आवश्यक छ समायानुकूल दलहरूको पुनर्संरचना

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

पुराना राजनीतिक दलहरूले जनचाहना र समयको गति सही रूपमा नबुझ्दा आज संसद्मा खुम्चिनुपरेको अवस्था आएको छ । पार्टीभित्र निर्णय प्रक्रियामा पारदर्शिता, विचारको मन्थन र नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण स्वाभाविक रूपमा अघि बढ्नुपर्ने भए पनि त्यो हुन सकेन । परिणामतः संरचनात्मक जडता र नेतृत्वकेन्द्रित प्रवृत्तिले दलहरूको सान्दर्भिकता कमजोर बनाएको छ ।

अब पनि यस्ता दलहरूले आफूलाई पुनर्संरचना र परिमार्जन नगरे उनीहरूको राजनीतिक प्रभाव क्रमशः क्षीण हुँदै जानेछ । पछिल्लो निर्वाचनमा देखिएको जनमत पुराना दलले नगरेको काम नयाँले गर्ने स्पष्ट विश्वासभन्दा पनि पुरानाप्रति असन्तुष्टि जनाउँदै विकल्प खोज्ने मनोवृत्तिको अभिव्यक्ति हो । नयाँहरूले पनि त्यस्तै परिस्थिति भोगे भने यो झन् दुःखद हुनेछ । 

यस अवस्थामा पुराना दलहरूले आफूलाई कसरी पुनर्गठित गर्ने र आगामी दिशा के हुने भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक छ । विगतमा जनमतलाई नबुझ्दा आएको वर्तमान स्थितिबाट पाठ सिक्दै बदलिँदो समयको मागअनुसार नेतृत्व, संगठन र विचारमा रूपान्तरण गर्नैपर्छ। यी पक्षहरूको समग्र समीक्षा नगरी अघि बढ्ने अवस्था अब बाँकी छैन ।

पुराना दलहरूले ‘कहाँ चुक्यौँ ?’ र ‘जनता किन निराश भए ?’ भन्ने मूल प्रश्नमा गम्भीर आत्मसमीक्षा गर्न सकेका छैनन् । बैठक र छलफल औपचारिकतामा सीमित हुँदा वास्तविक बहस र विश्लेषणको संस्कृति कमजोर बनेको छ । नेतृत्वले निर्णय सुनाउने अभ्यास हाबी हुँदा आन्तरिक लोकतन्त्र क्षीण भएको देखिन्छ । यसका कारण समाजको परिवर्तनशील दिशा र पार्टीभित्रको जडताबिचको अन्तर बुझ्ने प्रयास हुन सकेन । एमालेको सन्दर्भमा अध्यक्ष केपी ओलीको नेतृत्वपछि आन्तरिक लोकतन्त्र झन् कमजोर भएको आरोप लाग्दै आएको छ । केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्ने अवसर सीमित गरिँदा गम्भीर बहस हुने ठाउँ नै संकुचित भएको छ ।

यसैकारण पार्टीभित्रै उठ्नुपर्ने आवाज सामाजिक सञ्जालमार्फत व्यक्त हुन थाले र त्यसैलाई आधार बनाएर कारबाहीसमेत हुने स्थिति बन्यो । पछि केन्द्रीय सदस्यलाई बैठकमा तीन मिनेट बोल्ने सीमित समयको व्यवस्था भयो । त्यो वास्तविक बहसभन्दा औपचारिक सहभागिता देखाउने प्रयास मात्र थियो । प्रभावकारी नीति निर्माणका लागि केन्द्रीय सदस्यले आफ्ना एजेन्डामा विस्तृत छलफल गर्न पाउनुपर्छ । गहिरो बहस र खुला छलफलबाटै समस्या पहिचान र समाधानका उपाय निकाल्न सकिन्छ । 

चार वर्ष केन्द्रीय सदस्य हुँदा म तीनपटक गरेर जम्मा नौ मिनेट मात्र बोल्न पाएँ । त्यो त केवल औपचारिकता मात्र भयो । राजनीतिक दलहरू औपचारिकतामा मात्र सीमित हुनुहुँदैन । कमिटी त कामयाबी हुनुपर्छ । तर, दलहरूले संख्यामा आधारित कमिटी बनाए । पदले ठुला नेताले निर्णय सुनाउने अनि त्यसैमा ताली पिट्ने कमिटी भए । ‘हाइरार्की’मा माथिको नेताले जे भन्छ, त्यही ठिक हो भन्ने अभ्यास गराइयो । कुनै पनि निर्णय गर्दा त्यसमा अनेक कोणबाट व्यापक छलफल र बहस हुनुपर्छ । ठोस परिस्थितिको ठोस विश्लेषण गरी निर्णयमा पुग्नुपर्छ । कसैको फरक मत छ भने त्यसलाई पनि समेटेर जानुपर्छ । त्यसरी अगाडि बढ्दा मात्र पार्टी जीवन्त हुन्छ । तर, त्यो खालको पार्टी संरचना बनेनन् । 

पुराना पार्टीहरूले आगामी चुनौतीलाई गम्भीर रूपमा आत्मसात् गरेर जानुको विकल्प छैन । नीति र नेतृत्वमा गहन छलफल गरेर समयसापेक्ष बनाउँदै अगाडि बढ्नुपर्छ । आममान्छेले यो मेरै कुरा बोल्दै छ, मेरै एजेन्डा बोक्दै छ, मजस्तै ठाउँमा बस्छ, मेरोजस्तै खाना खान्छ, मेरो जिन्दगी र यसका जिन्दगीमा खासै फरक छैन’ भन्ने महसुस गर्नुपर्छ । त्यसरी अगाडि बढ्दा मात्रै पुराना पार्टीमा पुनर्जागरण आउँछ । 

आवश्यक छ रिभ्यु र रिथिंक
पुराना पार्टीहरूमा एकदम धेरै ‘रिभ्यु’ र ‘रिथिंक’ गर्नुपर्ने आवश्यकता छ । पुराना पार्टीका प्रमुख नेतालाई खास समस्या के हो भन्ने नै थाहा नभएकोजस्तो भान हुन्छ । पुराना दल डेलिभरीमै चुकेका हुन् । नेपाली समाजमा विकासको एकदम ठुलो भोक छ । त्यसभित्र रोजगारी, आत्मसम्मान, राष्ट्रिय पुँजी निर्माण र भौतिक पूर्वाधारका पक्ष छन् । बजारले हामीलाई अनेकौँ ‘एक्सेस’ दिएको छ । श्रमिकका रूपमा पनि नेपाली विश्वका अधिकांश देशमा फैलिएका छन् । उनीहरूले त्यहाँको भौतिक संरचना विकास र मानवीय विकास सबै देखेका छन् । अनि आफ्नो मुलुकमा आउँदा दुई–चार किलोमिटर सुरुङ खनेकाप्रति एकदम धेरै ऋणी हौँ भनेर प्रधानमन्त्री÷मन्त्रीले भनिरहँदा जनतालाई ‘टु मच फ्रस्टेट’ बनायो । किनकि ०४६ पछि हुर्केको पुस्ताले विश्वका धेरै देशको अवस्था प्रत्यक्ष देखेको छ ।

विकास भनेको बाटोघाटो निर्माण मात्र होइन । शिक्षामा के भयो ? वातावरणमा के भयो ? फोहोर विसर्जनमा के भयो ? जनताको जीवनस्तरमा सुधार आएको छ–छैन ? दीर्घकालीन हिसाबले काम ग¥यौँ कि गरेनौँ ? यी प्रश्न हरेकसँग छन् । तर, पुराना दलले त्यसरी काम गर्न सकेनन् । हरेक चुनावमा दलले ठुला–ठुला प्रतिबद्धता जनाए । जितेपछि देशलाई स्वीट्जरल्यान्ड बनाउँछौँ पनि भने । तर, हामी देशको आर्थिक सीमा ख्याल गर्दैनौँ । त्यसकारण चुनावअघि गरेको प्रतिबद्धता र चुनावपछिको अवस्था फरक आयो । त्यसले पनि जनता निराशा भए । 

अर्कोतर्फ, सत्तामा मात्र नेताहरूको ध्यान गयो । चुनावमा जाँदा एउटासँग प्रतिस्पर्धा ग¥यौँ, चुनावपछि अर्कैसँग गठबन्धन गरेर सरकार बनायौँ । सत्ताका लागि अनेकौँखाले ‘रफ’ अभ्यास भए । जनतालाई केन्द्रमा राखेर गर्ने काम एकदम कम भए । उदाहरणका लागि १० वर्षमा पनि एउटा शिक्षा ऐन ल्याउन सकिएन । 

विकल्पविहीन पुस्तान्तरण
जनताले यो चुनावबाट पुराना दललाई नेतृत्व पुस्तान्तरण नगरी तिमीहरू बाँच्दैनौँ भन्ने स्पष्ट सन्देश दिए । यो निर्वाचनमा एमालेको साढे १४ लाख मात्र भोट आयो । गत निर्वाचनमा भन्दा अहिले समानुपातिक भोट ५० प्रतिशतले घट्यो । पार्टीको भोट यसरी घटेको छ । प्रत्यक्षमा नौ सिटमा खुम्चियो । जनताले पुराना पार्टीका नेताविरुद्ध नारा लगाएका छन् । प्रधानमन्त्री नै कुर्सी छाडेर हेलिकोप्टरमा भाग्नुपरेको छ । यसको नैतिक र राजनीतिक जवाफदेहिता हुँदैन ? त्यो जवाफदेहिता भनेको ‘म असफल रहेछु, जनताले मलाई असफल सावित गरे’ भन्ने जो–कोहीले सहजै बुझ्छ । तर, नेतृत्वले बुझ्न चाहेन । 

एमाले अध्यक्ष केपी ओलीले पटक–पटक ‘ग्रेसफुल एक्जिट’को टाइम गुमाउनुभयो । अब त उहाँका बारेमा कुरा गर्नु पनि धेरै सान्दर्भिक हुन्छ जस्तो लाग्दैन । यदि पत्रकारितामा कतै मिस रिपोर्टिङ गरेर कुनै मिस इन्फर्मेसन आएको छ भने क्षमायाचना गर्नुपर्दैन ? पर्छ नि । तर, यो राज्यको सवाल हो । अनि आफैँले सरकार चलाइरहँदा देश भताभुंग भएको छ । ठुलो जनधनको क्षति भएको छ । आफ्नै कार्यालय (प्रधानमन्त्री कार्यालय) जलेको छ । प्रधानमन्त्री चढ्ने सवारी जलेको छ । प्रधानमन्त्रीका सुरक्षाकर्मी भाग्नुपरेको छ । प्रहरीले पूरै आत्मसमर्पण गरेको छ । सरकारी र निजी सम्पत्ति ध्वस्त भएको छ । यसको कुनै नैतिक जिम्मा हुँदैन ? यो त ‘कम्प्लिट फेल’ भएको अवस्था हो ।

तर, पुराना दलका नेताहरू अझै पनि षड्यन्त्रको सिद्धान्तको कुरा गरिरहेका छन् । यदि, षड्यन्त्र भएरै उहाँहरू फेल हुनुभएको हो भने त्यो षड्यन्त्र चिर्न नसक्नु उहाँहरूकै नालायकी हो । यस्तो अवस्थामा ‘हाम्रो सान्दर्भिकता सकिएको रहेछ’ भनेर उहाँहरूले स्वतः छाड्नुपर्ने हो । यसमा छोड–छोड भनेर विधानको धारा केलाइराख्नुपर्ने होइन । स्वनिलम्बन गर्नुपथ्र्यो ।
पुराना दलहरूले जस्तो अभ्यास गर्दै आए, त्यसबाट जनता कति रिसाएका र कति ‘फ्रस्टेट’ रहेछन् भन्ने त चुनावले प्रमाणित गरिसक्यो । हामीले गर्दै आएको अभ्यासले जनताको एजेन्डा कहीँ पनि सम्बोधन गर्दोरहेनछ । दलहरू समाजप्रति फर्केर हेर्नै चाहँदैनन् भन्ने एमालेको संसदीय दलको नेता चयन प्रक्रिया हेरे पुग्छ । सुहाङ नेम्वाङ एउटा सन्दर्भमा राजनीतिमा आउनुभयो र चुनाव जित्नुभयो । ‘युवाको आवश्यकता छ, अब म उठ्छु, तपाईंहरूको सान्दर्भिकता सकियो’ भनेर जुन आवाज उठाउनुभयो । लोकतन्त्रमा त्यो निकै सुन्दर पक्ष हो । 
हामीमाथि प्रश्न रहेछ भन्ने त सुहाङले गरेको हिम्मत देखेर पनि नेताहरूले थाहा पाउनुपर्ने हो । चेतना–ज्ञानको कामै नलाग्ने पनि कुनै दल हुन्छ ? एकदम कम उम्मेदवारले चुनाव जित्नुभएको छ । उहाँहरूले नेताको कृपाको कारण चुनाव जितियो भन्ने लागेको पनि होला । सुहाङको प्रस्तावक र समर्थक पनि बस्नुभएन । त्यहाँबाट पनि थाहा हुन्छ कि एमाले समाजबाट कति ‘डिट्याच’ छ । समाजप्रति फर्केर जवाफदेही हुनुपर्छ, जिम्मेवार हुनुपर्छ । जनता र कार्यकर्ता के भन्दै छन् ? नेता के गर्दै छन् ? यदि परिवर्तन आत्मसात् नगर्ने हो भने समाप्त हुन तयार हुनुपर्छ । 

जवाफदेहिता न पारदर्शिता
आजको मुख्य एजेन्डा जवाफदेहिता र पारदर्शिता हो । पुराना दल यो सवालमा पनि चुके । पार्टीकै सत्तामा लिएपछि कहीँ न कहीँबाट लाभान्वित हुने अवस्था रह्यो  । भोलि सत्तामा पुग्ने सम्भावना छ भनेको आधारमा वा हिजो सत्तामा थियो भनेकै कारण पनि शक्तिको ‘मिसयुज’ हुने गरेको छ । तर, जवाफदेहिता र पारदर्शिता भएन । त्यसले मुलुकलाई कुनै लाभ हुँदैन । तर, नेताले निरन्तर लाभ लिइरहन्छ । त्यही कारण कोही नेता निरन्तर पार्टीसत्तामा रहन चाहन्छन् । होइन भने हात हल्लाएर हिँड्नसमेत नसक्ने अवस्थामा पनि पार्टीसत्तामा रहिरहनुको कारण के हो ? 

अर्कोतर्फ विगत ३०औँ वर्ष सत्तामा हुँदा गरेको काम एक, दुई, तीन, चार, पाँच भन्ने हो भने पाँच नम्बरसम्म पनि नपुग्ने स्थिति छ । ‘म एकदम धेरै त्याग गर्छु, लगानी गर्छु, मसँग नवीन सोच छ, नवीन विचार छ’ भनेर नेताहरू कुर्सीमा टाँसिरहेका होइनन् । आफ्नो रक्षाका लागि कुर्सी चाहिएको हो । त्यही गोलचक्करमा नेताहरू फसेका छन् । अब त्यसबाट निस्कनुपर्छ । 

एजेन्डाबाहिर युवा–विद्यार्थी संगठन
आमयुवामा राजनीतिक दलका युवा संगठनहरूको कति पकड छ ? तरुण दल, युवा संघ, वाइसिएलको पकड कति छ ? आजको बेरोजगार युवाको, खाडीमा काम गरिरहेका युवाको, करिअरको खोजीमा अनेकौँ देश जान भौँतारिरहेका युवाको एजेन्डाका विषयमा युवा संगठनहरूले खास काम गरेका छैनन् । युवा संघ भए केपी ओलीको, तरुण दल भए शेरबहादुर देउवा वा गगन थापाको, वाइसिएल भए प्रचण्डको जयजयकार मात्रै गरेको देखिन्छ । विद्यार्थी संगठनमा पनि ठ्याक्कै त्यस्तै समस्या छ । विद्यार्थी र युवा संगठन आमविद्यार्थी र युवाका भएनन् । उनीहरू सरुवा÷बढुवा, ठेक्कापट्टा र नेताहरूको आसेपासे मात्र बन्दा आमविद्यार्थी र युवामा वितृष्णा पैदा भयो । नेता–कार्यकर्ता उत्पादन गर्ने कारखाना एजेन्डाविहीन हुँदा, नाजायज फाइदामा लाग्दा नेताहरूबाटै त्यस्तो प्रवृत्तिलाई संरक्षण भयो । यसले पार्टीलाई मात्रै होइन, लोकतन्त्रलाई नै कमजोर बनाउन भूमिका खेलिरहेको छ । 

गत भदौको जेन–जी आन्दोलन पनि दलभन्दा बाहिरका युवा–विद्यार्थीले गरेका हुन् । त्यसवेला दलका युवा संगठन र विद्यार्थी संगठन कहाँ थिए ? युवा र विद्यार्थी संगठनले ‘प्रेसर ग्रुप’को रूपमा भूमिका खेल्न सके त ? उनीहरूले त युवा–विद्यार्थीको आँखाबाट सत्ता र विपक्षी कस्तो देखिन्छ भन्ने आधारमा एजेन्डा र माग अघि सार्नुपथ्र्यो । तर, युवा र विद्यार्थी संगठनहरू राजनीतिक भएनन्, लाभका काममा मात्र केन्द्रित भएको तितो अनुभव छ । युवा संघजस्तो देखिन्छ, खासमा ऊ ठेकेदार हुन्छ । तरुण दलजस्तो देखिन्छ, त्यो बिचौलिया हुन्छ । वाइसिएलजस्तो देखिन्छ, तर गिरोहगिरी गर्छ । यसमा व्यापक सुधार आवश्यक छ ।

जनतासँगको सम्बन्ध
जनता के चाहन्छन् र किन निराश भए भन्ने नै आजको विमर्शको विषय हुनुपर्छ । प्रविधिमार्फत जनतासँग जोडिने, उनीहरूसँग खानपिन, उठबस र गफगाफ गर्ने हो भने पनि धेरै थाहा हुन्छ । आज कुन पृष्ठभूमिका मानिस निराश र कुन पृष्ठभूमिका मानिस खुसी छन् ? भन्ने बुझ्नुपर्छ । पुराना दल प्रविधिसँग नजोडिएका कारण जनताले मन नपराएका होइनन्, जनताका एजेन्डासँग नजोडिएका कारण मन नपराएका हुन् । 

प्रविधि एउटा टुल मात्र हो । तर, सरकारमा हुँदा ल्याएको नीति र गरेका कामले आमजनतालाई छोयो–छोएन भन्ने मुख्य प्रश्न हो । अहिले आमरूपमा नै जनताले पुराना दल पत्याएनन् । हामीले जे कुरा ग¥यौँ, कामले त्यो गरेनौँ । जुन भाषा बोल्यौँ, जनताले त्यो मन पराएनन् । आज एमाले जसरी चलेको छ । यसरी चल्ने एमाले चाहिँदैन । २१ फागुनको चुनावमा जनताले एमाले, कांग्रेस र नेकपा विघटन गरिदिए । तर, कसरी पुनर्गठित हुने भन्ने विन्दुमा उनीहरू अझै पुगेका छैनन् । पुराना दलले जनताको एजेन्डा बोक्न सक्छन्–सक्दैनन् ? जनविश्वास फर्काउन सक्छन्–सक्दैनन्– अहिलेका मुख्य प्रश्न हुन् । 

‘बुथ कब्जा’ गरेभन्दा माथि भोट दिएर जनताले रास्वपालाई जिताए । एमालेचाहिँ यसलाई षड्यन्त्र भन्दै छ । के प्रत्येक व्यक्तिमाथि षड्यन्त्र सम्भव छ ? दलकै नेताले संसद्मै मनोगत कुरा गरे । वर्षौँ राज्यसत्ताको अभ्यास गरेको पार्टीले नेपाली सेना, ब्युरोक्रेसी र अन्तर्राष्ट्रिय समुदायमाथि शंका गर्न मिल्छ ? शंका भए प्रमाण देखाउनुपर्ला नि ? अब षड्यन्त्रको सिद्धान्त चल्दैन । त्यसैले सच्चिनेभन्दा अर्को ठाउँ छैन । नसच्चिए समाप्त हुनुको विकल्प हुँदैन । 

‘राष्ट्र परराष्ट्र’ किताबमा भेषबहादुर थापाले लेख्नुभएको छ– ०४६ को अन्त्यतिर जतिवेला पञ्चायत ढल्दै थियो । त्यतिवेला ९० प्रतिशत पञ्चलाई पञ्चायत ढल्दै छ भन्ने थाहा नै थिएन । मैले त्यसलाई ‘रिलेट’ गर्दै जेन–जी आन्दोलनअघि केन्द्रीय कमिटी बैठकमा भनेकी थिएँ– एमालेलाई समाजमा के हुँदै छ भन्ने थाहै छैन । तपाईंहरू यो हलभित्र जे भन्दै हुनुहुन्छ, समाज त्यस्तो छैन । कृपया समाजतिर फर्किनुस्, अनि वास्ताविकता थाहा पाउनुहुन्छ ।

अन्तिम प्रयन्त
पार्टीभित्रका कथित विज्ञहरूको भूमिकासमेत प्रभावकारी बन्न सकेन । उनीहरू नेतृत्वलाई वास्तविक वस्तुस्थिति बुझाउनेभन्दा पनि ‘गेट कुरेर जागिर खाने’ प्रवृत्तिमा सीमित भए । स्वतन्त्र र तथ्यमा आधारित सल्लाह दिनुपर्ने ठाउँमा नेतृत्वअनुकूल धारणा प्रस्तुत गर्ने संस्कार हाबी देखियो । विज्ञले स्वतन्त्र रूपमा सुझाव दिन सक्ने वातावरण नबन्दा ज्ञान र क्षमताको उपयोग हुन सकेन । नेतृत्वतर्फ पनि आत्मआलोचनाभन्दा आत्मकेन्द्रित सोच बलियो रह्यो । आफूलाई अन्तिम सत्य ठान्ने र अरूको कुरा नसुन्ने प्रवृत्तिले संगठनभित्र बहस र सुधारको सम्भावना संकुचित ग¥यो । यही कारण वर्तमान संकट गहिरिँदै गएको छ ।

अहिले संसद्मा बलियो प्रतिपक्ष पनि छैन । एमालेले ५० सिट ल्याएको भए पनि बलियो प्रतिपक्ष हुन्थ्यो त ? म त्यसमा पनि विश्वास गर्दिनँ । किनभने केपी ओलीको युगमा एमाले जसरी चलेको छ, यो राजनीतिक रूपमा चल्दै चलेन । तजबिजीमा मात्रै चल्यो । म कहाँ हुन्छु भन्नेमा मात्रै केन्द्रित भयो । इमानदार कार्यकर्तामा असन्तोष र उद्वेलन बढ्दै गएको छ । त्यसैले अब पुनर्संरचना अपरिहार्य बनेको छ । निःसर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण आन्दोलनको भविष्यसँग जोडिएको विषय बनेको छ । अब जनताको सरोकार, प्रगतिशील वाम आन्दोलनको दिशा र संगठनात्मक सुधार केन्द्रमा राखेर पुनर्संरचना नगरी विकल्प छैन । 

सम्पादकको रोजाइ

सुझावित समाचार