नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेबाट नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि बागलुङको बडिगाड गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डरअनुसार अगावै कार्यक्रम सुरु गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सोमबार एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाले वैशाख २ गतेदेखि नै नयाँ भर्ना अभियान सञ्चालन गर्ने र सोही मितिबाट नियमित पठन–पाठन सुरु गर्ने निर्णय गरेको जनाएकी छिन्। उनले स्थानीय तहलाई संविधानले प्रदान गरेको शिक्षा व्यवस्थापनसम्बन्धी अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको बताइन्। अधिकारीका अनुसार वैशाख ६ गतेबाट नियमित कक्षा सञ्चालन हुनेछन्।
गाउँपालिकाले आफ्नो मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्धारित मितिदेखि नै भर्ना अभियान सञ्चालन गरी नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, विद्यार्थी भर्ना दर वृद्धि र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन पनि विद्यालयहरूलाई आग्रह गरिएको छ।
स्थानीयस्तरमै शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न र शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताइन्। 'शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रानुसार २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गर्ने र २०८३ वैशाख २१ गतेबाट पठन–पाठन सुरु गर्ने निर्णय भएको सन्दर्भमा नेपालको संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएबमोजिम स्थानीय तहको अवस्थालाई मध्यनजर गरी गाउँपालिकाको शैक्षिक क्यालेन्डरबमोजिम यस गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले २०८३ वैशाख २ गतेदेखि भर्ना अभियान तथा नियमित पठन–पाठन सञ्चालन गर्न/गराउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ, गाउँपालिकाबाट प्रकाशन गरिएको सूचनामा भनिएको छ।
गाउँपालिकाले आफ्नो स्थानीय तहको अधिकार र शैक्षिक क्यालेन्डरअनुसार कक्षा सञ्चालन गर्न लागिएको जनाएको छ।