सरकारले ज्येष्ठताभन्दा कार्यक्षमताको आधामा सुरक्षा निकायमा बढुवा गर्ने भएको छ । गृहमन्त्री सुधन गुरुङले कार्यक्षमतालाई प्राथमिकता दिएर बढुवा प्रक्रिया अघि बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरीमा नायब महानिरीक्षक (डिआइजी)का सात पद रिक्त छन् । जसमा यही साता बढुवा गर्ने तयारी छ । विगतमा राजनीतिक पहुँच र चलखेलका आधारमा बढुवा भएकाले अब त्यसवेलाको ज्येष्ठताभन्दा कार्यक्षमता र इमानदारीका आधारमा बढुवा गर्न मन्त्री गुरुङले निर्देशन दिएको स्रोत बताउँछ । ‘पहिला ७०–७५ नम्बरमा रहेकाहरू बढुवामा राजनीतिक पहुँचकै आधारमा ४–५ नम्बरमा आएको देखियो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यसकारण यसपटक विगतको ज्येष्ठताभन्दा हरेक अधिकृतको पृष्ठभूमि हेरेर कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्छ भनेर गृहकार्य भइरहेको छ ।’ सोही गृहकार्यका कारण रिक्त पदमा बढुवा हुन ढिलाइ भइरहेको स्रोत बताउँछ ।
सशस्त्र प्रहरी बलमा काननुतर्फ एक र प्रशासनतर्फ ६ डिआइजी पदमा बढुवाको गृहकार्य अघि बढाइएको छ । विगतमा बढुवाका लागि सूचना प्रकाशन गरी फारम भरेर शैक्षिक प्रमाणपत्र बुझाउनुपर्ने प्रावधान थियो । हाल त्यसलाई संशोधन गरिएको छ । अब सिधै बढुवा समितिको बैठक बसेर बढुवाको तयारी भइरहेको छ ।