गण्डकी प्रदेशमा मुख्यमन्त्रीबाहेक अन्य सबै मन्त्रीहरू फेरिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार रहेको गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्।
सत्ताघटक दुई दलले यसअघि रहेका सबै मन्त्री हटाएर आठ नयाँ मन्त्री चयन गरेपछि मुख्यमन्त्रीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। कांग्रेसका तर्फबाट चार र एमालेका तर्फबाट चार गरी आठजना नवनियुक्त मन्त्रीले बुधबारै पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसबाट जित शेरचन आर्थिक मामिला, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद र नम्डु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। यसैगरी, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीमबहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री नियुक्त भएका छन्।
गण्डकीमा यसअघि कांग्रेसका तर्फबाट विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद, डा. टकराज गुरुङ आर्थिक मामिला र भेषबहादुर पौडेल वन तथा वातावरणमन्त्री थिए। एमालेका तर्फबाट पद्मा जिसी कृषि, भूमि व्यवस्था तथा सहकारी, कृष्ण पाठक स्वास्थ्य, प्रकाश केसी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र मित्रलाल बस्याल उद्योग तथा पर्यटनमन्त्री थिए। उनीहरू सबैलाई हटाएर सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले नयाँ मन्त्री पठाएका हुन्।
मन्त्री नपाएपछि प्रदेश सभा सदस्यबाटै राजीनामा
मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफू नपरेको भन्दै कांग्रेसका एक प्रदेश सभा सदस्यले असन्तुष्टि जनाउँदै प्रदेश सभा सदस्यबाटै राजीनामा दिएका छन्।
नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित द्रोण कुँवरले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। सभामुख कृष्णप्रसाद धितालले राजीनामा आएको जानकारी दिँदै हाल आफू काठमाडौंमा रहेकाले राजीनामाका विषयमा पोखरा आएर निर्णय गर्ने बताए।