विराट गोल्डकप : बिर्सामुन्डालाई पन्छाउँदै सम्राट सेमिफाइनलमा

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

घरेलु टोली सम्राट स्पोर्टिङ क्लब ३८औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा भारतको झारखन्डस्थित बिर्सामुन्डा स्पोर्टस् एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो । एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै सम्राटले बाजी मारेको हो । अब फाइनल प्रवेशका लागि ३ वैशाखमा सम्राटले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको सुरुदेखि आक्रामक रणनीति अपनाएको बिर्सामुन्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । खेलको ४४औँ मिनेटमा शंकर किस्कुले बिर्सामुन्डालाई १–० को अग्रता दिलाए । पहिलो हाफमा पछि परेको घरेलु टोली दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो । खेलको ५०औँ मिनेटमा सम्राटले बराबरी गोल फर्कायो । मौसम लिम्बूले डिबक्सभित्रबाट सटिक गोल गर्दा सम्राट १–१ को बराबरीमा आएको हो । मौसमले सौरभ तामाङको उत्कृष्ट क्रसपासमा गोल गरेका हुन् । खेलको ८६औँ मिनेटमा प्रताप तामाङले सम्राटलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गरिएको इन्जुरी समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली ३–१ ले विजयी भयो । 

पाहुना टोलीमाथि सम्राटको दबाब
तुलनात्मक रूपमा घरेलु टोली सम्राटले पाहुना टोली बिर्सामुन्डाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पहिलो हाफमा सानो गल्तीका कारण सम्राट गोलले पछाडि परेको थियो । योबाहेक अन्य समयमा सम्राटले विपक्षीमाथि दबाब राखेको थियो । सम्राटले करिब आधा दर्जनभन्दा बढी सुन्दर अवसर चुकाएको थियो । खेलको ५०औँ मिनेटमा सौरभको कडा प्रहार क्रसबारमाथि गएको थियो । खेलको ६७औँ मिनेटमा कप्तान अशोक खवासले डिबक्सभित्रबाट गरेको कडा प्रहारले सही दिशा लिन सकेन । खेलको ७० औँ मिनेटमा कोमल खवासको प्रहारलाई भारतीय गोलरक्षक मनोज मन्डाईले उत्कृष्ट बचाउ गरेका थिए । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । दुईपटकका विजेता नेपाल पुलिस क्लबले झापा ११ को सामना गर्ने आयोजक जनाएको छ । 

क्वार्टरफाइनलमै सीमित मच्छिन्द्र
उपाधि दाबेदार मच्छिन्द्र फुटबल क्लब क्वार्टरफाइनलमै सीमित भएको छ । नेपाल पुलिसले मच्छिन्द्रलाई तेस्रो क्वार्टरफाइनलमा सडन डेथमा हरायो । जितसँगै पुलिसले अन्तिम चारको स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । त्यसपछि खेलको छिनोफानो सडनडेथबाट भयो । टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको हो । 

सुझावित समाचार