कञ्चनपुर खेलकुद समितिको नेतृत्व ज्ञानेन्द्र सिंहको काँधमा

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर खेलकुद समितिको नेतृत्व खेलाडी ज्ञानेन्द्रबहादुर सिंहलाई दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले कञ्चनपुर खेलकुद समितिको अध्यक्षमा सिंहलाई जिम्मेवारी दिएको हो । 

२ वैशाख ०८२ मा प्रदेश खेलकुद परिषद्ले सिंहलाई जिल्ला खेलकुद समिति कञ्चनपुरको अध्यक्षमा नियुक्त गरेको हो । सिंहलाई प्रदेश खेलकुद नियमावली ०७७ को नियम ५(क) अनुसार चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको जनाएको छ । परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले हस्ताक्षर गरेको नियुक्ति पत्रमा शुक्लाफाँटा नगरपालिका– ७ कालापानीका स्थानीय सिंहलाई खेलकुद परिषद्को  अधीनमा रहेर कामकाज गर्न निर्देशन गरिएको छ ।

झन्डै डेढ दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका सिंह तेक्वान्दो खेलका खेलाडी तथा अगुवा हुन् । जिल्ला खेलकुद समिति कञ्चनपुरको जिम्मेवारी पाएका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जिम्मेवारी निर्भीकताका साथ पूरा गर्ने प्रतिज्ञा गरेका छन् । यसअघि सिंह खेलकुद समितिका उपाध्यक्ष थिए । दुईपटक तेक्वान्दो संघका अध्यक्षको जिम्मेवारी पूरा गरेका सि‌ंह नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश खेलकुद विभागका कमान्डरसमेत हुन् ।

प्रदेशमै खेलकुद क्षेत्रमा ख्याति कमाएका सिंहलाई जिल्ला खेलकुद समितिको नेतृत्व दिएपछि खेलकुद क्षेत्र उत्साहित भएका छन् । तेक्वान्दाेका खेलाडी हेमबहादुर बस्नेतले खेलकुदमा खेलाडी पृष्ठभूमिका अगुवा ज्ञानेन्द्र सिंहले जिम्मेवारी पाएपछि खेलकुद विकासमा टेवा पुग्ने बताए । सिंहलाई कञ्चनपुर खेलकुदको जिम्मेवारी दिएसँगै उनका सहकर्मीदेखि  शुभचिन्तक हर्षित भएका छन् ।                                                                                                                                               

सुझावित समाचार