बागमतीले गुमायो जय ट्रफीको मौका

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण
  • चालू प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती आफ्नो अन्तिम खेलमा लुम्बिनीसँग ३४ रनले पराजित हुँदा शीर्ष ६ स्थानमा रहन असफल, बागमती आठ अंकका साथ आठौँ स्थानमा सीमित

सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशले नयाँ सिजनको जय ट्रफी क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गर्न सकेन । चालू प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती आफ्नो अन्तिम खेलमा पराजित हुँदा शीर्ष ६ स्थानमा रहन असफल भएको हो । जनकपुरको मैदानमा लुम्बिनी प्रदेशसँग ३४ रनले बागमती पराजित भयो । प्रधानमन्त्री कपका शीर्ष ६ टोलीबिच मात्र जय ट्रफी हुनेछ ।

क्यानले यसपटक ६ टोलीबिच जय ट्रफी हुने घोषणा गरेको थियो । अघिल्लो संस्करणमा चार टोलीले भाग लिएका थिए । बागमतीले नौ खेलमा चार जित र पाँच हारको सामना गरी आठ अंक जोडेको छ । बागमतीसँगै कर्णाली र कोशीका सम्भावना समाप्त भएका छन् । चालू प्रधानमन्त्री कपमा कोशीले एक खेल पनि जित्न सकेन । कर्णालीले नौ खेलमा एक जित र सात हार नतिजा निकाली तीन अंक बनाउँदा कोशीले एक अंक मात्र जोडेको छ ।

जय ट्रफीका लागि त्रिभुवन आर्मी, सुदूरपश्चिम र नेपाल एपिएफ क्लब छनोट भइसकेका छन् । प्रतियोगितामा एक मात्र अपराजित टोली आर्मी हो । अहिले नेपाल पुलिस, लुम्बिनी र गण्डकीपनि जय ट्रफीका लागि छनोट नजिक छन् । नेपाल पुलिस, लुम्बिनी र गण्डकीले समान नौ अंक बनाएका छन् । गण्डकीले पूरै नौ खेल सकाएको छ । लुम्बनी, मधेश, पुलिस र आर्मीका समान एक खेल बाँकी छन् । बागमतीमाथिको जितले लुम्बिनीले जय ट्रफी खेल्ने सम्भावना जीवितै राखेको हो । 

आर्मी र सुदूरपश्चिमबिच उपाधि भिडन्त
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ । यी दुई टोलीबिच शुक्रबार फाइनल खेल हुनेछ । आर्मीले सोमबार कोशीलाई हराएर शीर्ष स्थान पक्का गरेको हो । मधेश प्रदेश पराजित भएपछि सुदूरपश्चिम दोस्रो स्थानमा रहने भएको हो । आर्मीले एपिएफसँग समान एक अंक बाँडेको थियो । यो खेल वर्षाका कारण रद्द भयो । उपाधि भिडन्तका प्रतिद्वन्द्वी सुदूरपश्चिमलाई आर्मीले सात विकेटले हराएको थियो । आर्मीले खेल १७८ बलअघि नै जितेको थियो । सुदूरपश्चिमले तेस्रोदेखि छैटौँ खेलसम्म लगातार जित निकाली शीर्ष दुई स्थानको आशा बलियो बनाएको थियो ।

अन्तिम खेलमा सुदूरपश्चिमले पुलिसमाथि ५६ रनको जित निकालेको थियो । यसअघि आर्मी र नेपाल एपिएफसँग पराजित हुँदा सुदूरपश्चिमको शीर्ष दुई स्थान धरमराएको थियो । लिग चरणमा सुदूरपश्चिम अप्रत्याशित रूपमा मधेश प्रदेशसँग पाँच विकेटले पराजित भएको थियो ।

निर्मलको कसिलो बलिङ
जनकपुरको मैदानमा लुम्बिनीले पहिलो ब्याटिङ गर्‍यो । तर, लुम्बिनीको ब्याटिङ राम्रो भएन । विवेक मगर, सन्दीप र रिजन ढकालले कसिलो बलिङ गर्दा लुम्बिनी ४५.२ ओभरमा २३३ रनको मध्य योगफलमा समेटियो । सहज लक्ष्य पछ्याएको बागमती ४४ ओभरमा १९९ रनमा समेटिँदा जय ट्रफी खेल्ने सपना तुहियो । बागमतीलाई धराशायी बनाउने क्रममा लुम्बिनीका फास्ट बलर निर्मल गुरुङले कसिलो बलिङ गरेका थिए । उनले १० ओभरमा चार मेडन राखी २७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । यसैगरी, विप्रासन केसीले आठ ओभरमा दुई मेडन राख्दै १७ रन खर्चँदै दुई विकेट लिए । दिनेश बोहोराले तीन ओभरमा आठ रन दिएर दुई विकेट लिएका थिए । सो इनिङ्समा लुम्बिनीका बलरले समग्रमा आठ मेडन ओभर गरेका थिए ।

चलेन बागमतीको ब्याटिङ 
बागमतीले इनिङ्सको कुनै पनि समयमा गतिलो ब्याटिङ प्रदर्शन गर्न सकेन । बागमतीले ११.६ ओभरमा पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ६८ रन जोडेको थियो । ओपनर आशुतोष घिरैयाले १७ बलमा १५ रन जोडे । शुभ कंशाकारले १० बलमा १२ रन बनाए । मध्यक्रमका रिन्जिन लामाले २१ बलमा १६ रन, इशान पाण्डेले १२ बलमा १७ रन तथा विवेक मगरले सर्वाधिक ४९ रनको योगदान दिए । उनले चार छक्का र तीन चौका प्रहार गरेका थिए । 

पुछारका उत्तम मगर र कप्तान सन्दीपले जितको आशा दिलाए । तर, अन्य ब्याट्सम्यानले गतिलो साथ दिन नसक्दा बागमती खेल सकिनु २४ बलअघि नै अलआउट भयो । सन्दीपले ३६ बलमा दुई चौका र एक छक्का प्र्रहार गरी ३२ रन बनाए । उत्तमले ६१ बल खेलेर २३ रन बनाए । 

मध्यक्रमले सम्हालेको लुम्बिनी
लुम्बिनीको सुरुवात गतिलो भएन । तर, उसका मध्यक्रमका ब्याट्सम्यानले गतिलो साझेदारी गर्दै लुम्बिनीलाई मध्यम योगफलसम्म पुर्‍याए । प्रज्वल थापा र कप्तान देव खनालले दोस्रो विकेटका लागि ६५ रनको साझदोरी गरे । देवले ५६ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए । आकाश त्रिपाठी र प्रज्वलबिच तेस्रो विकेटका लागि ५४ रनको साझेदारी भएको थियो । दुवैले टोलीलाई २५.५ ओभरमा १२३–३ को स्थितिमा राखे । प्रज्वलले ६२ बलमा सात चौकाको सहयोगमा ४६ रन जोडे । सो इनिङ्समा आकाशले ७२ बलमा नौ चौका र एक छक्का प्रहार गरी सर्वाधिक ७२ रन जोडे । त्यसपछि सन्तोष यादवले २७ बलमा २५ रन बटुले ।

कर्णालीबाट नखेल्ने बलर अनुजको घोषणा
अनुज चनाराले अवसर नदिएको भन्दै कर्णाली प्रदेशबाट नखेल्ने घोषणा गरेका छन् । चालू प्रधानमन्त्री कपअन्तर्गत अन्तिम खेलमा गण्डकीसँगको खेलमा पनि अवसर नपाएपछि अनुजले आगामी दिनमा कर्णालीबाट नखेल्ने सामाजिक सञ्जालबाटै घोषणा गरेका हुन् । प्रतिस्पर्धामा गण्डकीले कर्णालीमाथि नौ विकेटको जित निकालेको थियो । ‘मैले लगातार दुई खेलमा २–३ ओभर मात्र अवसर पाएँ । यद्यपि, ती खेलमा विकेट लिन सकिनँ । त्यसपछि लगातार तीन खेलमा टोली बाहिर बसे,’ उनले लेखेका छन्, ‘पुलिस क्लबविरुद्ध फेरि मौका पाउँदा ६ ओभरमा ३५ रन दिएर दुई विकेट लिएको थिएँ, तर त्यसपछि फेरि गण्डकीसँग को खेलमा बाहिर राखियो ।’ गण्डकीविरुद्धको प्रतिस्पर्धामा आफूलाई अवसर दिन आग्रह गरेको उनले बताए । ‘मैले कप्तानसँग सोध्दा माथिबाट जे आदेश आउँछ, त्यहीँ गर्छु भन्ने जवाफ पाएँ । सबै परिस्थितिलाई मध्यनजर गर्दै, म आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णयमा पुगेको छु,’ उनले भने । 

सुझावित समाचार