प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र प्रदेशका मुख्यमन्त्रीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो छलफल भएको छ।
संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफलमा मुख्यमन्त्रीहरूले आफ्ना समस्या सुनाएका थिए । छलफलमा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्नेबित्तिकै तत्कालै बिचमै सोधेर स्पष्ट पार्ने र समाधानका विकल्पमा बहस छेड्ने गरेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।
‘प्रधानमन्त्री शाहको यो ‘एक्सन–ओरिएन्टेड’ शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला हृदयले स्वागत गर्दै आफ्ना भोगाइ र अप्ठ्याराहरू विनासंकोच राख्नु त भयो नै, आफ्ना समस्या प्रधानमन्त्री शाहलाई सुनाउन उहाँहरूबिच प्रतिस्पर्धा नै भयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘दुवै पक्षबाट बिचबिचमा उत्पन्न जिज्ञासा र तत्कालको प्रतिउत्तरले गर्दा छलफल निकै अर्थपूर्ण र नतिजामुखी बनेको थियो।’ प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्यालाई नोट मात्र नगरी कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई तत्कालै समाधान गर्ने उपायसमेत सुझाएका थिए।
नीतिगत गाँठाहरू फुकाउन संघ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री शाहले भने, ‘संघ र प्रदेशबिचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ। त्यसैले तपाईंहरूलाई आफैँले छलफलका लागि राजधानी बोलाएको हो।’ प्रदेश आफैँले तत्काल गर्न सक्ने सुधारका कार्यहरू ढिला नगरी अघि बढाउन उनले आग्रह गरेका छन्। बजेट विनियोजन गर्दा कुनै पनि विभेद नगर्ने पनि उनले स्पष्ट पारेका छन्।