पछिल्लो केही समययता काठमाडौं उपत्यकामा चोरी र लुटपाटका घटनामा कमी आएको छ । प्रहरी चोर र लुटेराविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेपछि उपत्यकाभित्र हुने चोरी तथा लुटपाटका घटना स्वाट्टै घटेको छ । प्रहरी चोर र लुटेराविरुद्ध गोली प्रहारमै उत्रिएपछि शृंखलाबद्ध रूपमा हुने यस्ता घटना निकै कम भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विगतमा महिनामा प्रत्येक दिन सरदर चोरी तथा लुटपाटका दुईभन्दा धेरै घटना हुन्थे । अहिले सातामा एक–दुई घटना मात्रै हुने गरेको प्रहरीको दाबी छ । त्यसमा पनि शृंखलाबद्ध हुने चोरी तथा लुटपाटका घटना शून्यमै झरेको प्रहरीले जनाएको छ । यस्ता घटनामा संगठित गिरोहसमेत संलग्न हुने गर्दथ्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले उपत्यकाभित्र चोरी तथा लुटपाटका घटनामा निकै कमी आएको बताए । ‘उपत्यकाभित्र हुने चोरी तथा लुटपाटका घटना विगतमा भन्दा धेरै घटेका छन् । प्रत्येक दिन कहीँ न कहीँ चोरी तथा लुटपाटका घटना हुन्थे । तर, अहिले सातामा एक–दुईवटा मात्रै हुने गरेका छन् । त्यसमा पनि संगठित तवरले हुने चोरी तथा लुटपाटका घटना शून्यमै झरेका छन् । प्रहरीले अपनाएको कडा रणनीतिको कारण यस्तो भएको हो,’ उनले भने ।
काठमाडौंमा शृंखलाबद्ध चोरी तथा लुटपाटका घटना हुन थालेपछि प्रहरीले गत १४ माघमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ३ का २३ वर्षीय विनय तामाङको समूहलाई गोली प्रहार गरी पक्राउ गरेको थियो । सो समूहले २४ भदौयता मात्रै उपत्यकाभित्र २७ ठाउँमा लुटपाट गरेका थिए । जसमध्ये भक्तपुरको ठिमीमा १३, स्वयम्भू क्षेत्रमा सात, गौशाला क्षेत्रमा तीन, बौद्ध क्षेत्रमा तीन र चाबहिल क्षेत्रमा एक गरी २७ जनालाई लुटेका थिए । घटनाका मुख्य परिचालक विनय थिए । प्रहरीलाई उनलाई गोठाटार क्षेत्रमा गोली प्रहार गरी पक्राउ गरेको थियो ।
शृंखलाबद्ध चोरीमा संलग्न बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ३ का ४१ वर्षीय प्रेम थारूलाई पनि प्रहरले गत २२ माघको मध्यराति नागार्जुन नगरपालिका– ६ पुरीगाउँबाट गोली प्रहार गरी पक्राउ गरेको थियो । पक्राउपछि उनको साथबाट प्रहरीले ८८ तोला सुन, ९९ तोला चाँदी, दुई तोला हिरा, विभिन्न देशका मुद्रालगायतसहित तीन करोड ६ लाख १४ हजार दुई सय रुपैयाँबराबरको धनमाल बरामद गरेको थियो । चोरी तथा लुटपाटमा संलग्न छुट्टाछुट्टै दुई समूहलाई गोली हानी पक्राउ गरेपछि चोरी तथा लुटपाटका घटना निकै घटेको प्रहरीको भनाइ छ ।
‘शृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने समूहमाथि प्रहरीले गोली प्रहार गर्यो । छुट्टाछुट्टै दुई समूहलाई पक्राउ गर्यो । जसले चोरीलाई नै पनि पेसा बनाएका थिए । त्यसपछि यस्ता घटनामा कमी आएका छन् । खासमा आपराधिक समूहमा संलग्नविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले गोली प्रहार गरिएका थिए, त्यसमा सफल भयौँ । यो अभियान जारी रहनेछ,’ एसएसपी थापाले भने ।
प्रहरीका अनुसार चोरी तथा लुटपाटमा संलग्न काभ्रेली समूहका नाइके २३ वर्षीय विनय गत २४ भदौको जेन–जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जको हिरासतबाट भागेका थिए । त्यसलगत्तै उनले लुटपाट गर्ने योजना बनाएका थिए । समूहमा आबद्ध अन्य नौ युवा उनले नै भेला गरेका थिए । जसमा सिन्धुलीको मरिन गाउँपालिका– ५ का २४ वर्षीय आयन माझी, मोरङको पथरी शनिश्चरे नगरपालिका– ३ का २३ वर्षीय मनीष रसाइली, सिन्धुलीको मरिन गाउँपालिका– ७ का ३२ वर्षीय सविन माझी, काभ्रेको चौँरीदेउराली गाउँपालिका– १ का २९ वर्षीय पेमा तामाङ र २० वर्षीय सलोन तामाङ थिए । त्यस्तै, काभ्रेको भुम्लु गाउँपालिका– ३ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्बा गाउँपालिका– ८ का २२ वर्षीय विशाल तामाङ, खोटाङको दिपरुङचुइचुम्मा गाउँपालिका– ३ का २८ वर्षीय विदुर विश्वकर्मा, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ३ का २९ वर्षीय फुर्वा तामाङ पनि विनय तामाङ समूहमै संलग्न थिए । जसको पृष्ठभूमि आपराधिक देखिन्छ ।
प्रहरीका अनुसार उनीहरू प्रत्येक दिनको बेलुका ९ बजे सँगै भेला हुन्थे । लुटपाट गर्ने क्षेत्रको ब्रिफिङ विनयले सुनाउँथे । दिउँसो निजी कारमा गएर उक्त क्षेत्रको रेकी गर्थे । प्रहरी चौकी, सर्वसाधारणको मुभमेन्ट, भाग्ने ठाउँबारे यकिन गर्ने ठाउँ फिक्स भएपछि उनीहरू दुईवटा मोटरसाइकलमा तीन–तीनजना चढेर गई सर्वसाधारण लुट्थे । र, फरार हुन्थे । दिउँसो भने उनीहरू ट्याक्सी चलाउँथे ।
विनय यसअघि ०७९ र ०८२ मा डाँकाचोरी अभियोगमा पक्राउ परेका थिए । २४ वर्षीय आयनविरुद्ध २६ पुस ०७९ मा भक्तपुर जिल्ला प्रहरी परिसरमा डाँकाचोरी मुद्दा दर्ता भएको पाइएको छ । सविन यसअघि ०७९ र ०८० मा भएको डाँकाचोरी घटनामा संलग्न थिए । पेमा ०७८ र ०७९ मा भएको चोरी घटनामा संलग्न थिए । राजीव ०८२ मा मोटरसाइकल चोरी र डाँका मुद्दामा संलग्न थिए ।
जसले चोरी गरेरै दुईवटा घर बनाए
बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ३ का ४१ वर्षीय प्रेमले त चोरी गरेरै दुईवटा घर बनाएका थिए । उनी आफैँ गाडी चढेर हिँड्थे, तर उनी कुनै समूहमा थिएनन् । चोरीका लागि एक्लै योजना बनाउँथे । र, चोरी गर्थे । चोरीकै मुद्दामा जेल बसेका उनी गत भदौमा मात्रै ६० प्रतिशत कैद सजाय भुक्तान गरी प्यारोलमा छुटेका थिए । प्रहरीका अनुसार उनी २९ मंसिर ०७९ मा छुट्टाछुट्टै दुईवटा चोरीको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए । प्रहरी वृत्त बौद्धबाट पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले तीन वर्ष कैद सजाय ठहर गरेको थियो । ६० प्रतिशत कैद सजाय भुक्तान गरेपछि उनी गत २५ जेठबाट प्यारोलमा बसेका थिए ।