पर्यटनमा हुन सके सुधार बन्छ अर्थतन्त्रको आधार

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

घोषणामा ‘पर्यटन लाइफलाइन’, कार्यान्वयनमा ढिलासुस्ती : सम्भावना र संकटबिच नेपाली पर्यटन

नेपालमा भर्खरै सम्पन्न आमनिर्वाचनले निर्माण गरेको नयाँ राजनीतिक परिदृश्यले देशलाई राजनीतिक स्थायित्व दिन सक्ने सम्भावनाबिच नेपालको पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको छ । पछिल्लो जनमतले एउटा स्पष्ट सन्देश दिएको छ– ‘अब आश्वासन होइन, डेलिभरी र रोजगारी चाहिन्छ ।’ 

दलहरूले आफ्नो घोषणापत्रमा बर्सेनि २० देखि ३० लाख पर्यटक भिœयाउने, ‘पर्यटन दशक’ मनाउने र विश्वस्तरीय पूर्वाधार बनाउनेजस्ता महत्वाकांक्षी नारा लेख्ने गरेका थिए । प्रायः दलका चुनावी घोषणापत्रले पर्यटनलाई ‘राष्ट्रिय अर्थतन्त्रको लाइफलाइन’का रूपमा व्याख्या गरेका छन् । तर, यथार्थ भने निकै फरक छ । देशको अर्थतन्त्र र रोजगारीको प्रमुख मेरुदण्ड मानिएको पर्यटन क्षेत्र हाल आन्तरिक नीतिगत ढिलासुस्ती र बाह्य चुनौतीहरूको चक्रव्यूहमा रुमल्लिरहेको छ ।

पर्यटन क्षेत्रको अवस्था
तथ्यांक हेर्ने हो भने नेपालको पर्यटन क्षेत्र कोभिड–१९ अगाडिको अवस्थामा फर्किन अझै संघर्ष गरिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ मा करिब ११ लाख ४७ हजार विदेशी पर्यटक नेपाल आएकामा सन् २०२५ मा यो संख्या जम्मा एक प्रतिशतले मात्र बढेर ११ लाख ५८ हजार ४५९ पुग्यो । यो सन् २०१९ को प्रि–कोभिडअघिको करिब ९७ प्रतिशत रिकभरी हो ।

सन् २०२६ को प्रारम्भमा केही सकारात्मक संकेत देखिएको छ । वर्षको पहिलो एक महिना जनवरीमा ९२ हजार ५७३ ( १५.७ प्रतिशत वृद्धि) र फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ (८.८ प्रतिशत वृद्धि) पर्यटक भित्रिएका छन् । भारत (कुल पर्यटकको २५.२ प्रतिशत हिस्सा), अमेरिका (९.७ प्रतिशत), चीन (८.२ प्रतिशत), बेलायत र बंगलादेश नेपालका प्रमुख स्रोत देश हुन् । युरोप र अमेरिकाबाट आउने पर्यटकभन्दा क्षेत्रीय देशका पर्यटकले नेपालको पयर्टक उद्योगलाई धानेका छन् ।

लगानी धेरै, प्रतिफल सुस्त
एकातर्फ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी भार खेपिरहेको छ भने अर्कोतर्फ अर्बौँ विदेशी ऋण काढेर बनाइएका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका कारण देशले ठुलो आर्थिक भार बोक्नुपर्ने जोखिम बढेको छ ।

राजमार्गको मर्मत र विस्तारमा भएको चरम ढिलासुस्तीले (जस्तै ः काठमाडौं–मुग्लिन र नारायणगढ–बुटवल सडकखण्ड) पर्यटकको यात्रा कष्टकर र महँगो बनाएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ क्षेत्रले होटेल तथा पर्यटनमा करिब दुई खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । हिल्टन, हायातजस्ता ठुला अन्तर्राष्ट्रिय होटेल चेन र दर्जनौँ बुटिक होटेलहरू थपिएका छन् । तर, पर्यटकको संख्या र उनीहरूको खर्च गर्ने क्षमता सोही अनुपातमा नबढ्दा होटेलहरूको ‘अकुपेन्सी रेट’ निराशाजनक छ ।

नेपालको पर्यटन उद्योगले मुख्यतः विदेशीलाई जोड दिएर भए पनि खासमा यसलाई अझै आन्तरिक पर्यटकले भरथेग गरेको छ । चाडबाड र बिदामा घुम्न जाने संस्कृतिको विकास हुनु एउटा सकारात्मक ट्रेन्ड हो । साथै, इको–टुरिजम, आध्यात्मिक पर्यटन र सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम)बाट प्रेरित भएर यात्रा गर्ने युवाको संख्या बढेको छ । व्यवसायीहरूको मनोबल मिश्रित र धेरै हदसम्म कमजोर छ । नयाँ लगानीकर्ता सम्भावना देखेर बजारमा आए पनि महँगो हवाई भाडा, पूर्वाधारको कमी र सरकारको नीतिगत अस्थिरताका कारण छिट्टै निराश हुन्छन् । सन् २०२५ सेप्टेम्बरको युवा आन्दोलनपछि सिर्जना भएको अनिश्चिताका कारण ठुलो संख्यामा पर्यटकको बुकिङ रद्द गर्दा व्यवसायीले धेरै नोक्सानी व्यहोर्नुपरेको थियो । साथै अहिले पश्चिम एसियामा देखिएको संकटपछि इन्धनको बढ्दो मूल्यले व्यवसायीको मनोबलमा आघात पु¥याएको छ ।

आन्तरिक तथा बाह्य चुनौतीहरू
युरोपियन युनियन (इयू)को हवाई सुरक्षा सूचीबाट नेपालको उड्डयन क्षेत्र दशकौँसम्म हट्न नसक्नु पर्यटन क्षेत्रका लागि अहिले सबैभन्दा ठुलो प्राविधिक बाधक हो । सीमित उडान र महँगो हवाई इन्धनका कारण नेपालको हवाई भाडा यस भेगका अन्य देशको तुलनामा निकै महँगो छ । त्यसबाहेक वन मन्त्रालय, पर्यटन मन्त्रालय र स्थानीय तहबिच समन्वय नहुँदा पर्यटन पूर्वाधार निर्माणका फाइल वर्षौँसम्म अड्किन्छ । प्रशासनिक समन्वयको अभावले धेरै चुनौती निम्त्याउने गरेको छ ।

पश्चिम एसियाको संकटले निम्त्याएको विश्वव्यापी मुद्रास्फीति र सम्भावित आर्थिक मन्दीको त्रासले युरोप र अमेरिकाका हाई–भ्यालु (बढी खर्च गर्ने) पर्यटकहरू आगमनलाई थप खुम्च्याउने सम्भावना छ । श्रीलंकाजस्ता दक्षिण एसियाली देशले पर्यटक तान्न भिसामुक्त प्रवेशदेखि सस्तो प्याकेज ल्याइरहेका छन् । हामीले त्यस्तो गर्न सकेका छैनौँ ।

अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्व
नेपालजस्तो विकासोन्मुख देशका लागि पर्यटन केवल मनोरञ्जन वा भ्रमणको विषय मात्र नभई समग्र अर्थतन्त्रको प्राणवायु हो । पछिल्ला तथ्यांक र रिपोर्टले अर्थतन्त्रमा यस क्षेत्रको महत्व उच्च देखाउँछन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान करिब दुईदेखि तीन प्रतिशतहाराहारीमा रहे पनि अप्रत्यक्ष योगदान भने ६ देखि सात प्रतिशतसम्म पुग्ने विभिन्न आर्थिक सर्वेक्षणले देखाउँछन् । पर्यटन संख्यामा हुने सानो वृद्धिले समेत समग्र सेवा क्षेत्र (होटेल, रेस्टुरेन्ट, यातायात र सञ्चार)को वृद्धिमा मद्दत पुग्छ ।

नेपालमा वैदेशिक रोजगारीपछि विदेशी मुद्रा भित्र्याउन योगदान गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र पर्यटन हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०२४/२५ (आव ०८०/८१) मा नेपालले करिब ११ लाख ४६ हजार विदेशी पर्यटकमार्फत ८८ अर्ब ६६ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ । यसले देशको शोधनान्तर स्थितिलाई बचतमा राख्न र विदेशी मुद्रा सञ्चिति बढाउन प्रत्यक्ष मद्दत ग¥यो । यसले आयातमुखी अर्थतन्त्रलाई विदेशी मुद्राको चापबाट राहत दिलाउन योगदान ग¥यो ।

पर्यटन उद्योग विदेशी लगानीकर्ताको पहिलो रोजाइमा पर्ने क्षेत्र हो । उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०२४/२५ मा दर्ता भएका ३०४ वटा विदेशी लगानीका उद्योगमध्ये पर्यटन क्षेत्रमा मात्र २६ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसले पुँजी निर्माण, अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकास (जस्तै : लक्जरी होटेल, रिसोर्ट) र व्यवस्थापकीय सिप हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।

नेपालमा रोजगारी अभावले युवा जनशक्ति पलायन भइरहेको सन्दर्भमा पर्यटन सबैभन्दा बढी स्वदेशी श्रम खपत गर्ने उद्योग हो । प्रत्यक्ष रोजगारी ः ट्रेकिङ गाइड, भरिया, होटेल कर्मचारी, टुर अपरेटर र एयरलाइन्स कर्मचारी गरी लाखौँले प्रत्यक्ष रोजगारी पाएका छन् । अझ पनि पर्यटकको संख्या वृद्धि गर्न सकेको खण्डमा पर्यटन क्षेत्रले सोही अनुपातमा उच्चतम तथा आकर्षक आयसहितको रोजगारी सिर्जना गर्न सक्दछ । विश्व पर्यटन संगठनको एक अनुमानअनुसार एकजना पर्यटक नेपाल आउँदा त्यसले कम्तीमा नौदेखि ११ जनालाई अप्रत्यक्ष रोजगारी वा आयको अवसर प्रदान गर्छ ।

पर्यटन अरूजस्तो अलगथलग रहने उद्योग होइन, यसले अर्थतन्त्रका अन्य धेरै क्षेत्रलाई आफूसँगसँगै चलायमान बनाउँछ । पर्यटकले उपभोग गर्ने तरकारी, मासु, दुग्धजन्य पदार्थ र फलफूलले स्थानीय कृषकको उत्पादनलाई सिधै बजार दिन्छ । पस्मिना, थान्का, काठको मूर्तिकला र अन्य हस्तकलाका सामग्रीको प्रमुख खरिदकर्ता विदेशी पर्यटक नै हुन्छन् । यसले नेपाली कला र संस्कृतिलाई विश्वव्यापी बनाउनुका साथै घरेलु उद्योगको आय बढाउँछ ।

पर्यटन क्षेत्रको सम्भावना र अवसर
नेपालको भौगोलिक बनावट, जैविक विविधता र सांस्कृतिक सम्पदा विश्वमै अद्वितीय छन् । देशको अर्थतन्त्रलाई आयातमुखी अवस्थाबाट उत्पादन र सेवामुखी बनाउन पर्यटन क्षेत्रको सम्भावना र अवसर अथाह छन् ।

नेपाललाई विश्वले चिन्ने नै मुख्यतः यहाँ प्राकृतिक र साहसिक गन्तव्य तथा तिनको सौन्दर्यले हो । यो क्षेत्रमा अझै ठुलो सम्भावना छ । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये आठवटा नेपालमै छन् । नेपालमा ६ हजार मिटरभन्दा अग्ला एक हजार ३१० वटा हिमाल छन् । यीमध्ये करिब चार सयवटा मात्र आरोहणका लागि खुला गरिएका छन् । बाँकी सयौँ ‘भर्जिन’ हिमाल आरोहणका लागि खुला गरिए नयाँ गन्तव्य सिर्जना हुन्छन् । साथै, बन्जी जम्पिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन र रक क्लाइम्बिङजस्ता साहसिक खेलहरूको विश्वस्तरीय ‘हब’ बनाउन सकिने अवसर छ ।

नेपालको सानो क्षेत्रफलभित्र पाइने हावापानी र जैविक विविधता विश्वकै लागि रोचक तथा अनुसन्धानको विषय हो । नेपालको कुल भूभागको करिब २३ देखि २४ प्रतिशत हिस्सा २० वटा संरक्षित क्षेत्र (राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्र)ले ओगटेको छ । विश्वको कुल भूभागको ०.१ प्रतिशत हिस्सा मात्र आगटेको नेपालमा ८६७ भन्दा बढी प्रजातिका चरा र २०८ प्रजातिका स्तनधारी जनावर (जस्तै : पाटेबाघ र एकसिङे गैँडा) पाइन्छन् । नेपाल आउने करिब ४५ प्रतिशत पर्यटक संरक्षित क्षेत्रमा पुग्छन् । अफ्रिकाको सफारी मोडलजस्तै नेपालमा उच्च मूल्य तिर्ने पर्यटकलक्षित लक्जरी वाइल्डलाइफ टुरिजम र बर्ड वाचिङ प्रवद्र्धन गर्ने अपार अवसर छ ।

नेपाल विश्वका दुई ठुला जनसंख्या भएका देशको (भारत र चीन) बिचमा हुनु पर्यटनका लागि सबैभन्दा ठुलो जनसांख्यिकीय लाभ हो । भारतमा करिब एक अर्ब हिन्दु र चीनलगायत पूर्वी एसियामा ५० करोडभन्दा बढी बौद्ध धर्मावलम्बी छन् । लुम्बिनी, तिलौराकोट र रामग्रामलाई जोडेर विश्वभरका बौद्ध धर्मावलम्बीको अनिवार्य गन्तव्य ‘बौद्ध सर्किट’ बनाउन सकिन्छ । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर र स्वर्गद्वारीलाई जोडेर भारतीय पर्यटक तान्न सकिन्छ । योग, ध्यान र आयुर्वेदमा आधारित आध्यात्मिक पर्यटनको विकास गर्ने अवसर पनि त्यत्तिकै छ ।

माइस (अंग्रेजी वर्णमालाका एमआइसिई अर्थात् मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स र एक्जिबिसन पर्यटन) हाल विश्वभर फस्टाइरहेको छ, जुन नेपालका लागि नयाँ र निकै नाफामूलक अवसर हो । काठमाडौं र पोखराजस्ता सहरहरूको मौसम बाह्रै महिना अनुकूल रहन्छ । भारत र मध्य–पूर्वका कर्पोरेट कम्पनीको वार्षिक साधारणसभा, सेमिनार वा ‘डेस्टिनेसन वेडिङ’का लागि नेपाल एउटा उत्कृष्ट र सस्तो गन्तव्य बन्न सक्छ ।

नेपालको पर्यटन क्षेत्रमा अहिलेको मुख्य चुनौती भनेकै पर्यटकको बसाइ अवधि र खर्च बढाउनु हो । सन् २०१९–२०२४ को तथ्यांकअनुसार नेपालमा एक विदेशी पर्यटकले प्रतिदिन औसत ४५ देखि ५० अमेरिकी डलर मात्र खर्च गर्छन्, जुन भुटान वा थाइल्यान्डमा गरिने खर्चको तुलनामा निकै कम हो । पर्यटकको खर्च बढाउन उच्चस्तरका लक्जरी रिसोर्ट, थिम पार्क, केवलकार र रात्रिकालीन मनोरञ्जनमा स्वदेशी तथा विदेशी लगानी (एफडिआई)को ठुलो खाडल र सम्भावना छ ।

नेपालको पर्यटन क्षेत्र अब ब्याकप्याकर (कम खर्च गर्ने पर्यटक)को गन्तव्यबाट माथि उठेर भोल्युमभन्दा भ्यालु (संख्याभन्दा मूल्य) मा केन्द्रित हुने अवस्थाको संघारमा छ । प्रकृति र संस्कृतिले दिएको हाम्रा उपहारको सही बजारीकरण, दिगो पूर्वाधार र प्रविधिको प्रयोगमार्फत जोड्न सके नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।

पर्यटन क्षेत्रका समस्या, चुनौती र बाधा
नेपालको पर्यटन क्षेत्रले अथाह सम्भावना बोकेको भए पनि अपेक्षित प्रतिफल दिन नसक्नुका पछाडि कैयौँ संरचनागत समस्या छन् । जनमतले खोजेको पर्यटन क्षेत्रको सुधारका लागि यी बाधाको यथार्थपरक पहिचान हुनु जरुरी छ । नेपालको पर्यटन क्षेत्र अझै पनि पर्यटन ऐन, २०३५ (सन् १९७८) कै वरिपरि घुमिरहेको छ । नयाँ पर्यटन ऐन, २०८२ राष्ट्रिय सभाबाट स्वीकृत भएको तर सरोकारवालाको कुनै पनि सुझावलाई सम्बोधन नगरी प्रतिनिधिसभामा पठाएको अवस्थाले अन्योलता कायम गरेको छ । झन्डै पाँच दशक पुरानो हाल लागू ऐनले अहिलेको डिजिटल बुकिङ, अनलाइन पेमेन्ट गेट–वे, डिजिटल नोम्याड र साहसिक पर्यटनका नयाँ क्षेत्र (जस्तै ः जिपलाइन, स्काई डाइभिङ)लाई कानुनी रूपमा समेट्न र नियमन गर्न सकेको छैन ।

जग्गा प्राप्ति र वातावरणीय झन्झटले गर्दा ठुला पर्यटन पूर्वाधार (जस्तै : लक्जरी रिसोर्ट, केवलकार) निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी ऐनका प्रावधानहरू अत्यन्तै कठोर र अव्यावहारिक छन् । वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षण पास गर्न मात्रै वर्षौँ लाग्ने कानुनी प्रक्रियाले स्वदेशी र विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने गरेको छ । विदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफा आफ्नै देशमा फिर्ता लैजान अझै पनि राष्ट्र बैंक र उद्योग विभागका दर्जनौँ कानुनी र कर्मचारीतन्त्रात्मक प्रक्रिया पूरा गर्नुपर्छ ।

सुधारको बाटो
पर्यटन क्षेत्रको सुधारका लागि अब नयाँ गन्तव्यको खोजी मात्र पर्याप्त छैन । माथि उल्लिखित नीतिगत बोटलनेक, कानुनी झन्झट र पूर्वाधारका छिद्रहरूलाई टाल्न राज्यस्तरबाटै गम्भीर शल्यक्रिया नभएसम्म पर्यटन क्षेत्रले देशको अर्थतन्त्रलाई सही अर्थमा हाँक्न सक्दैन । पर्यटन उद्योगले चाहेको परिणाम र सत्तासीन दलको घोषणापत्रबिचको खाडल पुर्न अब परम्परागत आश्वासन होइन, एक्सन प्लान तत्काल लागू हुनुपर्छ ।

युरोपियन युनियनको सुरक्षासूचीबाट उन्मुक्ति पाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायका रूपमा तत्काल कानुनी रूपमै विभाजन गर्नुपर्छ । हवाई सेवामा भ्याट लगाउँदा नेपाल भ्रमणको लागत महँगो परिरहेको छ । तसर्थ अन्तर्राष्ट्रिय मान्यताअनुरूप हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा खारेज गर्नुपर्ने हुन्छ । साथै होटेल व्यवसायमा लागू गरिएको दुई प्रतिशत विलासिता कर पनि खारेज गरिनुपर्दछ ।

पर्यटन एउटा संवेदनशील क्षेत्र पनि हो । अहिले महामारी वा विपत्को समयमा व्यवसाय र श्रमिकको सुरक्षा गर्ने कुनै स्थायी उपाय छैन । राज्यका तर्फबाट पर्यटन राहत तथा अक्षय कोष स्थापना गरी कर्जा पुनर्तालिकीकरण र ब्याज सहुलियतसहितको संकटकालीन पुनरुत्थान प्याकेजको सही व्यवस्थापन गर्नुपर्ने देखिन्छ । नेपाललाई राम्रो गन्तव्य मात्र होइन सहज गन्तव्य पनि बनाउन आवश्यक छ । पर्यटकको आवागमन तथा फिर्तीको समयमा आवश्यक हुने प्रवेशाज्ञा, सूचना, सुरक्षा, बसाइजस्ता सेवा अत्यन्तै सहज बनाउनुपर्दछ । प्रमुख पर्यटकीय गन्तव्य (पोखरा, लुम्बिनी, चितवन) जोड्ने राष्ट्रिय राजमार्ग निर्माण कार्यलाई ‘वार रुम’ मोडलमा २४ सै घण्टा काम हुने गरी सम्पन्न गर्नुपर्छ ।

पर्यटन उद्योग नेपालको अर्थतन्त्रका लागि ‘गेमचेन्जर’ क्षेत्र हो । यसले हाल विदेशी मुद्रा आर्जनमा करिब तीनदेखि चा प्रतिशत मात्र योगदान दिए पनि रोजगारी सिर्जना र कृषि तथा स्थानीय उत्पादन खपतमा यसको ‘मल्टिप्लायर इफेक्ट’ धेरै ठुलो छ । तसर्थ, राजनीतिक नेतृत्वले जनमतको सम्मान गर्दै नीतिगत व्यवस्था गरे मात्र नेपालको पर्यटन क्षेत्रले साँच्चिकै काँचुली फेर्न सक्छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार