गगन थापाद्वारा पूर्णबहादुर खड्कालाई कारबाहीको संकेत

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेसमा संस्थापन र इतरपक्षबिच विवाद चुलिएका वेला सभापति गगन थापाले १४औँ महाधिवेशन पक्षधर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको संकेत गरेका छन् । उनले अनधिकृत गतिविधिको सीमा नाघे नसहने चेतावनी दिएका छन् । ‘सभापतिको हैसियतले भन्दै छु– मलाई सहयोग गर्नुहोला । सहयोग गर्न नसक्नेले डिस्टर्ब नगर्नुहोला । पार्टी कार्यालयबाहिरबाट हुने अनधिकृत गतिविधिको सीमा नाघ्ने हो भने सहने कुरा हुँदैन,’ कांग्रेसको जरा अभियानअन्तर्गत काठमाडौं महानगरपालिका– ३० मा मंगलबार आयोजित कार्यक्रममा उनले भने । सदस्यतासम्बन्धी भ्रम र अफवाह नफैलाउन आग्रह गर्दै थापाले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटाइज गरिएको बताए । स्वयं फाराम भरेपछि प्रणालीमा इन्ट्री हुने र ओटिपीमार्फत प्रक्रिया पूरा हुने उनले स्पष्ट पारे । कुनै जिज्ञासा भए पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि उनले आग्रह गरे । 

थापाले प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न सक्ने पार्टी बनाउनुपर्ने भन्दै सहयोगको आग्रहसमेत गरेका छन् । ‘नयाँ निर्वाचनका लागि पार्टीलाई तयार गर्नुपर्नेछ । प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न सक्ने पार्टी बनाउनुपर्नेछ । यसमा मलाई सबैको सहयोग चाहिएको छ । कृपया सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले डिस्टर्ब नगर्दिनुहोला,’ थापाले भने, ‘सबैलाई मिलाएर लिएर जान्छु, सबैसँग संवाद गर्छु, तर सबैलाई मिलाएर जाने मेरो प्रयासलाई कसैले कमजोरी नठान्नका लागि आग्रह गर्छु ।’

कांग्रेस अनुशासन समिति बैठकको अघिल्लो दिन थापाको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको बैठकले खड्कालाई अनुशासनको कारबाही गर्ने तयारी रहेको एक नेताले बताए । ‘उहाँले पटक–पटक हुँदै नभएको कार्यवाहक सभापतिका नाममा विज्ञप्ति जारी गर्नुभयो । देशभरका कार्यकर्तालाई निराश पार्ने काम गर्नुभएको छ । नयाँ वर्षको शुभकामना पनि कार्यवाहक सभापतिकै हैसियतमा दिनुभयो । सचेत गराउँदा पनि नभएपछि कारबाहीको विकल्प हुन्छ त ?’ थापानिकट एक नेताले प्रतिप्रश्न गरे । अनुशासन समितिका सभापति तारामान गुरुङले भने प्राप्त उजुरीमाथि अध्ययन गरेर निर्णय गर्ने बताए । 

सुझावित समाचार