुपर्ने देखिएको छ ।

कटारी नगरपालिका– ११ का कृषक लोकबहादुर कटुवाल पाँच वर्षयता कृषिकर्मका लागि ट्याक्टर प्रयोग गर्दै आइरहेका छन् । ट्याक्टर प्रयोगले समय, श्रम र लागत घटाएको अनुभव सुनाउँदै आएका उनी अहिले भने चिन्तित छन् । ‘पहिला गोरु पाल्दा निकै दुःख हुन्थ्यो, ट्याक्टर आएपछि धेरै सहज भयो,’ उनले भने, ‘तर, अहिले डिजेलको मूल्य बढेर आकाश छोयो, बजारमा सहजै पाइँदैन पनि । अब खेती कसरी गर्ने भन्ने चिन्ता छ ।’

उदयपुरका अधिकांश किसानजस्तै लोकबहादुरले पनि गोरु पाल्ने परम्परा छाडेर यान्त्रिक प्रविधिमा निर्भरता बढाएका थिए । तर, अहिले इन्धनको मूल्य बढेपछि त्यो निर्णय महँगो साबित हुन थालेको छ । ‘अब त गोरु खोज्नुपर्ने अवस्था आयो,’ उनी भन्छन् ।

उदयपुरगढी गाउँपालिका– १ का कृषक मनोज खत्रीको गुनासो पनि उस्तै छ । असार नजिकिँदै जाँदा रोपाइँको तयारीमा रहेका उनी डिजेलको मूल्यले झन् तनावमा छन् । ‘गाउँमा धेरैले गोरु पाल्न छाडिसके,’ उनले भने, ‘मेरो घरमा एक हल गोरु छन्, तर काम गर्न सक्दैनन् । ट्याक्टरकै भर पर्नुपर्छ । अहिले कटारी बजारमा डिजेल दुई सय ६५ रुपैयाँ प्रतिलिटर पुगेको छ, असारसम्म कति पुग्ने हो भन्ने चिन्ता छ ।’ पछिल्लो दशकमा उदयपुरका पहाडी तथा तराई क्षेत्रमा कृषिमा यान्त्रीकरण तीव्र रूपमा बढेको छ । पहिले घर–घरमा गोरु हुन्थे भने अहिले अधिकांश किसानसँग हातेट्याक्टर वा ठुला ट्याक्टर छन् । यसले जोताइ, रोपाइँ, कटाइदेखि ढुवानीसम्मका काम सहज बनाएको ल्याएको थियो । तर, इन्धनमा निर्भर यो प्रणाली अहिले भने चर्को साबित भएको देखिएको छ । 

त्रियुगा नगरपालिका– १३ का कृषक शिव दाहालका अनुसार ट्याक्टरले खेतीपातीलाई सहज बनाएको भए पनि अहिले खर्च धान्न गाह्रो हुन थालेको छ । ‘१० वर्षदेखि ट्याक्टरबाट खेती गर्दै आएको छु,’ उनले भने, ‘तर, अहिलेको मूल्य हेर्दा गोरुको विकल्प खोज्नुपर्नेजस्तो लाग्दै छ ।’ कृषिमा आएको परिवर्तन केवल जोताइमा मात्र सीमित छैन । पहिले गोरुले दाइँ लगाउने परम्परा थियो भने अहिले धान र गहुँ झार्न थ्रेसर तथा काट्न प्रयोग गरिँदै आइएको छ । यी सबै प्रविधि इन्धनमा आधारित भएकाले मूल्यवृद्धिले सम्पूर्ण कृषि प्रणालीलाई असर पुर्याएको छ । 

कटारी नगरपालिका– ११ का वडाअध्यक्ष अन्नत हायू पनि यस समस्याबाट अछुतो छैनन् । ‘मेरो परिवारको १४–१५ रोपनी जग्गा ट्याक्टरबाटै जोत्ने गरेका थियौँ,’ उनले भने, ‘तर, अहिलेको डिजेलको मूल्य सुन्दा गोरु किन्ने समय आएजस्तो लाग्छ ।’ उनका अनुसार वडा क्षेत्रमा करिब ७५ प्रतिशत किसानले ट्याक्टर प्रयोग गर्दै आएका छन् । कृषि ज्ञानकेन्द्र उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लाका आठवटै पालिकामा करिब ९० प्रतिशत किसान यान्त्रिक उपकरणमा निर्भर छन् । ‘गोरु पाल्ने चलन लगभग हराइसकेको छ,’ उनले भने, ‘तर, अहिलेको इन्धन संकटले कृषिमा यन्त्रीकरणको गति सुस्ताउन सक्छ ।’

ट्याक्टर र अन्य यान्त्रिक उपकरणले केही घण्टामै बिघौँ–बिघा जमिन जोत्न सम्भव बनाएको छ भने श्रमिक खर्च पनि उल्लेखनीय रूपमा घटाएको थियो । बहुउद्देश्यीय प्रयोगका कारण ट्याक्टरमा विभिन्न औजार जोडेर बाली रोप्ने, काट्ने, सुकाउने तथा पशुखाद्य तयारीसम्मका काम गर्न सकिन्थ्यो । तर, अहिले बढ्दो इन्धन मूल्यले यी सबै सुविधा महँगो बन्दै गएका छन् ।

See More On

सुझावित समाचार