चिम्पान्जी समूहबिच आठ वर्षदेखि चलिरहेछ ‘गृहयुद्ध’

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

सन् २०१५ को जुन महिनाको एक दिन, ‘प्राइमेटोलोजिस्ट (मानवजस्तै दुई खुट्टामा हिँड्ने जीव अर्थात् प्राइमेटका अध्येता)’ आरोन स्यान्डेल युगान्डाको किबाले राष्ट्रिय निकुञ्जमा न्गोगो प्रजातिको चिम्पान्जीमाथि निगरानी गरिरहेका थिए । त्यस दिन उनको ध्यान चिम्पान्जीको एउटा समूहमाथि थियो । समूहमा उनले केही अनपेक्षित हाउभाउ देखे ।

चिम्पान्जीको ठुलो समूहमा स्यान्डेलबाट नजिक रहेका चिम्पान्जीले केही असहज र डराएजस्तो व्यवहार देखायो । डर कम गर्न र एक–अर्कालाई आश्वस्त पार्न उनीहरू आपसमा छुने र हेर्ने गरिरहेका थिए । अर्थात्, चिम्पान्जीका ती सदस्यको व्यवहार परिचित साथीसँग भेट हुनेभन्दा कुनै अपरिचित समूहसँग मुडभेड हुन लाग्दा गर्नेजस्तो देखिन्थ्यो । अहिले फर्केर हेर्दा त्यस क्षण चिम्पान्जीहरूको कुनै समय घनिष्ठ रहेका समूहबिच तिक्तता सुरु हुन थाल्दाको सुरुवाती समय रहेछ । त्यसको केही समयपछि नै न्गोगो चिम्पान्जीबिच वर्षौं लामो रक्तपातपूर्ण द्वन्द्व सुरु भयो ।

गत अप्रिल ९ मा चर्चित विज्ञान जर्नल ‘साइन्स’मा स्यान्डेल र उनका सहकर्मीले प्रकाशित गरेको एक आलेखले यही जंगली चिम्पान्जीमा सम्भवतः मानिसले देखेको पहिलो ‘गृहयुद्ध’को व्याख्या गरिएको छ । उसो त चिम्पान्जीहरू बाहिरी समूहमाथि घातक आक्रामणमा उत्रने विषय नयाँ होइन । तर, किबाले राष्ट्रिय निकुञ्जको घटनामा कुनै समय एउटै समूहमा रहेका चिम्पान्जी दुई समूहमा विभाजन भएपछि एक–अर्कामाथि आक्रमणमा उत्रिएको पाइयो । यस्तो व्यवहार प्राइमेटमध्ये मानव प्रजातिमा धेरै पहिलेदेखि भइरहेकै कुरा हो ।

‘किबाले राष्ट्रिय निकुञ्जका चिम्पान्जीमा देखिएको यो घटना मानवीय चरित्रसँग धेरै मिल्दोजुल्दो देखिएको छ । जसरी मानिस समुदाय कुनै समय सहकार्य गरिरहेकै समूहमाथि अर्को समयमा आक्रमणमा उत्रिरहेका हुन्छन्, अहिले त्यहाँको चिम्पान्जीमा त्यस्तै देखिएको छ । यो विरोधाभास रोचक छ । तर, लोप हुने अवस्थामा पुगेको प्रजातिका समूह विभाजित भएर एक–अर्काको हत्यामा उत्रिँदा भने चिन्ता बढाएको छ,’ स्यान्डेलले भने, ‘मानिसबिच हुने गृहयुद्धमा देखिनेजस्तै समूहगत पहिचानको परिवर्तनशीलता र गतिशीलता अन्य जनावरमा बिरलै देखिन्छ । तर, अहिले आएर त्यस्तै गुण चिम्पान्जीमा देखिएको छ,’ स्यान्डेलले भने ।

किबाले राष्ट्रिय निकुञ्जमा बसोवास गरिएको न्गोगो चिम्पान्जी समूह विश्वको सबैभन्दा ठुलो ज्ञात जंगली चिम्पान्जी समूह हो । यस समूहमा करिब २०० चिम्पान्जी छन् । सन् १९९५ देखि निरन्तर वैज्ञानिकको निगरानीमा रहेको यो समूहले विगतमा मिलेर बस्ने, खाना बाँड्ने र सँगसँगै बसाइँसराइ गर्थे । कम्तीमा अध्ययन सुरु भएदेखि सन् २०१५ सम्म समूह सामाजिक रूपमा एकताबद्ध थिए । तर, बिस्तारै समूहको गतिशीलतामा केही परिवर्तन देखिन थाल्यो ।

विशेषतः सामाजिक पदानुक्रममा आएको परिवर्तनले समूहको विभाजन निम्त्याएको हुन सक्ने देखिन्छ । जस्तो– सन् २०१५ मा स्यान्डेलले चिम्पान्जीहरूले अनौठो व्यवहार प्रदर्शन गरेको देखेको दिनको बिहानै समूहमा एउटा ‘अल्फा (समूहमाथि हाबी हुने गुण भएको)’ भाले अर्को चिम्पान्जीसामु समर्थन भावमा झुकेको देखिएको थियो । अघिल्लो वर्ष एकैपटक कैयौँ वृद्ध चिम्पान्जीको मृत्युले समूहको सामाजिक संरचनालाई पनि असर गरेको वैज्ञानिकको आकलन छ । सन् २०१४ मा सम्भवतः श्वासप्रश्वाससम्बन्धी समस्याले पाँच वृद्ध भाले र एक वयस्क पोथी मरेका थिए । तिनको अनुपस्थितिसँगै समूहलाई जोडी राख्ने कडी टुट्यो ।

‘वृद्ध चिम्पान्जीहरूको आकस्मिक मृत्युले समूहबिचको सम्बन्धलाई कमजोर बनाएको हुन सक्छ, जसले गर्दा ‘अल्फा’ भाले सक्रिय हुँदा ध्रुवीकरण आएको र समूह कमजोर बन्यो,’ स्यान्डेलले भने । जसै समूहका सदस्यबिच हेलमेल कम भयो, उनीहरू झन् टाढा हुँदै गए र पहिले घनिष्ट रहेका समुदायमै एक–अर्कालाई बाह्य समूहका रूपमा हेर्ने अवस्था आयो । ‘त्यसपछि सन् २०१७ मा आएको एउटा रोगको प्रकोपले सम्भवतः विभाजनलाई झन् अपरिहार्य वा तीव्र बनायो,’ स्यान्डेलले भने । सन् २०१८ सम्म आइपुग्दा विभाजन लगभग पूरा भएको थियो । त्यही वर्षदेखि विभाजित भएर बनेका पश्चिमी गुट र मध्य गुट फरक–फरक वासस्थानमा बस्न थाले र एक–अर्कामाथि आक्रमण सुरु गरे ।

आक्रमण एकदम योजनाबद्धजस्तो देखिन्छ । एउटा गुटका धेरै सदस्य मिलेर अर्को गुटका एक सदस्यलाई एक्ल्याउँछन् र पिटिपिटी मार्छन् । दुईमध्ये पश्चिमी गुट बलियो भएकाले आक्रमण मुख्यतः मध्य गुटका सदस्यमाथि भइरहेको छ । अध्ययनका अनुसार सन् २०१८ देखि सन् २०२४ बिचको सात वर्षमा पश्चिमी गुटको आक्रमणमा मध्य गुटका सात वयस्क भाले र १७ शिशु चिम्पान्जी मारिइसके, जुन औसतमा बर्सेनि एक वयस्क भाले र दुई शिशुको हत्या हुन आउँछ । र, ‘गृहयुद्ध’ सुरु भएको आठ वर्ष नाघ्दा अझै रोकिने संकेत देखिएको छैन । चिम्पान्जीहरू लोप हुने खतरामा रहेका जीव भएकाले उनीहरूबिच देखिएको लामो हिंसाको चक्रले यस जीवको संरक्षकलाई चिन्तित बनाएको छ ।

आनुवंशिक प्रमाणका आधारमा चिम्पान्जीहरूको समूहमा यस्ता लामो चरणको ‘गृहयुद्ध’ सम्भवतः प्रत्येक ५०० वर्षमा मात्र हुने अध्ययनमा उल्लेख छ । त्यसमाथि तिनको सामाजिक एकतालाई बाधा पुर्याउने बाह्य प्रभाव बढेकाले द्वन्द्व छिटो–छिटो हुने सम्भावना रहेको स्यान्डलले बताए । बाह्य प्रभावमा मानवद्वारा तिनको बसोवास गर्ने जंगलको फँडानी, जलवायु संकट वा रोगको प्रकोप पर्छन् ।

न्गोगो चिम्पान्जीमाथि अध्ययन गरेका युनिभर्स अफ क्यालिफोर्निया, लस एन्जलसका उद्विकासवादी मानवशास्त्री ब्रायन वुडले (तथापि उनी नयाँ अनुसन्धानमा संलग्न थिएनन्) एउटा समूहले विगतमा एउटै समुदायकै हिस्सा रहेका सदस्यमाथि आक्रमण गरेर के प्राप्त गर्छन् भन्ने विषयको जवाफ दिँदै भने, ‘डार्विनको ‘फिटनेस’ सिद्धान्तअनुसार कुनै जीवले आफ्नो जिनको विस्तार सफल बनाउन अर्थात् आफ्नो बाँच्ने सम्भावना बढाउन वा आफ्ना प्रतिस्पर्धीको बाँच्ने क्षमता घटाउन आक्रमण गर्ने गर्छन् ।’ ‘र, अहिले विभाजित चिम्पान्जीका दुई समूहमा पश्चिमी समूह त्यही नै गरिरहेको छ । पश्चिमी समूहको निरन्तर आक्रमण सामना गरेपछि, मध्य समूहका चिम्पान्जीमा जंगली चिम्पान्जी समुदायमा अहिलेसम्मकै सबैभन्दा कम बाँच्ने क्षमता मापन भएको छ,’  क्याम्ब्रिज विश्वविद्यालयका जैविक मानवशास्त्रका प्राध्यापक सिल्भेन लेमोइनले भने, ‘यो प्रकरण अनुसन्धानकर्ताले जीवका प्रजातिबिचमा गृहयुद्ध भन्न सकिने स्पष्ट आधार रहेको पहिलो विस्तृत घटना हो । यसले देखाउँछ कि सामूहिक सांस्कृतिक समूह पहिचानको अभावमा पनि, सामाजिक सम्बन्ध र सञ्जाल सम्पर्कले समूह एकतालाई जोडेर राख्छ । र,  यी सम्बन्ध विशेष परिस्थितिमा कमजोर हुन सक्छन्, यस्तो परिस्थितिमा जब त्यो थोरै सदस्यमा भर पर्छन् ।’

(डिकी फ्रिलान्स पत्रकार हुन् । उनी जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन तथा वातावरणीय नीतिमाथि कलम चलाउँछिन् । द गार्जियनबाट श्रवण उप्रेतीको अनुवाद ।)

सुझावित समाचार