०७२ को भूकम्पपछिका केही वर्ष काठमाडौंका भग्नावशेष सामग्री थुपारिएको, त्यसपछि बसपार्कका रूपमा प्रयोग गरिएको र चार वर्षदेखि काठमाडौं महानगरपालिकाले गेटमा ताल्चा नै लगाएर बन्द गरेको खुलामञ्च बिहीबारदेखि नागरिकका लागि खुला गरिएको छ ।
बिपी कोइराला निर्वासनबाट फर्किएपछि ०३३ मा सार्वजनिक भाषण गरेको, ०३६ को जनमत संग्रहमा गुञ्जिएको, ०४६ र ०६२/६३ का आन्दोलनमा पनि राजनीतिक कार्यक्रममा प्रमुख मुकाम बनेको खुलामञ्च बन्द गरिएपछि पटक–पटक विरोध हुँदै आएको थियो ।
यो बिचमा महानगरले दुबो रोप्नेलगायत थप व्यवस्थित बनाउने काम गरेको थियो । अब सर्वसाधारणका लागि हरेक दिन खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनका अनुसार सर्वसाधारणले बिहान–बेलुकी खुलामञ्चमा घुमफिर, व्यायामलगायत गर्न पाउनेछन् भने संघसंस्थाहरूले शुल्क तिरेर कार्यक्रम पनि गर्न पाउनेछन् । तर, संरचना बिग्रिने किसिमका गतिविधि भए जरिवाना तिराइने उनले बताए ।