सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पूर्ण रूपमा पारदर्शी भई सम्पत्ति विवरण सार्वजनिक गरेको र सबै सम्पत्ति इमानदार मिहिनेतको कमाइ भएको उल्लेख गरेका छन्। आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनको परिवारको करिब २४ करोड रुपैयाँबराबरको सम्पत्ति देखिएको छ।
सो विषयमा प्रश्न उठेपछि सामाजिक सञ्जालमार्फत उनले यो विषयमा प्रस्टीकरण दिएका हुन्। उनले भनेका छन्, ‘प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ। किनभने मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मिहिनेतको कमाइ हुन्।’